
देख्नलाई झरना तर पहरामा जुध्नु नै जीवन
झरना
दुर्गाकुमारी भट्टराई
हरिऔन, सर्लाही
झरना शब्द नै सुन्दर अति सुन्दर छ । हामीलाई सम्झदा नै मन फुरुङ्ग हुने झरना जसको दृश्य हेर्न मान्छे कयौं खर्च गरेर थाक्दैनन् । पहाडका खोलानाला, खोचँ आदीबाट ओरालो लाग्ने क्रममा बनेका हुन्छन् झरना । सामान्य अर्थमा भन्नुपर्दा प्रकृतिले दिएको अत्यन्त मनोरम दृश्य हो झरना ।

झरनाले कल्प, कष्ट, दुःख सहेर हामीलाई कति धेरै सुख दिएको छ, हामी कल्पना पनि गर्न सक्दैनौ । झरना जो अनेक खोला, खोल्सामा रहेका ढुङ्गा, मुढा, काठ अनि अप्ठ्यारो बाटो नभनी कसरी आफ्नो तिब्र बेगका साथ अन्धधुन्ध बाटो बनाई बगिदिन्छ, जुन बहाब देख्दा हामी कति खुशीका साथ क्यामेरामा आफ्ना तस्बिर कैद गर्न आतुर हुन्छौ तर त्यो झरना कति दुःखका साथ आफ्नो गतिमा बगिरहेको हुन्छ । बडेमानका ढुङ्गामा ठोक्किँदा अनि काँडैकाँडाका बीचमा बाटो खोज्दै कुद्दा कति कष्ट, कति पिडा हुन्छ, हामी सोच्दैनौ तर उस्को दुखिरहेको जीवनको बहाव र उस्को वेगको त्यो चित्कार सुन्दा हामी खुशी हुन्छौ । बडो अचम्मको संसार छ हाम्रो, देख्नलाई झरना तर पहरामा जुध्नु नै जीवन । यो बुझ्नेलाई कति पिडा छ जीवन ।
फेरि पनि आफ्नो समयमा कति पनि दुःख नमानी कुदिदिन्छ, अविरल बगिदिन्छ झरना, जस्को मनोरम दृश्य हेर्नका लागि लाखौँ, हजारौ खर्च गरेर थाक्दैनौँ हामी, आनन्द लिन्छौं, सामाजिक सञ्जालमा पस्कन हतार गर्छौं ।
कति झरनाले बर्षायाममा सुन्दरता प्रदान गर्छन् त फेरि हिउँदयाममा सुस्त र मन्द गतिमा आफ्नो दुःख लुकाउदै सुक्दै र लुक्दै जान्छन् । यो सुक्नु र लुक्नुमा पनि कति फरक छ जीवन । आ–आफ्ना भोगाई र जुधाईका साथ फेरि पनि प्रकृतिको देन हो जीवन ।
झरना जस्तै सुन्दर बनोस् हामी सबैको जीवन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



