‘भरत बाबु ! पत्रकार रवि ६ महिनामै उपप्रधान तथा गृहमन्त्री भए, तपाईं त ?’ ज्योतिषीलाई सोध्नुपर्ला
संस्कृतमा एउटा सुक्ति छ, 'दीर्घसूत्री विनश्यति ।' यो भनेको के हो भने समयमा ठोस निर्णय गर्न सकिएन भने विनास हुन्छ । यो सुक्तिको ज्ञान देउवाको ज्योतिषीले सिकाएको भए देउवा पनि सफल र ज्योतिषीको पनि वाहवाह हुने थियो । गल्ती सानो तर राजनीतिक दुर्घटना भयो । देउवाले समय र परिस्थितिलाई बुझेनन् ।
भरत शर्मा
निर्वाचन सकियो, जनताले नेता चुने, नेताहरुबीच अहिले पद चुन्ने काममा तछाडमछाड छ । पदको भागबण्डा र वरियताको लफडा चल्दै गर्दा ज्योतिषी पात्रको निकै चर्चा भयो । राजनीतिमा पनि ज्योतिषी पात्रको यति ठूलो चर्चा भएपछि नेपालनाम्चाको शनिबारिय स्तम्भ ‘पात्र’मा पनि ज्योतिषीको कुरा किन नगर्ने भन्ने लागेर आजको पात्र ज्योतिषी नै रोजे ।
म ज्योतिषशास्त्रको विद्यार्थी हुँ । ज्योतिषशास्त्रको अध्ययन गरेको व्यक्तिलाई ज्योतिषी भनिन्छ । तर, नेपाली सञ्चारमाध्यम र बोलीलाचीमा ज्योतिष भन्ने गरिन्छ । त्यो गलत हो । शास्त्र ज्योतिष हो, शास्त्र अध्ययन गरेका व्यक्तिमात्र शुद्ध भाषामा ज्योतिषी भन्नु पर्छ । गतहप्ता केही अनलाईनका सम्पादकलाई फोन गरेर ज्योतिष लेखेको ठाउँमा ज्योतिषी लेख्नुपर्छ भनेर टेलिफोन गरेँ । केही मित्रहरुले सच्चाउने काम पनि गरे । भाषा, साहित्य, संस्कृति र पत्रकारिताको छात्रको कर्तव्य थियो । त्यसैले मैले ज्योतिष होइन, ज्योतिषी लेख्नुपर्छ भनेर बुझाएको हुँ ।
ज्योतिषशास्त्रमा जान्नुपर्ने पाँच कुरा छन् । तिथि, बार, नक्षत्र, योग र करण । पाँचवटा कुरा समावेश भएको पञ्चांग अर्थात् पात्रो हरेक बर्ष प्रकाशित हुन्छ । त्यही पात्रोको आधारमा क्यालेण्डर तयार हुन्छ । हाम्रो दैनिक जीवनमा पात्रोको निकै महत्व छ । पात्रो नेपाली जनताको स्थायी संविधान हो । नेपालको संविधान परिवर्तन भइरहन्छ तर पात्रो नहुने हो भने हाम्रो समाज र देश सञ्चालनमा कठिन हुने गर्दछ । त्यसैले हामी ज्योतिषको विद्यार्थीले भन्ने गर्छौं देश, समाज र जनताको पहिलो संविधान भनेको पात्रो हो ।
आफूले पढेको शास्त्रको महत्व बताउनु मेरो कर्तव्य हो । त्यसैले मैले भनेको कुरामा सहमत नहुन पनि सक्नु हुन्छ । तर, सत्य त सत्य नै हुन्छ ।
यसपटको निर्वाचन गर्ने मिति घोषणा गर्दा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीको सल्लाहमा गरेको खबर सञ्चारमाध्यममा प्रकाशित भयो । त्यो पनि खुसीको कुरा हो । देउवा ज्योतिषीको सल्लाहमा काम गर्छन् भन्ने कुरा बारम्बार आइरहेको थियो । देउवालाई ज्योतिषीले भनेका थिए रे, उनी छटै पटक प्रधानमन्त्री हुन्छन् भन्ने कुरा तर यसपटक ज्योतिषीका कुरा गलत भएपछि सामाजिक सञ्जालमा ज्योतिषीलाई अनर्गल गाली गरे । विचरा देउवाका ज्योतिषीले ग्रह गणनामा केही गल्ती गरेका थिए कि ? बाँकी कुरा देउवाका ज्योतिषीले जानुन् ।
संस्कृतमा एउटा सुक्ति छ, ‘दीर्घसूत्री विनश्यति ।’ यो भनेको के हो भने समयमा ठोस निर्णय गर्न सकिएन भने विनास हुन्छ । यो सुक्तिको ज्ञान देउवाको ज्योतिषीले सिकाएको भए देउवा पनि सफल र ज्योतिषीको पनि वाहवाह हुने थियो । गल्ती सानो तर राजनीतिक दुर्घटना भयो । देउवाले समय र परिस्थितिलाई बुझेनन् । उनी अहिलेको लागि विनासको बाटोमा लागे ।
राजनीति गर्नेहरुले ज्योतिषीको सल्लाह मान्न थालेपछि आफूले जानेको, पढ्को र सिकेको ज्ञानको महिमा हुँदा आफ्नो मनमा खुसियाली हुनु स्वभाविक पनि हो ।
मैलै पात्रो हेर्न सिकेको र ज्योतिषशास्त्र पढ्न थालेको ३५ बर्ष भएछ । यति लामो समय मैले पढेको ज्योतिषशास्त्रलाई मान्यता दिएर देशका प्रमुख मुखियाले मान्यता दिनु भनेको हामी ज्योतिषशास्त्र पढेका विद्यार्थीको सम्मान भएको ठानेको छु ।
‘देउवाको ज्योतिषीको कारवाही हुनुपर्छ, उनको सत्ता गुम्यो’ भनेर सामाजिक सञ्जालमा विरोध हुँदा देउवाको ज्योतिषीको प्रतिक्रिया आउँछ कि भनेर खोजेँ तर कतै भेटिनँ ।
मनमनै विचरा ति ज्योतिषी मित्रलाई कति पीडा भएको होला भनेर मैले पनि केही महसुस गरेजस्तो गरेँ । त्यति नै बेला नवनियुक्त देशका मुखिया प्रधानमन्त्री प्रचण्डले पनि ज्योतिषीको सल्लाहमा बालुवाटार प्रवेशको साइतमा प्रवेश गरेको खबरले मनमा फेरि उत्साह भरियो । ज्योतिषी भनेको देउवा, प्रचण्ड सबैलाई चाहिने रहेछ नि !
अलिकति निराश मन तुरुन्तै उत्साहमा भरियो । सलाम छ देशको नयाँ मुखिया प्रचण्डलाई, हामीले पढेको शास्त्रलाई मान्यता दिनुभएकोमा ।
‘कुमाईको घुमाई’ खेलमा चतुर नेता केपी शर्मा ओलीको पिता नै ज्योतिषी हुन् । ओलीका पिताले सञ्चारमाध्यममा ‘मेरो छोरोको राजयोग गरेको छ, देशको सबैभन्दा ठूलो नेता हुन्छ’ भनेर भविष्यबाणी नै गरेका थिए ।
विहीबार साँझ पशुपति दर्शनपछि फर्कदै गर्दा एकजना साधुले भने, ‘पशुपतिनाथमा एकसय आठ किलो सुनको जलाहारी राख्ने निर्णय गर्ने ओली हुन्, पशुपतिनाथले यसपटक ओलीलाई सद्बृद्धि दिएको छ ।’ उनले राम्रो काम गर्छन् भनेर बखान गर्दै थिए ।
देउवा, प्रचण्ड, ओली सबै ज्योतिषीको सल्लाह मान्छन् भने अवस्य राम्रो हुनेछ भनेर आशावादी भएँ ।
साधु भन्दै थिए, ‘जनताको संवेदनामा राजनीतिमा उदाएका पत्रकार एवं नेता उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मन्त्री भएको भोलिपल्ट पशुपतिनाथको दर्शन गर्न आएका थिए । उनी सर्वसाधारण दर्शनार्थी भएर पशुपति आएका थिए ।’
विगतमा गृहमन्त्री पशुपतिनाथ जाँदा सुरक्षाकर्मी र पशुपति विकासकोषका पदाधिकारीले धनुष्टकार गर्न जम्मा हुन्थे तर यस पटक गृहमन्त्री पशुपति पुगेको खबर पदाधिकारी र सुरक्षाकर्मीले ढिलो सूचना पाए ।
‘रविले जे गरे, ठिकै गरे’, साधुले भने, ‘रवि पत्रकार हो, पत्रकारहरु अलि चलाख हुन्छन् रे ।’
साधुबाट पनि पत्रकार चलाख हुन्छन् भन्ने कुरा सुनेपछि आफू पनि चलाखको कोटीमा परेको कुरा सुनेर खुसी हुन पुगेँ ।
साधुले भने, ‘हेर्नु न त भरत बाबु, तपाई जस्तै पत्रकार रवि ६ महिनामा पार्टी खोलेर सांसद बनेर गृहमन्त्री भए !’
यो कुरा सुनेर गर्व गरेँ, पत्रकार सधै पत्रकार हुनुपर्छ भन्ने छैन । यो हाम्रो लागि खुसीको कुरा हो । म पनि पत्रकारिताको विद्यार्थी हुँ भन्दा खुसी लाग्यो ।
साधुले भने, ‘बाबु, लेख्न र पढ्न नछोडनु है, देखेको कुरा, भोगेको कुरा, समाज र देशको हितको पक्षमा लेख्नुस् । धर्म संस्कृति देशको प्राण हो । तपाई राजनीतिको कुरा गरे पनि धर्मसंस्कृतिलाई जोड्नुस् है !’
साधुले आशीर्वाद र अर्ति उपदेश थपिदिए ।
मैले भनेँ, ‘हजुर, म सकेजति लेखिरहन्छु ।’
साधुले फेरि भने, ‘प्रचण्डले बालुवाटार प्रवेश गर्दा ज्योतिषीलाई समय सोधेर प्रवेश गरेछन् । यो कुरा सत्य हो कि होइन बाबु ? तपाईलाई थाहा होला ?’
‘मैले पनि समाचारमा पढेको हो । र, कुरा सत्य हो’, मैले भनेँ ।
मेरो कुरा सुनेर साधु हर्षविभोर भए ।
पशुपतिनाथको मन्दिरतर्फ फर्केर साधुले भने, ‘हे प्रभु, हाम्रा नेताहरुलाई सदबुद्धि प्रदान गरिदिनुहोस् ।’
साधुबाबा मबाट राजनीतिक कुरा सुन्ने र धर्मका कुरा जोड्ने गफ मार्ने मुडमा भएपछि ‘काठमाडौंमा कडा चिसो बढ्दै छ, म अलि टाढा पुग्नु छ’ भनेर साधुलाई ढोग गरेर घर फर्कंदा बाटोमा सोचेँ, ‘यो हप्ताको पात्र ज्योतिषी नै हो ।’ त्यसैले जे देखेँ, जे भोगेँ र आफूले पढेको विषय नेताहरुको समेत प्रयोगमा ल्याउन थाल्नुभएकामा खुसी भएर लेखेँ ।
शुक्रबार साँझ यो लेख इमेलमार्फत नेपालनाम्चामा सम्प्रषेण गर्न तयारी गर्दै थिएँ, मेरा अग्रज मित्र ज्योतिषी डा. सुनिल सिटौलाले मुहारपुस्तिकामा एउटा पोष्ट देखेँ । उनले लेखेका छन् चुरो कुरो । सबैले विचार गर्नुहोला है ।
यसपाली निर्वाचन सम्बन्धित प्रायजसो सबै काम कारवाही बृहस्पति उल्टो घुमेको र शुक्र अस्त भएको बेलामा परेको, भएको छ । यस्तो बेलामा परेको, भएको निर्वाचनबाट कसैको पनि भलो नहुने देखिएको छ । राष्ट्र, राष्ट्रियतादेखि सामाजिक सुरक्षा व्यबस्थामा पनि खतरा उत्पन्न हुने देखियो सिटौलाले भनेर लेखेका छन् ।
ग्रहको प्रभाव त अवश्य परेको छ । चुनाव सम्पन्न गरेका नेतालाई बृहस्पतिले पीडा दिएको छ । देशको राजनीतिमा शुक्रको प्रवेश भएको छ ।
राजनीतिमा ज्योतिषको प्रभावको बारेमा मन्थन गर्दै थिएँ । रातोपाटी अनलाईन खोलेर देशमा के हुँदै छ बुझौं भनेर लागेको, समाचारको शीर्षक देखेँ, ‘माओवादी केन्द्रमा मन्त्री बन्न वरीयताको लफडा ।’
समाचार पढ्न मन लागेन शीर्षकले कुरो बुझेँ । लौ न, नेताज्यूहरु ग्रह गणितका अनुसार चल्नुस् । वरीयता खोजेर लफडा नगर्नुहोला । हामी ज्योतिषीको यही सल्लाह छ । कर्मतिर लाग्नुस्, फल त अवश्य पाउनुहुनेछ । श्रीमद्भगवत गीताले सिकाएको पाठ नपढे पनि जनताको मतको अपमान नहुने गरी काम गर्नुहोस् है ।
ज्योतिषीको काम सल्लाह दिने हो, मान्ने नमान्ने तपाईहरुको मर्जी ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)