
चाबहिलमा देखेको युवतीलाई म किन सम्झिऊँ ?
किरण
प्यासिफिक डिसेम्बर
इलाम नगरपालिका–३, इलाम
सायद घडीलाई पनि हतार हुँदो हो समय बिताउन । त्यहि भएर सेकेण्ड काँटा निरन्तर छट्पटाइ रहन्छ । प्रत्येक मिनेट, मिनेट काँटालाई नयाँ ठाउँमा सारिरहन्छ । लामो समयको मेहनतपछि घण्टा काँटालाई पनि एक खुड्किलो सर्न बाध्य पार्छ तर आज घडीको अल्छीपन हो कि मेरो सोचाइको हो, समय कति पनि दौडेको छैन । जसोतसो घिस्रिएर घडीको काँटाहरू साढे बाह्रतिर दगुर्दैछ ।
मानौं, सेकेण्ड काँटा छ्याक छ्याक गर्दै कराएर अर्को दुई काँटालाई पनि सँगै कुद्ने हौसला दिइरहेको छ तर ति दुई घमण्डी छन् । अर्थात, उनीहरूको अस्तित्व नै यही हो, अर्थात उनीहरू आफ्नो क्षमताभन्दा अघि बढ्न सक्दैन कि त आफ्नो जिम्मेवारी मात्र पुरा गर्छन् । या, भनौं उनीहरुलाई थाहा छ कि जति चुरिफुरी गरे पनि कोहि आफ्नो क्षमताभन्दा बाहिर जान सक्दैन । यस्ता नाना थरीका कुरा मनमा खेलाएर रातिसम्म बस्नु मेरो निन्द्राको शत्रु हो । यस्ता विभिन्न शत्रुसँगै राति अबेरसम्म बस्नु चुरोटको मात्रा पनि बढ्नु हो ।
लगभग रातको एक बज्दो हो । कोठाको झ्यालको पर्दा खोलेर हेरेँ । सडकका बत्तीहरु एकनासले भुइँतिर टुलुटुल हेरिरहेछ । कुनै बत्ती त्यहि घुम्ने किरा फट्याङ्ग्रालाई जिस्क्याउनु हो कि त बिग्रिएको हो, झिपिकझिपिक गर्दैछ । चारैतिर सुनसान सडकका कुकुरहरु पनि शान्त थिए । वरपरका सबै घरका झ्यालहरु अन्धकार । अलि पर तेस्रो तल्लाको छेउको झ्यालमा मधुरो प्रकाश भित्रबाट छरिएको छ । त्यहाँ पनि अर्को कोहि म जस्तै व्यक्ति छ अर्थात कुनै जोडी अझै पनि रात्री क्रिडामा तल्लिन छ । बाइकमा एक जोडी टाँसिएर हावामै हुर्रिएर गयो । सडकका कुकुरहरूले उठेर एक शब्द भुक्न पनि भ्याएन । रातको समय चिसो हावाको एक झोक्का झ्यालबाट कोठाभित्र छिर्यो । झ्याल बन्द गरेँ ।
अब झ्याल बन्द गरेर कोठाभित्र बस्नु फेरि एउटा चुरोट सल्किनु थियो । बत्ती निभाएर जबरजस्ती आखाँ चिम गरेर सुत्नु ओछ्यानसँग जिस्कनु जस्तै थियो । एक चुरोट तानेर सुत्ने निर्णय गरें । चुरोट सल्काएँ । दुई पब नतान्दै फेरि दिउँसोको घटना याद आयो । चाबेलको अस्तव्यस्त सडकमा बाटो काट्दा मेरो साथसाथै हिँडेकी युवती । को हुन् उनी ? म किन सम्झिउँ र उनलाई ? बाटोमा भेटेको सबैलाई सम्झेर पनि हुन्छ ? के सबै बटुवाको परिचय खोजुँ ? अँह, तर उनको याद आयो ।
उत्कुण्ठाले यौवनको मातसँगै हिँडेकी । गाडीको डरले हो या मसँग हतासिएर हो, बाटो बीचमा मेरो नाडी समात्छे । ओठको मधुरो लाली, गाजल लगाए झै कुइरा आँखा, स्पष्ट देखिने गलाको कालो तिल अनि थोरै हाँस्दा देखिने मिलेका दन्त लहर अनि मसँग टाँसिएर हिँडेकी । ओहो ! कस्को नजर नअड्किएला एक पटक ?
वसन्तमा फेरिदै गरेको नयाँ पालुवा र चैत वैशाखको हुरीबतास, बर्खाको भेल जसरी उर्लिएर आएको जवानी जो कोहिलाई पनि बगाउन सक्थ्यो । उनको मुलायम हत्केलाको स्पर्शले मलाई तरङगित बनायो । त्यहि स्पर्श सम्झेर म चरम आनन्दमा पुग्न सक्छु । उसको आँखा सम्झेर म लोलाउन सक्छु । हो, उसको लजालु मुस्कान सम्झेर म नतमस्तक टोलाउन सक्छु ।
लगभक बीस–पच्चिस सेकेण्डको समयले मलाई क्षितिजको दुरी पार गरी महासागरको गहिराईमा पुरायो । उसँगको केही सेकेण्ड समय मलाई घण्टौं बिताउन मन छ । ऊसँगको केही पाइलाहरू आकाशमा चकिएको बिजुली सरी थियो । केही क्षण म उज्यालोमा थिएँ । असिमित चाहनाहरू आउन थाले तर बिजुली चम्काइपछि ती यादहरू चट्याङ्ग सरी बज्रिन थाल्यो । कति निरस छन् त कति रसिला । कुनै सुन्दर युवती देखेर आफैभित्र अनेक खुलदुलि हुनु, नयाँ सपना देख्नु र ऊप्रति वासनाको चाहना आउनु जो कोहिको स्वभाव नहुन सक्छ तर कुनै समयको परिस्थिति र कामको तीव्र उत्कण्ठाले बेला समय म त्यहि स्वभावमा पर्छु । यौनलाई लुकाएर मनलाई अशान्ति दिन चाहन्न ।

कसैको शरिरमा देखिएको यौवन, कसैको मुस्कानमा देखिएको यौवन, कसैको व्यवहारमा देखिएको यौवन वा त कसैको आँखामा देखिएको यौवनले म तृप्त हुन सक्दिन । यसले केवल शारिरिक वासनामा चरम आनन्द दिन सक्ला तर मनभित्रको तृष्णा मेटाउन सक्दैन । हो, म त्यहि यौवन देख्छु ती युवतीमा । जुन उसको मनदेखि भरिएको छ । त्यसैले म उसलाई सम्झेर मात्र पनि तृप्त हुन सक्छु । उनी एक किरण हुन जसरी वनस्पतिले सूर्य किरणको उपस्थितिमा आफ्नो खानालाई तयार गरी आफ्नो भोक मेटाउँछ, त्यसरी नै उसको केही सेकेण्डको उपस्थितिले मेरो मनको भोक मेटाइदियो ।
बाहिरबाट घन्द्राङ्ग आवाज आयो । भित्ताको घडी हेरें, समय लगभग विहानीको चार बजेछ । पल्लो कोठाको दाइको मर्निङ वाक जाने समय, सायद ऊ बाहिर जुत्ता खोज्दो हो । दाइको नयाँ दिनको सुरूवाती भयो तर मेरो हिजोको पुरानो दिन अझै टुँगिएको थिएन । बिहान नौ बजे काममा जानु पर्छ । एक निन्द्रा पनि सुतेको छैन । अब त सुत्नु पर्छ । बिहान चार बजे बत्ति निभाएँ अनि गुटुमुटु भएर फेरि अर्को संसारको यात्रामा निस्किएँ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)