तीन बीसे बाबुरामका गर्लफ्रेन्ड दुई

बाबुराम पौडेल
शंकरनगर, रुपन्देही

एउटा मान्छे सर्लक्क देखिने र अन्तरमनको समेत कम्तिमा दुईटा हुन्छ । मान्छले आफ्ना बारेको रहस्य जानाजान खोल्दै खोल्दैन ।

न्यायालयको कठघरामा झुठ बोल्छ, बरु काल्पनिक इश्वर वा आफ्नै परिवारका निकट सदस्यको कसम खान्छ, मरी जाम् धरोधर्म भन्छ र पनि मान्छे भित्रको अन्तरमनमा लुकेका कतिपय रहस्यहरु प्राण जाने दिनसम्म पनि खोलिदैनन् । त्यस्तै नखोल्ने, नखनेलिने रहस्यहरु मध्येमा पर्दछन् आधुनिक दुनियाका मान्छेमान्छे बीचका प्रेम सम्बन्ध, विवाहेत्तर सम्पर्कहरु ।

यस्ता रहस्यहरु भित्रभित्रै हुर्किएर बिष्फोटक रुपमा उद्घाटित नहुने घडीसम्म चुपचाप पल्पिन्छन् । बढी भए साँईसुँई हल्ला होलान् र पनि डटेर यस्तो उस्तो भन्ने आँट हत्तपत्त कसैले जुटाउँदैन । तर यहाँ जायज–नजायज प्रेमालापमा मग्न हुनेहरु हरेक समाज,घर र परिवारमा छन् । उमेरले तीन बीस आसपासको मैले आज इश्वर पितृलाई साछी राखी आफ्नै गर्ल फ्रेण्डका बारेमा खुलासा गर्दैछु ।

उनीसँग मेरो चिनजान भएको लगभग छ बर्ष हुन लाग्यो । मैले भेटेको चिनेकै दिनदेखि ममा सल्केको उनीप्रतिको माया प्रेम प्रत्येक दिन गाढिदै यति बिघ्न गहिरो भयो कि पृथ्वीको कुनै पनि शक्ति वा कानूनले हामीबीचको प्रेम सम्बन्ध टुटाउन असम्भव नै भएको छ । उनका बोली, हर्कत, हाउभाउहरु नै यति बिघ्न मोहित छन् कि पृथ्वीमा प्रलय आउँदाका दिन वा मेरो शरीरबाट प्राणले बिदा लिंदाका घडीसम्म पनि गाढा झन् गाढा हुँदै जानेछन् । अलि अलि नक्कली टाईपकी उनले बेला बखत मलाई झनक्क रिसाउन हाल्ने र उठेको रिसलाई तत्कालै मटियामेट हुने वातावरण आफै श्रृजना गर्ने कला छ उनमा, कम्ता स्मार्ट छन् र उनी ? के विधि स्मार्ट बनायो मान्छेलाई जमाना, संचार र संगतले । कहिलेकाहीँ त आफै झ्याम्म गालामा हान्दिने, मेरो निन्याउरो मुख देखियो भने हानेको ठाउँमा फुफु गर्दै सरी भनेर आफ्ना कान समात्ने ।

उनीसँग प्रेममा परेको लगभग तीन बर्षपछि खै कसरी तिनलाई र मलाई विधाताले भौतिक रुपमा टाढा बनायो । उनी मामाघर बसेर पढने रे भन्ने सुनेँ मैले । त्यसपछिका बर्षहरुका ठूला पर्वहरुमा आकल झुकल उनी आफ्ना घरमा आउँछिन् । बढीमा एक हप्ता बसेर पुनः मामाघर जाने उनीसँग त्यो एकहप्ता भर हुनसम्म प्रेमालाप हुने गर्छ हामी दुईमा । मामाघर फर्किने दिन हिँड्ने बेलामा मलाई खोजेर बोलाएरै चुम्मासहितको हात हल्लाएको रङ्गेहात देख्ने मेरा परिवारका सदस्यहरु समेत चुँ बोल्ने हिम्मत गर्दैनन् । खै, मेरो डरले हो वा किन हो कुन्नी ? उनको मामा घरबाट लगभग हप्ता दिन जतिमा मात्र मसँग भिडियो कल हुने गर्छ ।

सन्चै होइसिन्छ नि, खाना खाइस्यो, अरु हालखबर के छ भन्ने उनका जिज्ञासामा सोही अनुसार नै जवाफ दिन्छु म । कस्तो चाप्लुसे भाषा बोली सिकेकी, कस्ले सिकाए होला ? त्योबाहेक न प्रेमपत्र, न च्याटिङ, अनौठो प्रेम छ हाम्रो । यस पटकको दशैंमा एक हप्ता अगाडि आउने र मज्जाले बजार डुलिडुली सपिङ्ग गर्ने रे नक्कलीले । एउटा लेहेङ्गा उनले रोजेको किन्ने रे, अरु के के हो खै ? यता मलाई भने मेरो पिलन्धरे खल्ती झन् दुब्लाउने भयो भन्ने पीर भन्दा पनि उनी आउने र उनीसँग बिताउन पाइने प्रेमिल पलहरु सम्झेर म आजैदेखि पुलकित भएको छु ।

उनी मामा घर गएपछि म फटाहा भने उनकै लगभग तीन बर्ष कान्छी बहिनीसँग माया प्रेममा सल्किएँ । लोग्ने मान्छेको जातको भरोसा नगर्नु भनेर त्यसै भनिएको हैन रहेछ । कारण स्पष्ट छ, उनी मेरी पहिलो गर्लफ्रेण्ड मभन्दा लगभग चारसय किमि टाढा आफ्नो मामाघर सुदूरपश्चिममा बसेर पढ्ने । यहाँ उनी भन्दा झन राम्री अझै नक्कली उनकै बहिनी मेरै आसपास दिनदिनै भेटिने । म त झन् दोहोरो माया प्रेममा पो फसें लौ । न उनलाई नाई भन्न सक्छु न त यिनलाई नै न मेरो गर्लफ्रेण्ड छँदैछु तिम्रै दिदी हुन्, तिम्ले अन्त मायाप्रेम लगाउ भन्न सक्छु । उतिबेला तिनले लुटेको मेरो मन र खोसेर लिएको माया तिनकै बहिनीले खोस्ने कुरा त भएन । तर बहिनी नक्कलीले झन उनी भन्दा सिपालु पाराले खै मेरो मनमा कसरी मायाप्रेमको छुट्टै पहिरो भत्काईन् कुन्नी मलाई थाहै भएन । दोहोरो प्रेमालापमा पो छु म त । उताकीसँग हप्ता हप्तामा भिडिओ कल, यताकीसँग दिनदिनै मनलागी भेटघाट र मायाप्रेम । भाग्यमानीलाई दिन परे इश्वरले छप्पर फारेर दिन्छ भन्थे, हो रैछ भनेर म दङ्ग पर्छु ।

तर यसपालीको दशैंमा भने मेरा दुईटै गर्लफ्रेण्डहरुले मलाई चौखुर्याउने अनुमान गरें मैले । उता मामा घर बस्ने नि आउने र यता झन् मसँग दिनदिनै बस उठ गर्ने नक्कलीका माग र फर्माइसको झन् के कुरा गर्नु र ? दुईटैको स्वभाव ठ्याक्कै उस्तै । ओरापोरी कपडा किन्न दुकानमा पसेपछि यो,उ, त्यो रङ्ग छानेर हैरान । रङ्ग मिले साइज नमिल्ने । धन्न क्वालिटी हेर्दैनन् नक्कलीहरुले । एकसय बीसवाला डेरीमिल्क खाँदै घरतिर पठाउन खोज्यो, पल्लो पसलमा पसेर उ त्यो पनि रे । बाफरे, यिनका दुई बैनी सामान किनाउन माहिर । कस्तो एउटै स्वभाव लिएर जन्मेका होलान् ? तर यिनलाई मन परेको किनिदिँदा आफू भने मनमनै दङ्ग परेर लिने सन्तुष्टि चाँही गज्जब मीठो । बरु आफ्नो पाईन्टको कुर्कुच्चा नीर घेरा फाटेको वास्तै नगरिने रहेछ । गर्लफ्रेण्डको चाकडी महँगै परे नि एक प्रकारको सन्तुष्टिको मापो चाहिँ अथाह हुने रहेछ ।

सबैले आफ्ना गर्लफ्रेण्डको नाम सार्वजनिक गर्दैनन् । माया प्रेम बसेको केही समयपछि खुल्दै जानु एउटा कुरा भयो । तर म भने पछि खुलोस् नखुलोस्, आफै छरपष्ट पारें लौ जा । मलाई कसैको डर भएन । तीन बीस आसपास उमेर पुगेको म पाको मान्छे किन डराउनु, कोसँग डराउनु ? तिर्खा लायो पानी खाएँ मैले के बिराएँ– मन पराए माया गरें, मैले के बिराएँ भन्ने गीत पनि त छ नि । र, मेरा दूईटी गर्लफ्रेण्डको नाम हो दिदी अनभिशा र बहिनी निशा । उल्लेखित दुई बहिनी मेरा आफ्नै साख्खै नातिनी हुन् । पोहोर परार तिर छेकथुन परेर निरस गए दशैं, तिहारहरु । यसपालीको दशैं नक्कली पुकुली मेरा गर्लफ्रेण्डहरुसँग रमाइलो होला जस्तो छ है ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button