![](/wp-content/uploads/2022/12/Screenshot_20221223-211302_Gallery-780x470.jpg)
सुन न बा, दिएकी छैनन् केही कमी हुन आमाले तर तिम्रो अभाव मेटाउन सकिनन्
![](/wp-content/uploads/2022/09/20220911_231643-1-1024x657.jpg)
बा
सुप्रिया खनाल
आज अलिकति भए पनि
दिलखुस भएको छ
सानो खुड्किला पार गरेको
महसुस भएको छ
सायद त्यही भएर होला
तिम्रो यादले अत्ताइरहेको छ
कास्, तिमी हुन्थ्यौं भन्ने कुराले सताइरहेको छ ।
सानो नै सही खुसी त आको छ
बा
तिमीसँग यो पल साट्न मन लाको छ
अहँ, हामीले तिम्रो न्यानो काख पाएनौं
हामीभन्दा स्वर्ग प्यारो थियो र ?
किन तिमी कहिल्यै फर्केर आएनौ ?
यथार्थमा सबै सपना भइदिएको भए
तिमी पनि हामीमाझ रहिदिएको भए
हाम्रो पीडामा दुखी अनि खुसीमा साथ हुन्थ्यौं होला
मायाले सुम्सुम्याउँदै यो निधारमा चुम्थ्यौ होला
सुन न बा,
आमाले सिउँदोको दाग मेटाउन सकिनन्
भावीले लेखेको भाग मेटाउन सकिनन्
अहँ, दिएकी छैनन् केही कुराको कमी हुन
तर पनि तिम्रो अभाव मेटाउन सकिनन् ।
बा,
आज सम्मान भएर पनि शान छैन्
खुसी छु तर पनि
मेरो ओठमा मुस्कान छैन
आज पीडित मनले
पीडामा छट्पटिदै सोधिरहेछ
खोइ तेरो शिरको सम्मान कहाँ छ ?
तँलाई जन्म दिने भगवान कहा छ ?
झरिरहेछ आँशु, मन रोइरहेछ
तिम्रो न्यानो स्पर्शको अभावमा
आँशुले परेला धोइरहेछ
पाकिसक्यो दिल त बस्,
शरीर काँचो छ
जहाँ भए पनि दिइराख्नु है
मलाई तिम्रो आशीर्वादको खाँचो छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)