छोरा तेरो यादमा धेरै रात आँशुले काटेको छु, तेरा बा पनि मुर्छा परेर रुनु हुन्छ

रामेलाई आमाको पत्र

जीवन भुजेल ‘संघर्ष

प्यारो छोरा आमा बुवाको शुभकामना

हामी सबै जना आराम छौ । आशा छ बाबुलाई पनि मंगल कुशल छ । पत्र पाएर हामीमा खुसी अनि उमंग थपिएको छ । हाम्रो पनि सन्चो बिसन्चो लेख्न केदार बाबुको साहारा लिएका छौं । मलाई थाहा छ, विदेश जस्तो ठाउँमा तलाई कत्ति गाह्रो हुन्छ भनेर । के गर्नु हाम्रो भाग्यमा यस्तै रहेछ ।

छोरा तेरो यादमा धेरै रातहरु आँशुले काटेको छु । तेरा बा पनि मुर्छा परेर रुनु हुन्छ । बाबु यो दशैंमा चै जसरी भए पनि आइज ल । तेरो निधारमा टिका लगाएर आशिर्वाद दिने बुवाको ठुलो धोको छ । छोरा तलाई के ढाट्नु ? छोरा गाउँ पहिलेको जस्तो गाउँ छैन । अहिले गाउँमा मात्र साठी बर्ष कटेका घरले जा जा अनि बनले आइज भन्ने खालका बूढाबूढी र साना बालखाहरु मात्र छन् । गाउँको एउटा मात्र पधेरोमा अहिले पनि उत्तिकै पानी आउँछ, फरक यति छ, पहिलेको जस्तो घुइचो हुदैन ।

प्रत्येक घरका रित्ता ढिकि जातोहरु, कोठाहरु, आँगनहरुमा धमिराहरुले आफ्नो घर बनाएका छन् । आज हो कि भोलि जस्ता बुढाबाआमा छोरा बुहारी अनि नातिनातिनाहरुका बाटो हेरी कुरिरहेका छन् । रित्ता घरका चुलोमा जसोतसो आगो सल्काइ बसिरहेका छन् । हल्दार बाका पल्टनका कथाहरु सुन्ने श्रोता छैनन्, कथाहरु कथामै सिमित भएका छन् ।

हल्दार बा अहिले पुरानो रेडियोबाट समचार एक्लै सुन्दै बस्नु हुन्छ । गाउँमा अहिले पनि उस्तै गरि चराहरुको चिरबिरसँगै बिहान सुर्य उदाउँछ । लहलह धान झुल्ने गैरीखेतमा अहिले बनमाराले आफ्नो घारी बनाएको छ । टन्न फल्ने जुनार, सुन्तला, भोगटे, कागती लगायत फलफुलका बोटहरु जुठेल्नामा पातबिहिन सुकेर चुलोको साथी हुन कुरिरहेका छन् । असार साउनमा हरियै हुने बन पाखा अहिले उजाड जंगल भएको छ ।

यसपालि दशैंमा जसरी भए पनि आउनु है । हामी जस्तै गाउँमा धेरै बाआमा आआफ्ना छोराबुहारी नातिनातिना कुरिरहेका छन् ।

अटुट सम्झना अनि न्यानो माया हाम्रो प्यारो छोरा राम।

उहि तिम्रो बाआमा

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button