‘तिमी त छोरी हौ, अर्काको घर जाने जात’

खोसिएको खुशी

मिठु वाइवा
शब्द तथा चित्र

सृष्टिको बाहक नारी
आफ्नै सृजनाको अवतारहरु बाट पिल्सिरहेछन्
नियतमा नै खोट भएकाहरूबाट पिडामा पारिरहेछन्
माकुराको जालो झैं अदृश्य चिट्ठी कोरेर
आफ्नै घर आँगनमा अस्तित्वको लडाईं लडिरहेछन् ।

समाजले हरेक नारीलाई झुठो इज्जत र मानसम्मनको भारी बोकाएको छ
सहनशीलताको क्षमतालाई कमजोरीर ठहर्‍याएको छ
समानता, अधिकार र शक्तिको कुरा गर्नेहरुले पनि
चारकुनाको भित्ता पछाडि चरित्र हत्या गरेका छन्
सत्यलाई स्वाह पारेर पैसाले पापी जोगाएको छ ।

कहिले परिवारको नाम
कहिले खानदानको इज्जत
कहिले समाजको डर
कहिले बिनाअर्थ गलत र सहिको फलामे सिक्रीले बानेको छ,
‘तिमी त छोरी हौ’ भनेर मात्रै महिलालाई दुई पाइला पछाडि फ्याँकिएको छ
‘अर्काको घर जाने जात’ भन्ने शब्दले आफ्नैबाट टाढा बनाएको छ ।

परिवर्तन त आयो
तर परिवर्तन भित्र पनि कालो पैसे मसान छएको छ
चरित्रको त्रासै त्रासमा अनि आफ्नालाई हसाउँन खोज्दा
उनको खुशी खोसिएको छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button