
भर्जिनिया उल्फको महिलासँग पनि रोमान्टिक सम्बन्ध थियो
‘अ रुम अफ वन्स औन’ भर्जिनिया उल्फको प्रसिद्ध कृति हो । यस कृतिमा महिलाको दृष्टिकोणबाट लेख्ने क्रमको शुरुवात गरिएको छ । भर्जिनिया उल्फले उल्लेखित कृतिमार्फत हरेक क्षेत्रमा हुने पुरुष प्रभुत्व र महिलाको बारेमा पनि पुरुष दृष्टिकोण हावी भएको मनन गरेर यदि एक महिला कथा लेख्न चाहन्छिन्, साहित्य सिर्जना गर्न चाहन्छिन् भने उनीसँग आफ्नो रकम, छुट्टै आफ्नो घर(कोठा) हुनुपर्छ भन्ने चेतना जगाउने काम गरिन् । आर्थिक रुपले सक्षम मात्र नभई मानसिक रुपले पनि स्वतन्त्र हुनुपर्छ र स्वतन्त्र विचार प्रस्तुत गर्न पाउनुपर्छ भन्ने उनको धारणा थियो ।
भर्जिनिया उल्फ बिसौं शताब्दीकी प्रसिद्ध सिर्जनात्मक लेखकहरुमा पर्न सफल छिन् । उनका मिसेज डयालवे, लाईट हाउस, अर्नाल्डा जस्ता कृतिहरु उनका आफ्ना सोच तथा जीवन भोगाई झल्काउने छन् भनेर भन्छन्, कृति अध्ययन गर्नेहरुले । भर्जिनियाका मुख्य लेखन विधा भनेका निबन्ध, दैनिकी, चिठ्ठी, जीवनी आदि हुन् । उनका लेखनमा कलात्मकता, इतिहास र महिला विषय पर्दथे । भर्जिनियाले आफ्नै प्रकाशन संस्थामार्फत आफ्ना विचारहरु साहित्यिक लेखनमार्फत बाँड्ने गर्दथिन् । भर्जिनियालाई शेक्सपियरको स्तरमा कविता लेख्न सक्षम महिला कवि भनेर पनि चिनिन्छ ।
भर्जिनिया आफैले पनि उनका कथामा सेक्सपियरको बहिनी (काल्पनिक पात्र) सिर्जना गरेर उनी पनि सेक्सपियर जतिकै क्षमतावान थिइन् तर उनको कामको मूल्य नभएकोले उनले आत्महत्या गरिन् तर अबका महिलाहरुले यसरी आत्महत्या गर्नुपर्दैन आफ्ना सिर्जना निर्धक्क संसारसामु राख्न पाउनेछन् भन्ने सन्देश दिएकी थिइन् । आफ्नो लिगेसी आफ्ना छोरीहरु तथा महिलालाई दिनु भन्ने भर्जिनियाको उक्ति हुन्थ्यो । ‘स्ट्रिम अफ कन्सियसनेस’ भर्जिनियाका लेखन धार थियो । उनका कृतिमा चरित्रको मनोदशालाई झल्काइएको हुन्थ्यो ।
बाल्यकाल
आदर्श र सम्पन्न भिक्टोरियन परिवारमा एडलिन भर्जिनिया उल्फको जन्म सन् १८८२ मा लण्डनको केन्जिङ्गटनमा भएको थियो । भर्जिनियाका बाबु एक साहित्यिक व्यक्तित्व थिए र उनी डिक्सनरी अफ नेशनल बायोग्राफीका पहिलो सम्पादक थिए । भर्जिनियाका बाबुको नाम लेस्ली स्टेफन थियो । ब्लेन्डेड परिवारसहित (भर्जिनियाका आमाबाबुको दुबैजनाको यो दोश्रो विवाह थियो) भर्जिनिया उनको आमाबाबुकी आठौं मध्ये सातौं सन्तान थिईन् । भर्जिनियाले नौ वर्षको उमेरदेखि नै आफ्नो पारिवारिक पत्रिकामा लेख्न थालेकी थिईन् । भर्जिनियालाई बाल्यकालमा आफ्नी आमाको रोजाईमा उनका भाई एड्रियन परेको मन पर्दैनथ्यो । भर्जिनिया १३ बर्षको हुँदा सन् १८९५ मा उनको आमाको मृत्यु भयो । आमाको मृत्युपछि भर्जिनिया शोकले आहत भईन् । सन् १८९७ देखि १९०१ सम्म भर्जिनियाले किङ्गजस्टन कलेजमा अध्ययन गरिन् । भर्जिनिया प्राकृतिक स्वभावले निकै गम्भिर थिइन र उनको जीवनमा आइपरेका विभिन्न उतारचढावले कालान्तरमा उनलाई मानसिक समस्या आईपरेको चर्चा पनि गरिन्छ ।
भर्जिनिया र उनकी दिदीलाई विद्यालय पठाइएको थिएन् तर उनीहरुले आफ्नो बाबुको प्रोत्साहनले घरमै अध्ययन गरेका थिए । १५ वर्षको उमेरमा भर्जिनियाले केही समय लण्डनको किङ्गस कलेजमा पढ्दाताका नै भर्जिनिया महिला अधिकार आन्दोलनको सम्पर्कमा पनि आईन् । भर्जिनियाले आफ्ना बाबुको प्रोत्साहनले सन् १९०० देखि नै पेशागत रुपमै लेख्न शुरु गरेकी थिईन् । सन् १९०४ मा उनको बाबुको पनि मृत्यु भएपछि पुःन भर्जिनिया विक्षिप्त जस्तै भईन् । उनका आमाबाबुको मृत्युपछि स्टेफन परिवार केन्जिङ्गटनबाट ब्लुम्सबेरीमा बसाई सरे । त्यहाँ भर्जिनियाको उनका दाजुभाईका बौद्धिक साथीहरुसँग सम्पर्क भयो । र, आधुनिक कलात्मक र साहित्यिक समूह स्थापना गरेर विचार प्रवाह गर्न थाले, जुन समूहको नाम ‘ब्लुम्सवरी समूह’ थियो ।
सन् १९१२ मा भर्जिनियाले लियोनार्ड उल्फसँग विवाह गरिन् । सन् १९१७ मा उनीहरुले ‘होगार’ प्रकाशन गृहको स्थापना गरे । यो प्रकाशन गृहबाट चेखव दोस्तोभस्की, ईलियट जस्ता लेखकका जीवनी पनि प्रकाशन भएको थियो । भर्जिनिया र उनका श्रीमानले ससेक्स भन्ने स्थानमा घर लिएर स्थायी रुपमै त्यही बसाई सरे । सन् १९४० ताका भर्जिनिया उल्फको महिलाहरुसँग पनि रोमान्टिक सम्बन्ध थियो । भिटा स्याकवेल वेस्ट भन्ने महिला लेखकसँग उनको सम्बन्ध चर्चामा थियो र उनी पनि होगार प्रकाशनबाट नै आफ्ना पुस्तकहरु प्रकाशन गर्थिन् । उनीहरुको सम्बन्ध भर्जिनियाको मृत्युपूर्वसम्म कायम थियो । त्यतिबेलैदेखि लेस्वियन सम्बन्धको चर्चा पनि चल्न थालेको थियो । उनको मिसेज डयालोवी, अरलेण्डोजस्ता पुस्तक यिनै कुराका सबुत थिए भन्ने चर्चा पनि थियो ।
भर्जिनिया उल्फ उनको जीवन अवधिमा धेरै पटक मानसिक आघातबाट पीडित भईन् । उनले धेरै पटक महिला मानसिक स्वास्थ्य केन्द्र, बर्लीपार्कमा बसेर उपचार गराईन् भने कम्तिमा दुईपटक आत्महत्याको प्रयास पनि गरिन् । उनको मानसिक अवस्थाको प्रभावकारी पहिचान उनको जीवनकालमा हुन सकेन् । सन् १९४१ मा ५९ वर्षको उमेरमा नदीमा उनले डुबेर मृत्युवरण गरिन् । भर्जिनिया उल्फले १० वर्षको समय अवधीमा आफ्नो परिवारका चार जना सदस्य गुमाईन् । यो आघातले पनि उनलाई मानसिक रुपमा कमजोर बनाएको पाईन्छ । आलोचकहरुले भर्जिनियालाई आत्महत्या गरेकोमा कमजोर मनस्थिति भएकी पनि भन्ने गरेको पाईन्छ । तर, मनोवैज्ञानिक रुपले हेर्दा भने स्वभावतः गम्भिर प्रकृतिको, बाल्यकालकादेखि नै परिवारमा घटेका घटना, आफ्ना प्रिय आमा बाबु, भाई गुमाउनुको पीडाले पनि उनको मस्तिष्कमा गहिरो आघात परेको हुन सक्छ भनेर अर्काथरीले भन्ने गर्दछन् ।
उल्फका केही चर्चित पुस्तक
- टु द लाईट हाउस
- मिसेज डयालवे
- अ रुम अफ वन्स औन
- द वेभ्स
- अर्नाल्डो अ बायोग्राफी
- ज्याकोब्स रुम
- मार्क अन द वाल
उल्फका केही यादगार भनाई
- तिमीले आफ्नो जीवनलाई तिरस्कार गरेर शान्ति पाउन सक्दैनौ ।
- यदि कसैले राम्ररी खान पाएका छैनन भने उनीहरुले राम्ररी सोच्न, निदाउन र प्रेम गर्न सक्दैनन् ।
- किताबहरु आत्माका ऐना हुन् ।
- महिला भएकोले मेरो कुनै देश छैन, महिला भएकोले म देश चाहन्न, महिला भएकैले सारा विश्व नै मेरो देश हो ।
- यदि तिमी आफ्नै बारेमा सत्य बताउन सक्दैनौ भने अरु मानिसका बारेमा पनि केही बताउन सक्दैनौ ।
- तिमी चाहन्छौ भने पुस्तकालयका ढोकाहरु बन्द गर तर मेरो मस्तिष्कको स्वतन्त्रताको ढोका,गेट बन्द गर्ने तिमीसंग कुनै साधन छैन् ।
यी केही जानकारी लिइसकेपछि पक्कै पनि यहाँहरुलाई भर्जिनियाका कृतिहरु पढ्ने रहर जाग्छ होला । मलाई पनि उनका कृति पढ्ने ईच्छा पलाईरहेछ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

