उमेर मात्र होइन, उमेरसँगै थपिएको जिम्मेवारी अनि कर्तव्य नबिर्सनु

घरमा लक्ष्मी भित्रिएकी दिन

बसन्ता पोख्रेल
धुर्कोट १, नयाँगाउँ, गुल्मी

पुस एक गते जन्मिएकी मेरी बहिनी ।

आमालाई बेथाले च्यापेको हो कि चिसो लागेर बिरामी भएको भन्ने दोधार समय । एकातिर तातो–तातो सुप खुवाउने थिए भने केहीले आगो ताप्दै थिए । केही भने के जन्मिन्छ भनेर सुइँको गरेका थिए होला । भन्नेहरुले यस पाली पनि छोरी भनेर मुख खुम्च्याए होलान् । तर घर परिवारमा खुसी छाएको दिन । घरमा लक्ष्मी भित्रिएकी दिन । नाम रहयो लक्ष्मी । देख्दा मायालु, हेर्दा बोल्ने जस्तै । मुखमा टुलुटुलु हेरेपछि काका खुसी हुँदै ममता भन्दै मायाले बोलाएपछि लक्ष्मीसँगै ममता नामाकरण भयो ।

उमेर उस्तैउस्तै । त्यसैले होला, खासै याद आएनन् पलहरु । याद आउँदा इंडियाबाट आउने बहिनी, परीक्षा लिने म ।

आप का नाम क्या है ?
जवाब दिन्थी मिठो आवाजमा, मेरा नाम ममता है ।

रातो र सेतो मिसिएको फुर्के जामा लगाउँदै आएकी । आउने छिमेकी र मावलीलाई आँखा ढोप्न लगाई गीत गाउँथी, जापान टोकियो, मैले चिठी पठाएको थिए नि, कता रोकियो ?

यति सुनेपछि ताली बजाएर फुरुक्क पार्थे । अब कुरा स्कूलको, अघि पछि हुँदै पढियो । न मिल्थ्यौं न एक अर्कोलाई परेको समस्या देख्न सक्ने हामी । कस्तो अनौठो सम्बन्ध दिदीबहिनीको । एउटालाई कसैले केही भन्दिए अर्कोको मन् दुख्ने । सानोदेखि ठूलो हुँदासम्म हामीबीच परिवारिकदेखि दिदित्व–बहिनित्वमा जसरी माया साथ सपोर्ट भयो, त्यो त्यसरी नै होस् ।

ए छोरी पो भनेर हेरकालाई छोरी होस् त फलानाको जस्तै भनेर आमा बुवाको नाम आउने गराउनु । ठूलो मान्छे होइन, असल र उदाहरणीय व्यक्ति बन्नु । संस्कार नबिर्सनु । न्यायको पक्षमा बोल्नु । उमेर मात्र होइन, उमेरसँगै थपिएको जिम्मेवारी अनि कर्तव्य नबिर्सनु ।

जिन्दगी रंगमंच जस्तो रंगीन बनोस् । थपिएको उमेरसँगै आजको बिशेष जन्मदिनमा यही शुभेच्छाका शब्दसहित शुभआशीर्वादसहित शुभकामना ।

भगवानले सधैं तिम्रो रक्षा गरून् । लक्ष्मीको मुहारमा जसरी मुस्कान देख्न पाइयोस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button