
देखावटी क्रेजले एडिक्टेड टाइपटाइपका डाइलग
सलुजा बस्नेत
बुढा–बुढी संवाद
बुढीः सुनिसोन बुढा ! मैले नि आज फेरि फेसबुकमा फोटो पोस्ट गर्न खोज्दैछु । पहिलो कमेन्ट हजुरकै हुनुपर्छ नि फेरि ! अनि त्यहाँ लाइक रियाक्ट होइन, हार्ट रियाक्ट गर्नु ल बुढा र कमेन्ट चैं बबाल गरिसो र अन्तिममा ‘उम् उम् एमोजी’ पनि है !
बुढाः हैन बरु हार्ट रियाक्ट गर्दिउँला नि ! हुन्न ? कमेन्ट गर्ने हुँदा जे पायो त्यहि गर्नु भएन । मेरा नरनाता साथीभाइ सब छन् । फेरि तिमीलाई माया गर्छु भनेर किन संसारलाई प्रमाण दिनु पर्यो ? मैले जति गर्छु त्यो तिमीलाई थाहा छँदै छ नि !
बुढीः हो, तिनैलाई त देखाउन यत्रो परिश्रम गर्नु परेको नि ! त्यो पल्ला घरको दाहालको बुढीको पोस्टमा मैले अस्ति हजुरलाई देखाएँ नि कसरी तात्तातो कमेन्ट हानेको त्यस्की बुढोले । केहि त सिकिसो न हउ ! आफ्नी बुढीका लागि त्यति त गर्न सकिन्छ होला नि ! अनि बाबा बाँकी मलाई छोडिदिस्यो । पोस्टमा सबले केहि न केहि कमेन्ट गरिहाल्छन् । त्यस पछि त के चाहियो र कमेन्टको दोहोरी नै चलाउछु नि म पनि । अनि त लाईक र कमेन्टको बर्षा !
बुढाः ल ल ! नसकिने भो तिमीसँग । जे सुकै गर ।
बुढीः लव यु बुढो !
बहिनी–दिदी संवाद
बहिनीः सुन न रोजी, मेरो फोटो छ नि अस्ति क्या त रेस्टुरेन्टमा शिलाको बर्थडे पार्टीमा त्यो डाई मोड सेट लगाएको ? त्यो फोटोलाई तैले ‘वाउ’ भनेकी थिइस नि, हो त्यो मेरो फोटो पोस्ट हान न दिदी प्लिज अनि सुन न फोटो अलि जूम गर ल । त्यहाँ डाईमोड सेट अलि क्लिएर आओस् है । मैले त्यो फोटो खिच्न त्यो रेस्टुरेन्टको फोटोग्राफरसँग कम रिक्वेस्ट गरेको थिएँ राम तलाई के थाह ? झन् फोटो क्यान्डिड देखियोस् भन्नका लागि पचास पटक फोटो खिच्न लगाएवापत पाच सय टिप्स धरी दिनु परेको थियो मैले त्यो फोटोग्राफरलाई अनि त्यत्रो दुख गरेको छ फोटोको लागि भने केहि त देखुन् न हउ, रिस गर्नेहरुले मेरो पनि तुजुक !
दिदीः एक्कासी बिना केहि ओकेजन अब के चैं भनेर पोस्ट हान्नु त हउ बेला न कुबेला ?
बहिनीः मिसिंग माइ डियर सीस भनेर पोस्ट हान् न । म गुगलमा मिसिंगवाला बहिनीको राम्रो स्ट्याटस् सर्च गरेर कपी पेस्ट हानेर सब रेडी गरेर तँलाईं मेसेन्जरमा पठाई दिन्छु अनि मलाई ट्याग गरेर पोस्ट गर ल दिदी ।
दिदीः ल ल चाँडो गर, मेरो थुप्रै काम छ ।
बहिनीः लव यू दि ।
नन्द–भाउजु संवाद
नन्दः भाउजु भोलि मेरो जन्म दिन हो । थाहा होला नि ? फेरि हजुर त आफ्नै त बिर्सिने मान्छे । अनि त्यही भएर हजुरलाई सम्झाएको क्या । सुनिसो न, मेरो त्यो लोर्ड अफ ड्रिक्समा जाँदा खिचेको फोटो छ नि रेड स्कर्ट लगाको, हो, त्यो फोटो मैले मेसेन्जरमा सेन्ड गरिदेको छु अनि त्यो फोटोमा राम्रो स्ट्याटस हानेर दाई र मलाई ट्याग गरेर विस गरिसो है । फेरि प्रीतिको बर्थडेमा नराम्रो फोटो पोस्ट गर्दाको जस्तो टेन्सन नहोस् भनेर पहिला नै भनेको नि भाउजु । ल, भाउजु भोलि बिहान एकपटक सम्झाउँछु है फेरि ।
भाउजुः उ डिमाण्ड आइसको नन्द महारानीको अनि आफ्नो मन खुशीले पो पोस्ट गर्ने हो त । पोहोर साल आर्कीको फोटो नराम्रो पर्यो रे भनेर बबाल । अनि फेरि मेरो जन्मदिनमा चैं स्टोरीमा पो हाल्छन त खुरापातीहरु (मनोवाद) ।

सुनिता–रुपा साथीसंवाद
सुनिताः रुपा हिजोको तिजको फोटो हाल्दा नि मैले एडिट गरेको गरेको हाल है प्यारी ।
रुपाः ए मैले त हालिसकेँ त जस्ट तर सब एडिट गरेरै हो ।
सुनिताः ए ल ल मलाई ट्याग गरेउ नि ?
रुपाः गरेको छ हउ, चेक गर न ।
सुनिताः सुन न रुपा, त्यो सेकेन्डवाला चैं अलि एडिट पुगेन छ । आफ्नो मात्र हेरेर पोस्ट हानिछौ । मेरो हेर त, कस्तो बुढी बुढी आको छ्र, प्लीज कि एडिट गर कि डिलिट गर । चाँडो डियर ।
रुपाः ए तिमीलाई त्यस्तो नाराम्रो लाग्यो भने म डिलिट गर्छु नि त ।
सुनिताः थ्यांक्स् डियर ।
रुपाः कस्ती जेमराज र छे हउ, उसलाई ट्याग पनि गर्नु छ अनि उसले भनेको भनेको फोटो हाल्नु रे । मेरो पोस्ट उसको अडर (मनोवाद) ।
आमा–छोरी संवाद
आमाः नानी, भोलि आमाको मुख हेर्ने दिन । तिमीहरु आउन पनि एक लंका नै छ । अब के गर्छौ त ? बिहान फोन चैं गर ल । अनि सुन न नानी, फेसबुकमा नि त्यो रातो प्रेमनगर भाइरल सारी लगाको फोटो मेरो नाममा पोस्ट गरिदेओ है । के गर्नु यसो मेरा साथीभाइहरुले पनि हेरुन न भनेर नि ।
छोरीः हस् मम्मी । त्यो त भन्नै पर्दैन न नि । म हजुरलाई ट्याग गरेर पोस्ट गरिहाल्छु नि ।
आमाः लव यु छोरी ।
मामु–छोरा संवाद
मामुः बाबु, तिमीलाई थाहा छ भोलि के हो भनेर ?
छोराः सरप्राइज दिन मन थियो । हजुरले भानिहालिस्यो । क्या बोर । तर ठिकै छ मेरो गिफ्ट चैं सरप्राइज नै छ्र ।
मामुः बाबु, तिमीले मलाई केहि दिनु पर्दैन । बरु थाइल्याण्ड जाँदा त्यो समुन्द्रमा मलाई बाबाले बोकेको फोटो छ नि, हो त्यो पोस्ट गरिदेउ न प्लिज । मलाई त्यति भए पुग्छ ।
छोराः मामु मलाई खास पोस्ट गरेको मन पनि पर्दैन । बरु म भोलिको दिन एकदम स्पेसल बनाएर सेलिब्रेट गरिदिन्छु नि है्र ?
मामुः मैले तिम्रो लागि के चैँ गरिनँ र ? आज जाबो एउटा फोटो पोस्ट गर भन्दा यस्तो नाटक है ?
छोराः ओके मामु । गर्छु भोलि हजुरकै लागि भए पनि ।
आमाः लव यु छोरा अनि मलाई र बाबालाई ट्याग चैं गर ल बाबु ।
बुबा–छोरी संवाद
बुबाः छोरी अनि खोइ त आज सबले फोन गरे तिमीले त गरेनौ त ? झन् आज बुबाको मुख हेर्ने दिन । बिर्सियौ कि क्या हो ?
छोरीः उसो भए हजुरले फेसबूक हेर्नु भएको छैन ? झन् रातिको १२ बजे घन्टी लगाई लगाई पोस्ट गरेको त ।
बुबाः ए ए हो र छोरी अनि कुन फोटो ? त्यही मनकामना जाँदा दौरा सुरुवाल लगाएको वाला गरेउ नि ?
छोरीः अब त्यो त अगाडि नै भन्नु पर्थ्यो नि त । मैले त माइला दाइको जन्ती जाँदा सुट र गग लगाको वाला पो हालेँ त । सबले देखुन न हउ मेरो बा पनि कत्ति मोर्डन छन् भनेर ।
बुबाः ए ए भै गो उसो भा । त्यही त मेरी कान्छी छोरी आज कहाँ बेपत्ता भईन भनेको त, उता ठुलै योजना रछ र पो अनि ।
छोरीः अनि म कहाँ हजुरको छोरा जस्ती हो त बुवा ढोग गरेँ भन्ने ? जिन्दगी फेसबूकको अनुहार नदेखेको जस्तो । यसो लोकलाई आफ्नो फुर्तिफार्ती देखाउनु पर्छ क्या आजकाल बुवा ।
बुबाः ओक छ त । छोरी भनेको छोरी नै हो नि भनेर त्यसै मान्छेहरु भन्छन् त ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



