लोग्नेलाइसेन्स
नगिता लेप्चा राई
खोलाचन्द फाप्री, जलपाईगुडी, भारत
श्रीमतीसित थुतुनो चलाउने हरेक लोग्नेमान्छे एटा कुरा याद राख्नुपर्छ तपाईकी श्रीमती तपाईकी जवनसङ्गिनी हुन् । हामी श्रीमतीले आतङ्कवादीको रुप लियौं भने तपाईको च्यापु लक हुनसक्छ । नेपालमा कुरैपछि चक्का जाम भएजस्तो श्रीमान महादयको पनि के के जाम हुनसक्छ, हुनसक्छ । तपाईकी श्रीमती सिमेण्टको बोरा होइन । स्मरण रहोस् अहिले नारीजागरणको युग चल्दैछ । ढुङ्गा फ्याँक्दा ईँटाको झटारो खानैपर्छ । होसियार !
श्रीमतीलाई सघाउने कुरामा लोग्नेमान्छे साह्रै कमजोर देखिन्छन् । कति लोग्ने ता वरको सिन्का पर नसार्ने खालका पनि हुन्छन् । मलाई लाग्छ, अब लोग्नेहरूको लोग्ने ट्रेनिङ क्याम्पस हुनुपर्ने । बीएड पास नगरे शिक्षकको नोकरी पाइँदैन लोग्नेले पनि टीएल (ट्रेण्ड लोग्ने) तहको प्रमाण नलिएसम्म उनी अस्थायी लोग्नेकै रुपमा श्रीमतीको अण्डरमा बस्नुपर्नेछ । आतङ्कवादीहरू सबै ट्रेण्ड हुन्छन् । आतङ्कवादी ट्रेण्ड नभएसम्म उनलाई आतङ्कवादीमा सामेल गरिँदैन । यसकारण अण्ट्रेणड लोग्नेलाई पनि घर-गृहस्थीमा सामेल गर्नु नै नपर्ने । यसकारण ट्रेण्ड नभई हातखुट्टा बाँघ्नु पाउने छैन ।
नोकरी गजब, गाडी, बिल्डिङ भयो भन्दैमा राम्रो घरकी सोझी-सरल युवतीलाई फरिया-चौबन्दीमा लपेटेर ल्याई आजीवन ओखलीमा धान ढुटाएजस्तो घर-संसारको ओखलीमा ढुट्याउन पाउँदैन ।
नारी सशक्तिकरणको जमाना छ । अब प्रत्येक श्रीमतीहरूको गृहस्थी जीवनको ओखलीमा चामल ढुट्टाएजस्तो ढुट्याउने खोज्ने सबै लोग्नेहरूलाई भन्न सक्नुपर्छ, “ए लोग्ने महोदयहरू हो…जानुहोस् पहिले टीएल पास गरी आउनुहोस् । त्यसपछि मात्र औ, सुन्यौ, आँ… उँ… हाँ… हुँ… को उत्तर पाउनैछौं ।
लोग्ने ट्रेनिङको नमूना….
ट्रेनिङ सेण्टर.. विराट अबजर्भेस् ल्याबमा लोग्नेलाई राखिन्छ । ल्याबमा चारैतिर सिसिटिभी छन् । ल्याबभित्र उम्मेद्वारको सारा करतूत हेरिन्छ । त्यसपछि स्वाभाव संशोधनी क्याम्पमा हालिन्छ लोग्नेलाई । एकजना हात्तीभन्दा अजङकी म्याडमले लोग्नेलाई निरीक्षण गर्नेछिन् ।
अबजर्भेसन शुरु….. बिहान ५ बजे लामो बेल बज्छ… क्रिड़िङ्…. क्रिड़िङ… । सबै लोग्नेहरू जाराक जुरुक उठनुपर्छ । लोग्नेहरू प्रायः अल्छे नै हुन्छन् । निद्राबाट उठ्ने बित्तिकै बाथरुम दगुर्छन् । बिगबोसको बोसजस्तै कतै कुनाबाट सिम्पाञ्जीजस्ती ट्रेनर म्यामको चर्को स्वर– कहाँ जानुहुँदैछ ? मच्छड़दानी खोलेर मिलाउनुहोस् अनि पट्याएर तोसकमुनि राख्नुहोस् । ब्ल्याङ्केट चिटिक्कै पट्याउनुहोस् । सिरानीकै गति हेर्नुहोस् । आमामामा…के हो त्यस्तो ? रातभरि सिरानीलाई अङ्गालो मारेर सुत्नुहुन्छ कि क्या हो ? सिरानी डल्लो परेको हेर्नु । सिरानीमा दुइ-तीनपल्ट हातले ढ्याप…ढ्याप गर्नुहोस् । सिरानी डल्लो परेर कति घिनलाग्दो देखिँदैछ । ह्मममम….अब सिरानी टाउकातिर राखेर खज्मिएको च्यादर तिनिक्कै पारी, त्यसमाथि बेडकभरले छोपिदिनुहोस् । अहँ… भएन… भएन । चारैतिर इक्वाल भएन । मेक इट डिसेण्ट ।
लोग्नेलाई साह्रो पारिसक्छ । वासरुमा जानैपर्छ नत्र… । फेरि सिम्पाञ्जीको कर्कश स्वर- अरे कता फेरि ? तपाई ? तपाईलाई यहाँबाट जाने पर्मीसन कसले दियो । यो तपाईको घर होइन.. अब फिजिकल एक्ससाइजको निम्ति तयार हुनुहोस् । सावधान पोजिसनमा उभिएर… हातखुट्टा पालैपिलो फ्याँक्नुहोस्… दुइ हात सोझो माथि उठाएर अघिल्तिर घोप्टिनुहोस् । येस… गो अन… गो अन… अहँ घूँड़ा बाङ्गियो… । नो… नो… । घूँड़ा बाङ्गो नपरार्नुहोस् । स्ट्रेट । फ्रण्ट बेण्ड, साइड बेण्ड, ब्याक बेण्ड । सिक्सिटिन… सिक्सिचिन टाइम्स । हेर्नुहोस् तपाईको भुँड़ी झोलिएको… यो उमेरमा यस्तो भुँड़ी । नट लुकिङ गुड । लु अब ट्वेण्टी टाइम्स उठबस् । कण्टिन्यू । नन स्टप । चालिसपल्ट डन । पवनमुक्तासन पनि । लु अब जगिङ्… ।
महिना दिनसम्म ट्रेनिङपछि सबै लोग्नेहरूलाई मैदानमा उभ्याई सिपाञ्जी म्यामको भाषण-
ग्यास बाल्नु सिक्नुहोस् । चिया बनाउनु सिकानोस् । नानी समात्नु सिक्नोस् । न्याप्किन फेर्न सिक्नुहोस् । मसला पिँध्नु सिक्नुहोस् । भाँड़ा मोल्न सिक्नुहोस् । बिना लाइसेन्स जसरी गाडी चलाउन सकिँदैन त्त्यसरी लाइसेन्सबिना गृहस्थीजीवनको गाडी चलाउन सकिँदैन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
भेरी बोल्ड र कमान्डिङ हुँदी रहेछिन् ती सिम्पान्जी !
सर्जकको सिर्जना र अभिव्यक्तिको शैली साह्रै मन पर्यो ।
हार्दिक नमन !