
लहरामा फल्छु सिमी मेरो नाम, कब्जियत भगाउने ठूलै हो काम
सिमी
शान्ता भट्टराई
लहरामा फल्छु सिमी मेरो नाम
कब्जियत भगाउने ठूलै हो काम ।
सबैतिर फल्छु म पहाड अनि तराई
परिचित छु सबैसँग कोही छैनन् पराइ ।
रातो, सेतो, टाटे थरी थरी जात
झाङ्गिएर हिँड्छु म चिल्लो छ पात ।
मिसाएर गोलभेँडा लदबद बनाउँदा
झनै मीठो हुन्छ है धनियाँ मिसाउँदा !
छिप्पिएका दानालाई सुकाउँदा घाममा
खाँचो हुँदा तरकारीको आउँछु म काममा।
सुख्खा पारी भुट्नुहुन्न डढ्छु म छिटो
हल्का रस राखेपछि तब हुन्छु मीठो ।
सानो छँदा त्यो सिमी खान्नथेँ मैले
किन त्यसो गरेँ भन्ने लागिरन्छ ऐले।
खसीको कानजस्तै भन्ने गर्थे कोहीले
केटाकेटी बुद्धि सम्झी हाँसो लाग्छ अहिले ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)