आएका सबै खास हुँदैनन्, गएका सबै बकबास हुँदैनन्

सुप्रिया खनाल

यो मान्छेको मन नै यस्तै रहेछ जति पाइन्छ त्यो भन्दा बढी पाउने चाहने । चाहे कुनै सामान, चाहे केही नयाँ कुरा होस् या कसैको माया । कसैले आफूलाई माया गर्छ भने अझ यो भन्दा बढी गर्दियोस् न भन्ने हुन्छ ।

जीवनमा कति मान्छे आउँछन्, कति मान्छे जान्छन् । आएका सबै खास हुँदैनन अनि गएका सबै बकबास हुँदैनन् । यहाँ कसैसँग त यस्तो साइनो गाँसिन्छ नि, रगतको नाता पनि यसको अगाडि फिक्का पर्ने गर्दछ । दोबाटोमा भेटिएकाहरुले समेत यस्तो भान गराउँछन् कि लाग्छ जन्मेदेखि नै सँगै छौं । यहाँ हरेकसँग आफ्ना मनका कुरा कहाँ खुलस्त भन्न सकिन्छ र ? तर, जोसँग खुलेर कुरा गरिएको हुन्छ, उनीहरु नै टाढा हुँदा चाहिँ एकदम नै गाह्रो हुने रहेछ ।

कोही कोहीले यति महत्त्व राख्छन् नि, न नचाहेर नै मन मनसँग नजिक भइसकेको हुन्छ । बोल्दै नबोली यी आँखाहरूले मनका भाव बुझ्न थालिसकेका हुन्छन् । कसैको पीडा आफ्नो लाग्न थालिसकेका हुन्छन् अनि कसैको खुसीले मुहारमा छुट्टै चमक छाउन थालिसकेको हुन्छ । कोही यस्ता मान्छे पनि हुन्छन् जिन्दगीमा एकै पलको दूरीले पनि एकदम फरक पार्ने गर्दछ ।

खोइ किन हुन्छ यस्तो ? कसैको बोली सुन्न नपाउँदा पानी नपाएर तड्पिएको माछा झैं हुन्छ मन । कसैको लागि यति धेरै सोचिन्छ नि, दिमागले साथ दिन छोड्ला झैं लाग्छ । आँशुले समेत ठाउँ पाउँदैन आँखामा । सोध्ने गर्छन्, ‘मेरो किन यति महत्व छ तिम्रो जीवनमा ?’ प्रतिउत्तरमा दिने जवाफ हुन्न् । बस् मनलाई थाहा छ, मुखले भन्न सक्दैन ।

‘म त हिजो भेटेको मान्छे किन पिर गर्छौं ? म टाढा हुन्छु भनेर आज म आए जसरी भोलि कोही तिम्रो जीवनमा आइनै हाल्छन् नि’, यस्तै कुराहरु नि सुन्न पाइन्छ । तर, भन्नेहरुलाई के थाहा, कसैको बनिसकेको ठाउँ अरूले लिन सक्दैन भन्ने । कहिलेकाहीँ यस्तो मान्छे नि भेटिन्छन्, जसलाई भेटेको केही समयमा नै महसुस हुन्छ, कति खास छन् ती मान्छेहरु हाम्रो जीवनमा, चाहे त्यो साथीको रुपमा होस्, प्रेमीप्रेमिकाको रुपमा होस्, दिदिबहिनी वा दाजुभाइको रुपमा ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button