सोलमेट अर्थात आत्मा-साथीका दर्जन लक्षण
रितु शाक्य
संसारकै शक्तिशाली शब्दहरुमध्ये एक शक्तिशाली शब्द हो प्रेम । त्यहि भएर होला संसारभर यो शब्दसँग जोडिएका कथा कविता, लेख, रचना, उपन्यास, चलचित्र , गीत आदि धेरै भेटिन्छन् । प्रेम केवल दुई व्यक्तिबीचको प्यार मात्र नभई यसको बृहत अर्थ लाग्छ । श्रीमान–श्रीमती, केटासाथी या केटीसाथी मात्र नभई परिवारका अन्य सदस्य, गुरुजन, इस्टमित्र, आदर्श व्यक्ति, पशुपन्छी, वस्तु, प्रकृति इत्यादीसँग पनि गहन प्रेम हुन सक्छ । प्रेम एक यस्तो अनुभूति हो, जसले दिव्य आनन्द र खुसी प्रदान गर्छ । प्रेमीको उपस्थितिमा लामो समय पनि क्षणिक लाग्छ भने हरेक समय महोत्सव लाग्न थाल्छ ।
आजभोलि सुन्नमा आएको प्रेमको अर्को स्वरूप आत्मा साथी जसलाई अंग्रेजीमा सोल मेट भनिन्छ त्यो पनि प्रेमको अर्को विशिष्ट रुप हो । आत्मा साथी त्यो व्यक्ति हो, जसको उपस्थितिमा जीवन अत्यन्तै सुन्दर, गुणस्तरीय र सफल अनुभूति हुने गर्दछ । आत्मा साथी आफुमा त्यति गुनले युक्त नहुन सक्छ तैपनि उसको सानिध्यताले अर्कोको जीवन सफल भैरहेको हुन्छ ।
हरेक व्यक्तिको आ–आफ्नै आत्मा साथी हुने गर्दछ । आफ्नो जीवनमाको आत्मा साथी हो भनी पत्ता लगाउन सकियो भने जीवन सहज हुन सक्दछ । यहाँ केहि बुंदा प्रस्तुत छन् जसले हामीलाई आफ्नो आत्मा साथी पत्ता लगाउन मद्दत गर्ने छ ।
१. हुन त आत्मा साथी को हो भन्ने पत्ता लगाउने कुनै भौतिक साधन छैन तर यदि हामीले आफ्नो अन्तर आत्माबाट रुचाइएको र जसको उपस्थितिमा भावनात्मक आनन्द, स्वतन्त्रता, उर्जाशील आभास हुन्छ भने त्यो व्यक्ति नै आत्मा साथी हो ।
२. हजार मित्र बराबरको एक साथी जसले हर पल साथ सहयोग गर्छ, प्रेम दिन्छ भने त्यो नै आत्मा साथी हो ।
३. जोसँग बस्दा, सुगम दुर्गम सहज असहज जे जस्तो ठाउँ परिस्थितिमा पनि आफुलाई सहज आनन्दित महसुस हुन्छ भने त्यो व्यक्ति आत्मा साथी हो ।
४. जो व्यक्ति हाम्रो खुसीमा खुसी हुन सक्छ हाम्रो दुखमा दुखी हुन्छ भने त्यो व्यक्ति आत्मा साथी हो ।
५. हामी जस्तो छौँ, जे छौँ त्यसलाई जस्ताको त्यस्तै स्वीकार गर्न सक्ने र एक अर्कालाई सम्मानपूर्ण ब्यबहार गर्न सक्ने व्यक्ति नै आत्मा साथी हो ।
६. बानी, व्यवहार, रहनसहन फरक हुँदा पनि जीवनको मूल लक्ष्य एउटै छ भने त्यो व्यक्ति आत्मा साथी हुन सक्छ ।
७. जो व्यक्तिसँग निर्धक्कसँग आफ्ना कमी कमजोरी, गल्तीहरु, गोपनीय कुराहरु छलफल गर्न सहज हुन्छ र जसले ती कमिकमजोरीहरु थाहा पाएर पनि नकारात्मकता ल्याउँदैन र सदा साथ दिन्छ भने त्यो व्यक्ति आत्मा साथी हो ।
८. वैचारिक मतभिन्नता, खटपट हुँदा पनि यदि कसैले हाम्रो भलाइको नियतले काम गर्दछ भने पनि त्यो पनि आत्मा साथी हुन सक्दछ ।
९. प्रेम दर्शाउने आफ्नै तरिका हुन सक्छ । बिना शब्द शारीरिक हाउभाउबाट, मुखको अभिव्यक्तिबाट पनि यदि कसैले हाम्रो मनको कुरा बुझ्न सक्षमता राख्छ र मनस्थिति बुझेर ब्यबहार गर्छ भने त्यो व्यक्ति आत्मा साथी हुन सक्छ ।
१०. यदि कसैले हामीसँग सम्बन्ध गाँस्ने क्रममा पूर्ण विश्वास राखी शंका, उपशंका, रिस, राग, द्वेष, अहंकार, इष्र्या, घमण्ड जस्ता नकारात्मक भाव राख्दैन भने त्यो व्यक्ति आत्मा साथी हुन सक्छ ।
११. छोटो अवधिमा पनि यदि कोहि अत्यन्त नजिक हुन्छ, एक अर्कामा समर्पित हुन्छ, आदर सम्मानको भाव हुन्छ, प्रेम हुन्छ, र त्यो व्यक्ति नयाँ जस्तै लाग्दैन जन्मौंजन्मदेखि चिनेको जस्तो आफ्नोपनको महसुस हुन्छ भने त्यो आत्मा साथी हुन सक्छ ।
१२. जो व्यक्तिले न केवल हामीलाई वल्कि हामीसँग सम्बन्धित सम्पूर्णलाई उही सम्मान गर्छ, सबैसँग हेलमेल गर्न सक्छ र हामीलाई सबबाट टाढा गर्दैन भने त्यो व्यक्ति पनि आत्मा साथी हुन सक्छ ।
यी विविध गुणले युक्त व्यक्ति यदि हाम्रो जीवनमा छ भने त्यो व्यक्ति हाम्रो लागि बहुमुल्य उपहार हो भगवानको तर्फबाट। त्यसको पहिचान गरेर अपनायौं भने साँच्चिकै हाम्रो जीवन धेरै सहज र आनन्दित हुन थाल्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)