मिस प्याड दिनुस् न, म मिन्स भएको छु

मेनुका शर्मा

“मिस मलाई प्याड दिनुस् न म मिन्स (महिनावारी) भएको छु”, नडराई अनि नलजाई विद्यालयमा किशोरी छोरीहरुले हामीलाई भन्दा अत्यन्तै खुशी लाग्छ ।

बिचरा नै थियौँ हामी,अहीले जस्तो टिभि, नेट ,ईन्टरनेटको सुविधा उपलब्ध थिएन । आज जस्तो घर-घरमा सञ्चारका साधन, आफ्नो हातमा मोबाईल सेवा थिएन । रेडियो बाट सम्पूर्ण जानकारी पाउन सक्ने अवस्था नै थिएन । पत्र पत्रिका प्रकाशन काठमाडौँमा मात्र हुन्थ्यो, भनुँ न हरेक कुराको जानकारी सजिलै पाउन धेरै मुश्किल हुन्थ्यो ।

साँच्चै भन्नुपर्दा त्यसबखत स्यानिटरी प्याडको बारेमा राम्रोसँग जानकारी नै थिएन कतिलाई केही नै थाहा थिएन जस्तै यसमा म पनि पर्छु, कतिलाई थाह थियो होला तर बोल्दैनथे यसको बारेमा त्यो बेला लाज मान्थे खुलेर बोल्ने हिम्मत कसैको हुँदैनथ्यो । ऊ बेलामा पनि अस्थाई साधन ढालको बारेमा जानकारी टोल टोलमा प्रचार प्रसार हुने गर्थ्यो तर स्यानिटरी प्याडको बारेमा खुलेर कुरा गरिंदैन थियो ।

आज जस्तो भए कति आनन्द हुन्थ्यो होला विद्यालय पुग्नलाई,आज विद्यालयमा आफूले नै किशोरी छोरीहरुलाई नि:शुल्क महिनावारी प्याड वितरण गर्दा कति भाग्यमानी छन् यी नानीहरू, विद्यालमा नि:शुल्क प्याड पाउँछन् ।

जानकारी अनि सचेतना नभएकै कारण म लगायत कैयौ किशोरी छोरीहरुले महिनावारी हुँदा धेरै समस्या झेल्नु परेको थियो ।हामी विद्यालय जाँदा हिँडेर नै जानुपर्ने, टाढा नै थियो । अरुबेला त केटाकेटी उमेर जसरी पनि विद्यालय पुगीहाल्थ्यौं,तर महिनावारी हुँदा धेरै मुश्किल हुने गर्थ्यो । हिजो हामी महिनावारी हुँदा थाहा पाउन हुँदैन दाजुभाईले,बुबाको अगाडी देखा नै पर्दैनथियौ,लाज, डर, धक लाग्थ्यो ।

हामी बिद्यालयमा महिनावारी हुँदाको समयमा कपडाको प्रयोग गरिन्थ्यो, कतिजनाको त कपडा झरेर सवैको अगाडी हाँसो को पात्र हुनुपर्थ्यो । आज सबैले खुलेर पसलमा प्याड दिनुस् त भनेर किन्न सक्ने भएका छौं। सजिलोको लागी अनि सवैले बुझ्ने भएर पनि महिनावारी प्याडको बिक्री जहाँतहीँ पाईन्छ ।

आज धरै खुशी लाग्छ,महिनावारीको विषयमा छलफल, गोष्ठी अनि प्याड सम्बन्धी तालीम तथा जानकारी दिइएको हुन्छ । दाजुभाई अनि बुवाले समेत स्यानिटरी प्याड घरमा चाहिन्छ भनेर बोकेर आउनुभएको देखिन थालिएको छ,यो खुशीको कुरा हो ।

नेपाल सरकारले सरकारी बिद्यालयमा नि:शुल्क प्याड वितरण कार्यक्रम एकदम स्वागतयोग्य कदम हो । विपन्न वर्गलाई लक्षित गरेर चलाईएको यो अभियान विधायलमा अध्ययन गर्ने सम्पन्न, मध्यम, निम्न तथा सम्पूर्ण वर्गका किशोरी छोरीहरूलाई महिनावारी हुँदा पनि विद्यालय आउन- जान सहज बनाईदिएको छ ।

यो किशोरी छोरीहरुको लागी ज्यादै महत्वपूर्ण कार्यको थालनी हो, यसलाई निरन्तरता दिनु पर्छ ताकि कुनै पनि छोरी महिनावारी समयमा विद्यालय जान बाट वञ्चित हुन नपरोस् र आफ्नो स्वाथ्यको बारेमा जानकारी लिन र दिन सक्ने हुन सकुन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button