
उसो त घनेन्द्रलाई तीते करेलाका सबैजसो आइटम मनपर्छ
घनेन्द्र ओझा पत्रकारिता, प्राध्यापन र साहित्यमा उत्तिकै सक्रिय छन् । गजलको कुरा गर्दा त झन् छटाउनै नहुने नाम हुन् उनी । तर, त्यतिमात्र होइन, उनको खास परिचय त समिक्षक, समालोचक र अझ बढी ‘आलोचक’का रुपमा समेत चर्चित छ । आम मानिसको मिडिया साथी ‘नेपालनाम्चा’ले सुरु गरेको’मनपरेका १०’ स्तम्भमा यसपटक उनै ओझालाई प्रस्तुत गरिएको छ ।
१. तपाईंलाई सबैभन्दा मनपर्ने खाना के हो ? किन ?
गुन्द्रुक सिन्कीसँग भात । गुन्द्रुक सिन्कीको स्वाद बच्चैदिखि गढेकाले हुन सक्छ । पछि बुझ्दा गुन्द्रुक सिन्कीमा हाम्रो शरीरका लागि आवश्यक विभिन्न तत्त्वहरू पनि पाइने रहेछ । उसो त मलाई तीते करेलाका सबैजसो आइटम मनपर्छ भने तामाको तरकारी पनि उत्तिकै मनपर्ने हुँदा यी सबै चिज मेरो पहिलो रोजाइमै पर्छन् ।
२. तपाईंलाई सबैभन्दा मनपरेको ठाउँ कुन हो ? किन ?
प्राकृतिक सौन्दर्य, हावापानीका कारण मात्र नभएर आफू जन्मे-हुर्केको क्षेत्र पनि भएकाले होला इलाम र पोखरा पनि एकै तहमा पर्छन् मेरो रोजाइमा । पोखराचाहिँ बिछट्टै प्राकृतिक सौन्दर्यले तान्ने ठाउँ हो ।
३. तपाईंलाई सबैभन्दा मनपरेको किताब कुन हो ? किन ?
श्रीमद्भगवदगीता । यसमा ज्ञान मात्र छैन, बेइमानी र भ्रम पनि प्रशस्त छ । युद्ध गर्दिनँ, मान्छे मार्दिनँ भनेर गाण्डिव त्याग्न तयार अर्जुनलाई कसरी भ्रमित पारेर तर्कसङ्गत ढङ्गले श्रीकृष्णले कुरुक्षेत्रको ताण्डव गराए भन्ने बुझ्न यो उपयोगी छ । बाँकी केही दर्शन, केही चिन्तन र केही व्यावहारिक ज्ञानका सन्दर्भ पनि छन् यसमा । राम्रा-नराम्रा दुवै पक्षहरूलाई बुझ्न गीता उपयोगी लाग्छ । मैले भनिहालेँ- गीता ज्ञानको शास्त्र मात्र होइन । दर्शन, भ्रम र शालीन उत्तेजनाको त्रिवेणी हो गीता ।
४. तपाईंलाई सबैभन्दा मनपरेको मान्छे को हो ? किन ?
मभन्दा राम्रो, असल, इमान्दार र मैले मनपराउने अर्को मान्छे मैले भेटेको छैन । यसको कारण म स्वयंप्रतिको विश्वास र भरोसा हो । मनपर्ने सवालमा म स्वयं भए पनि माया गरिने र सद्भाव राखिने धेरै छन् । श्रीमती, बाआमा, छोराछोरी पनि उत्तिकै स्तरमा रहन्छन् ।
५. तपाईंलाई सबैभन्दा मनपरेको आफ्नै बानी के हो ? किन ?
विद्रोही र ढिट । म बच्चैदेखि अलिक जब्बर छु भन्छन् मलाई जान्ने-बुझ्नेहरू । म स्वयंलाई पनि यो धेरे हदसम्म हो जस्तो लाग्छ । यद्यपि, मेरो विद्रोह, ढिटपना र जब्बरपनाबाट कोही व्यक्ति वा समाजलाई हानि नोक्सानी हुन नपाओस् भन्नेमा म सदैव सजग र सचेत छु । सकारात्मक उद्देश्यले मबाट कहिलेकाहीँ समाजले र केही मानिसले देख्ने नकारात्मक वचन र व्यवहार पनि हुन्छन्, भएका छन् ।
६. तपाईंलाई सबैभन्दा मनपरेको नेता को हो ? किन ?
म कामका आधारमा चयन गर्छु नेता । मैले नेपालमा पृथ्वीनारायण शाह, जङ्गबहादुर राणा, चन्द्रशम्शेर राणा र महेन्द्र शाहलाई उत्तिकै मनपराउँछु ।
पृथ्वीनारायणले गरेको भौगोलिक र भावनात्मक एकीकरण (अहिलेको दूषित राजनीतिले मात्र हो नेपालीमा भावनात्मक एकतामा विचलन ल्याएको), देशभक्ति र उनका सन्देश मननयोग्य र सम्मानयोग्य छन् ।
जङ्गबहादुरको राष्ट्रभक्ति र कूटनीतिक चातुर्यका कारण त्यसबेलाको अङ्ग्रेजको पन्जाबाट देश जोगिएको हो । भलै, कमी कमजोरी होलान् तर ऊबेलै देश चलाउन विधि, कानुन चाहिन्छ भनेर मुलुकी ऐन जारी गर्नु नि सकारात्मक मान्छु, जुन परिमार्जन र संशोधन हुँदै आजसम्म कायम छ ।
चन्द्रशम्शेरको विकासको नीति र कार्य अनि सामाजिक क्रान्तिचेत सम्मानयोग्य हो । जहानियाँ तानाशाह भएर पनि उनले देशमा विजुली उत्पादन, रज्जु मार्ग, त्रिचन्द्र कलेज स्थापना गरे । उनले नै विकासका लागि आवश्यक नीति बनाउन सजिलो हुने जनगणनाको सुरुआत गरेका हुन् । दास र सतीप्रथा जस्ता मानवताविरुद्धका आपराधिक प्रथाहरू उन्मूलन गर्नु सानो सामाजिक क्रान्ति हो र ?
महेन्द्र शाहको दूरदर्शिता, विकासप्रेम र राष्ट्रियताप्रतिको उच्च सम्मान र स्वाभिमान साँच्चै अनुकरणीय लाग्छ । विकासका लागि सहज होस् भनेर गरिएको देशको रावनीतिक विभाजन, उद्योग, कलकारखानाको स्थापनामा पहल, पूर्व-पश्चिम राजमार्ग निर्माण आदि उनका सम्झनयोग्य काम हुन् ।
भारतीय मुद्रा हटाउने र मन्त्री मण्डलमा भारतीय प्रतिनिधि हटाउने तथा भारतीय सेनालाई नेपालका सिमानाबाट हटाउने निर्णय चानचुने राष्ट्रिय स्वाभिमान हो ? भनिन्छ- यिनै निर्णयप्रतिको असन्तुष्टिको परिणाम ‘बाह्य शक्ति’का कारण पत्थरघट्टामा महेन्द्रको रहस्यमय ‘मृत्यु’ भएको हो ।
७. तपाईंलाई सबैभन्दा मनपरेको चाडपर्व कुन हो ? किन ?
तिहार अत्यन्त मनपर्छ । म चेलीविहीन छु तर तिहारको सौन्दर्य, उत्साह र उमङ्ग विशेष लाग्छ । प्रकृति पनि शान्त हुँदै गरेको, मौसम पनि शीतल, झिलिमिली, रङ र फूलको आनन्द, देउसी-भैलीको रौनक र छोटो समयमा मनाइने लामो चाड ।
८. तपाईंलाई सबैभन्दा मनपरेको पेसा कुन हो ? किन ?
सबै पेसाप्रतिको सम्मान छ । पेसा आवश्यकताको विषय रहेछ । म प्राध्यापन र पत्रकारितामा आवद्ध छु । यद्यपि, मलाई मनपर्ने पेसा व्यापार वा उद्यम हो, जुन मैले गर्न सकिनँ । गर्ने प्रयासमै लाखौँ रुपैयाँ डुबाएँ ।
९. तपाईंलाई सबैभन्दा मनपरेको रङ कुन हो ? किन ?
मलाई बच्चैदेखि रातो रङ मनपर्ने । कारण थाहा थिएन ऊबेला । तर, अहिले सम्झिँदा लाग्छ- रातो उस्सै ‘राम्रो’ मानिने रङ रहेछ भने केही विद्रोही, क्रान्तिकारी र जब्बर स्वभाव भएकाहरूले रातो रङ मनपराउने बताउँदा रहेछन् मनोवैज्ञानिकहरू ।
१०. तपाईंलाई सबैभन्दा मनपरेको गीत कुन हो ? किन ?
अहिले सबैभन्दा मनपर्ने गजल ‘परे म मर्छु भोकले, म दास बाँच्न सक्दिनँ’ हो । यो गजल मद्वारा लिखित, कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतबद्ध र लोकप्रिय गायिका निशा देशार र सन्तोष श्रेष्ठले गाउनुभएको छ । यो गजल बहरबद्ध गजलहरूको एल्बम ‘शुभेच्छा’मा सङ्गृहीत छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



