
अछुतो म हैन आमा

प्रजिना खड्का
आमाले सबै ठिक गर्नुहुन्छ भनी भनेथेँ
आजसम्म जे जे कुरा भन्यौ, सबै कुरा मानेथेँ
तर आमा, आज मलाई रजस्वला भयो
पेट र ढाड दुख्यो र रगतको धारा खोला झैं बग्यो ।
तिमीले बुझ्छौ कि भनी त्यो मनको कुरा उतारेँ ओठमा
तर बुझ्न चाहेनौ तिमीले र तिम्रा पुरानो सोचले
झन धकेल्यौ मलाई त्यो अध्याँरो, चिसो छाउगोठमा
नहेर्न भन्यौ बाबालाई न हेर्न पाएँ भाई
लुकीछिपी हेर्दा मैले सयौं गाली आए ।
चिसो भयो गोठमा अनि ताप्न मन लाग्यो घाम
तर बाहिर बसी घाम ताप्दा तिमीले दियौ अलच्छीनाको नाम
१० दिनपछि निस्केँ म, सोच्छु कसरी ति दिनहरु कटाएँ
आमा थाहा छ तिमीलाई, म त्यहाँ हर रात रुदाँरुदै निदाएँ ।

मलाई त राख्यौ आमा, के बहिनी पनि बस्छे ?
सोच्नुस् त हामीलाई गाह्र्रो भएको दिन उसले के गर्छे ?
दिए होलान् तिम्रो दिदीले तिम्लाई छाउगोठमा बस्न
तर म दिने छैन तिम्रो ति पुराना सोच मेरी बहिनीमाथि पोख्न ।
डर लाग्छ, हरेक रात कतै पहिरोले पो पुर्छ कि ?
एक्लै हुदाँ कोई आई मेरो शरिर पो लुछ्न कि ?
हुदैन र पहिलो महिनावारी हुँदा उसलाई घरमा राख्न
समाजलाई बुझाउन अनि सत्य कुरा बोल्न
लाग्छ मलाई, अब हामी सबै उठ्नुपर्छ
महिनावारीमा हुने हिंसालाई अब जरैबाट उखेल्नुपर्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



