प्रकाशले कसरी सदुपयोग गरे कोरोनाकाल ?

कोरोनामा किताब

प्रकाशप्रसाद उपाध्याय

देश अहिलेसम्म पनि कोरोना कालको संक्रामक स्थितिबाट गुज्रिरहेको छ । आम जनताको दिनचर्याले सामान्य रूप लिइरहेको देखिए पनि संक्रमणको त्रास मेटिएको छैन । सरकारको पहलबाट भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता विकसित गर्ने खोप आइसकेको र मानिसहरुले यसलाई सहर्ष स्वीकार गर्न थाले पनि ती सबै नियमहरुको पालना आवश्यक देखिएको छ, जुन लकडाउनकालमा अनिवार्य थियो, अर्थात मास्क लगाउन नछाड, सेनिटाइजरको प्रयोग गर्ने गर र २० को गिन्तीसम्म साबुन पानीले मिचीमिची हात धोइ राख ।

विश्वमा समेत प्रलयंकारी दृश्य उत्पन्न गरिरहेको कोभिड–१९ भन्ने यस कोरोनाको नियन्त्रण गर्न अमेरिका, चीन, भारतलगायत विभिन्न देशहरुका वैज्ञानिक र आविष्कारकहरुले खोप निर्माण गरेका छन् भने अन्य क्षेत्रहरुमा समेत सामान्य गतिविधिले गति समाउन थालेको छ । पुस्तक प्रकाशनको क्षेत्रले पनि यस अवधिमा गति पाइरहेको संकेत पाउन थालिएको छ । यसको दृष्टान्तको रूपमा मेरो हातमा हालसालै परेका तीन किताबहरुको यहाँ चर्चा गर्दछु ।

विश्वमा कोरोनापछि आतंक मच्चाउने र त्रास उत्पन्न गर्ने अर्को बिमारी हो क्यान्सर । क्यान्सर शब्द सन्ने बित्तिकै रोगी भयाक्रान्त हुन्छ र सोच्दछ उसको प्राणान्तका दिन आइसके । तर यस रोगमाथि विजय प्राप्त गरेका अनेक व्यक्तिहरुसितको भेट र कुराकानीको आधारमा मैले के थाहा पाएँ भने यो रोग लाग्दैमा मानिसको ज्यान जाने होेइन । रोग पत्ता लागेपछि उपयुक्त उपचार पाइयो, रोगीले सकारात्मक सोच राख्यो र मनोबल उच राखिराख्यो भने चौथो स्टेजसम्मको क्यान्सरमाथि विजय पाउन सकिन्छ । मैले क्यान्सर रोगका यस्ता अनेक रोगीहरूलाई भेट्ने र उनीहरुसित कुरा गर्ने अवसर पाएँ जो चौथो स्टेजको क्यान्सरबाट ग्रस्त थिए । तर सामयिक उपचारबाट उनीहरु यस रोगमाथि विजय पाउन सफल भई स्वस्थ जीवन बिताइरहेका छन् ।

यस वर्षको विश्व क्यान्सर दिवसको अवसरमा सार्वजनिक गरिएको ‘क्यान्सरसँगको लडाइँ’ कृतिका लेखक प्रा.डा. मुरली रञ्जित स्वयम् चौथो स्टेजको प्रोस्टेट क्यान्सरबाट ग्रस्त भएका र सफल उपचारपछि अहिले स्वस्थ जीवन बिताइरहेका छन् । सर्वसाधारणमा यस रोगको सम्बन्धमा आफ्नो अनुभव यस कृतिद्वारा बाँडचुँड गरिरहेका छन् । पेशाले इन्जिनियर रहेका क्यान्सर विजेता प्रा.डा. मुरलीका अनुसार, रोग प्राणघातक मानिए पनि उच्च मनोबल, सकारात्मक सोच, सही खानपान, परिवारजनको सौहार्दपूर्ण व्यवहार र बेला–बेलामा डाक्टरको सल्लाह र निर्देशनअनुसार औषधिको सेवनबाट यस रोगमाथि विजय पाउन सकिन्छ । मुख्य कुरा यसप्रति लापरबाही गर्नु भएन । हुन पनि मैले भेटेका चौथो स्टेजसम्मका रोगीहरु क्यान्सर विजेताका रूपमा एक–डेढ दशकदेखि स्वस्थ जीवन बिताइरहेका छन् । पुस्तक पठनीय र ज्ञानमूलक भएकोले संग्रहणीय पनि छ ।

कोरोनाकालमा प्रकाशनमा आएको र मेरो हात परेको अर्को पुस्तक हो– नेपालको राजनीतिका शीर्ष पुरुष र साहित्यकार बीपी कोइरालाको बहुचर्चित लघु उपन्यास मोदिआइनको हिन्दी अनुवाद, जसलाई साझा प्रकाशन, पुलचोक, ललितपुर, काठमाडौंले बजारमा ल्याएको छ । मङ्सिर २०७७ मा प्रकाशित ४८ पानाको यस किताबले विभिन्न पात्रहरूको मनोविज्ञानको मार्मिक चिञण गरेको पाइन्छ । महाभारतको युद्धमा भाग लिन जाने योद्धाहरूकी पत्नीको मनोदशा भने मर्मस्पर्शी छ ।

कोरोनाकालमा मैले पढ्न भ्याएको आर्को कृति हो– आफ्नोपन । लेखिका प्रा.डा. शोभा पोखरेल (पौड्याल) ले यस कृतिमा देशका ऐतिहासिक कालजयी पुरुष, विभिन्न विद्वत्जन, प्राज्ञजन, राष्ट्रको इतिहास, भूगोल, धर्म, संस्कृति आदिको सम्बन्धमा आफ्ना विभिन्न लेखहरु समाविष्ट गर्दै भनेकी छन्– ‘२९ वटा लेखहरूको सँगालोलाई ‘आफ्नोपन’ भित्र अटाउने प्रयासमा लागेको छु ।’ १७६ पृष्टको पुस्तकमा समाविष्ट व्यक्तित्वहरूको देशप्रतिको महत्वपूर्ण योगदानलाई ध्यानमा राख्दा पुस्तक पढिराखुँ, पढिराखुँ जस्तो लाग्दछ ।

कोरोनाकालको यस अवधिमा बाहिर ननिस्कने गरेको हुँदा अरू पनि किताबहरु पढियो । तर, आजलाई यी तीनसम्म नै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button