
… भने जतै आनन्द
आनन्दको खोज
विष्णु पादुका, कोहलपुर ४, बाँके
कभरमोडल: क्षितिजा श्रेष्ठ
अराजकताको जंगलमा रहेर पनि आनन्दको खोजी हुनु अप्रासंगिक मानिन सक्छ । केही छैन, यस्तो लाग्छ, अराजक हुन पाउनु पनि एउटा आनन्द हो । म आनन्दको पार्सल गरेर कसैलाई भेटी चढाउन त सक्दिनँ । एउटा वृत्त जहाँ आनन्द नभेटियोस्, यो असम्भव छ । मरुभूमिको बालुवामा पनि आनन्द लिन सकिन्छ । हिमालको चुचुरोमा आनन्द लिन सकिन्छ । धुँवा धुलोको प्रदुषणमा आनन्द लिन सकिन्छ । मसानघाट, एकान्त जंगल, बन्द कोठा, जेल, बिपदा, बाढी पहिरो यत्रतत्र भेटिन्छ आनन्द । रुवाबासी भएर मृत्यु उत्सव मनाइएको घरमा पनि आनन्द खोज्न सकिन्छ । यसरी भनिरहँदा सुन्ने या पढ्नेहरुलाई लाग्न सक्छ यो खुस्किसक्यो । बौलाहिसक्यो । तर त्यसो होइन । हो के त ?
आउनुहोस् आनन्दका आयामबारे एकछिन आन्दोलित होउँ ।
विचार गरौं । आनन्द के हो ? यो कुनै दर्शन होइन । अलौकिक पनि होइन । जति हामी सोच्छौ नि त्यति गहन पनि होइन । हामी जहाँ र जस्तो वातावरणमा हुन्छौं, त्यहीँ घुलिन्छौं । त्यहिको बाढीमा बग्छौं । मानौ त्यही नै अन्तिम सागर हो जहाँ हामी हेलिन्छौं । कुनै चलचित्र हेरेर कोहि रोए जस्तो । कसैको कलाकारिताको उच्च सम्मान हो त्यो आँसु अरु केही हो र ? तटस्थ भएर सोचौं त । हो यहि तटस्थतालाई आत्मसात गर्यौ भने हामी जतै आनन्द देख्छौं । जब म सबै रोएर मृत्यु उत्सब चलेको घरमा पुग्छु । बितेर जाने मृतकको आत्माप्रति अलिकति सहानुभुति लाग्छ कि उसका केही रहर पूरा हुन सकेनन् । अपेक्षा धेरै थिए केही अधुरा रहे । सबै रोएको देखेर म आफू बग्न सक्दिन ँ। बरु सकिन्छ भने उसका अन्तर चाहना के थिए त्यो बुझेर ती पूरा गरिदिउँ सम्भव भएदेखि । ऊ अघि हिँड्यो, हामी पछि लाग्नु नै छ त लाइनमा उभिएर किन रुनु ? देखावटी सहानुभूति र श्रद्धाञ्जली त बाँचेका बाँकी रहेका महानुभावको मन बहलाउनसम्म होइन र । एउटा लाइन हो कहिल्यै नटुङ्गिने हामी पालो कुर्दैछौँ । ऊ गयो बिस्तारै हाम्रो पालो आउँछ, खुशी होउँ । आनन्द लिउँ । मृत्यु उत्सव मनाउँ । यो क्रम चलिरहेको छैन र ?
मैले कति पटक भोकसँग आनन्द लिएको छु । ऊसँग खुशी खुशी पौठेजोरी नखेल्दो हुँ त म खानाको प्राप्तिस्थलसम्म कसरी पुग्दो हुँ ? स्थान विशेष समय विशेष आनन्दका प्रकार भिन्न हुँदा हुन् । तर आनन्दको अनुभुति एउटै होइन र ?
मरुभूमिमा एक्लै तातो बालुवामा खाली खुट्टा मध्यान्हको चर्को घाम । यो म भन्दिन कि कल्पना गर्नुहोस् । आनन्द कल्पना होइन । आनन्द कला हो । जीवन जीउने कला । पुग्न सकिन्छ यसरी नै यस्तै अवस्थामा । त्यहाँ पनि हामी आनन्दित हुन सक्छौं । हाम्रो उपस्तिथि जहाँ छ , किन छ ? कसरी छ ? त्यो प्रमुख कुरा हो ।
आजको समाज अभावमा भन्दा प्रयाप्ततामा बेखुसी छ । नभएको कुराको अपेक्षा राख्छ । भएको कुरालाई चटक्क भुल्छ । अनि आनन्दको खोजीमा मन्दिर मस्जिद गुम्बा तान्त्रिक र मातासम्म पुग्छ । भोलि के हुन्छ उसलाई आजै जान्ने रहर हुन्छ । अनि झन् आनन्दको सट्टा आसा अपेक्षा आदिको तनाव बोकेर फर्कन्छ । एउटा जीवन जुन अवस्थामा छ त्यसैमा आनन्द लिनु ठूलो आनन्द हो । अस्पतालको शैयामा दुखाईसँग रहँदा पनि कम्तिमा म बाँचेको छु भनेर आनन्द लिनु भयो रे भरत आचार्य दाजुले । कति आनन्द लिनु भएछ दुखाइसँग । सलाम गर्छु उहाँलाई ।
हामी एक्लो हुँदा पिरिन्छौँ । एक्लै हो जीवन, मेरो भनिएको शरिरलाई म बसमा राख्न सक्दिन भन्ने सत्य बिर्सेर हामी एक्लोपनमा दुखित हुन्छौं । एक्लोपनको स्वतन्त्रता मनोमानी मनोराज्य संचालन भएका यावत कुरा बिर्सन्छौँ । एकमा युगल होस् त कति कुराको तिलान्जली दिनुपर्छ । अझ तीन चार होस् त कति कुराको तनाव होला । अनि किन हामी एक्लोपनमा आनन्दित नहुने । छैन त एक्लो हुनुमा आनन्द ?
हामी घर परिवार छरछिमेक सबैबाट आफु पिडित भएको देख्छौं , साथ सहयोग सबै भुलेर । एक्लो हुँदाका पीडा र आफ्नो वृत्तबाट आफुलाई लागेको पीडा तुलना गरौं । तटस्थ भएर हेरौं, आफुलाई भित्रदेखि हेरौं आफ्नो स्थान अनि आफै मुस्कुराउनु हुनेछ आनन्दित भएर । आनन्द हामीसँग नै छ । यो बस्तु त होइन ।
मान्छे जत्तिनै प्रगतिशील देखियोस् । आर्थिक उन्नतिको चरम चुलीमा पुगोस् । अन्तिम लक्ष्य आनन्द हुन्छ । हो मान्छे यहिनेर चुकेको हुन्छ । उसले लक्ष्य त राख्यो । गन्तव्य त तोक्यो । सपना त देख्यो । कति सपनाहरू ब्युँझनु पुर्वनै मेटिइ सकेका हुन्छन् । लक्ष्य र गन्तव्य त देख्यो तर आफै आएको बाटो साँघुरिएर मिटर र सेन्टिमिटरको वृत्तमा आएर साघुँरियो । एक पाइला चाल्दा नै हामी खुशी साथ चालौ र यात्रामा आउने उकाली ओरालीमा पर्याप्त आनन्द लिँदै हिडौँ । जीवन गोरेटो अवश्य सहज हुन्छ ।
आनन्दको यो विज्ञान हामीले सिक्न पाएनौं । जानेनौ । केही छैन । आउँदा पिढिलाई त कम्तीमा हामी दिशानिर्देश गर्न सक्छौ । स्मार्ट रिडिङ्गको अवधारणा उसै आएको होइन । आफुमा भएको रुचि र क्षमतालाई पहिचान गर्दै आवश्यक वातावरण सिर्जना गरी आनन्दसँग सिक्ने अवस्था सिर्जना गर्न कुनै ठूलो लगानी गर्नै पर्दैन ।
हिजोको कुण्ठा र आजको चिन्ताले भोलि समेत बर्बाद पार्दै छौँ हामी । भोलि कसैले देखेको छैन । हरेकले आफ्नो युग र याम बाँच्ने हो भन्ने सत्यानन्दको चेत बेलैमा घैटामा पस्यो भने कुनै विद्यार्थीले कम नम्बर आएकोमा मेटासिट खाने छैन । यसै प्रकारले उमेर अनुसार अनुशासन र यौनका बारेमा सुसुचित गराइदिन सके न त उत्ताउलो उमेरमा प्रेम विवाहको जोस आउँछ न त त्यसपछि हुने पश्चाताप नै । न त समाजमा हत्या हिंसा नै हुनेछन् ।
आजका मानिस माया प्रेमकै कारण दुखी छन् । जति अन्य, गरिबी बेरोजगारी जस्ता कारणले छैनन् । हरेक कुरालाई मानसिक छापले निर्देशन गर्छ । बोक्सी छैनन् भन्ने जस्तो सरल कुरा बुझाउन कत्ति कठिन भएको छ अझै । लेखपढ गरेका दिदिबहिनी र दाजुभाइ पनि अझै धामीझाँक्रीको शरणमा गएको देखिन्छ । यस्तो लाग्छ कि पढ्नु मात्रै पनि जीवनको सफलता होइन रहेछ । सम्पन्नता मात्रै पनि जीवनको हुनुपर्ने प्राप्ती रहेनछ । आफुलाई ढाल्नु र युग सापेक्ष अपडेट हुनु मात्रै पनि ठूलो कुरा होइन रहेछ । सब कुराको अन्तिम लक्ष्य आनन्द होइन र । जीवनभरिको सुखानुभुती भन्नू आनन्दबाहेक अरु के होला ?
कुनै सजायको भागी हुँदा समेत आफुले जाने नजानेर गरिएको गल्तिको प्रायश्चितको रूपमा लिन सके त्यहाँ पनि आनन्द लिन सकिन्छ । त्यसैले आनन्दको लागि आनन्दित होउँ, जहाँ जस्तो स्थान या परिस्थितिमा छौँ । यसले हाम्रो जीवनमा अझै अघि बढ्न थप उर्जा र हौसला मिल्नेछ, त्यो पनि आफै भित्रबाट ।
….
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

