साथी त म जहाँ पुग्छु, त्यहीँ भेट्छु, आज मात्रै हजुर गलत साथी भेटेँ

प्रीति अर्याल

ला ! मैले भुसुक्कै पाे छुटाएछु, भदौ ९ गते नेपालनाम्चामा प्रकाशित ‘मार्मिक: खुट्टा छैनन् पाउजुकाे रहर‘ नामक अनुभुतीमा दुई पुरुष पात्र र ती किशोरी बीचमा भएको कुराकानी राख्न त । हजुरलाई नि याद त हाेला नि पहिलो र दाेस्राे पुरुषकाे बारेमा ।

किशोरीलाई पहिलो पुरुषसँगै सिटमा बसाले र आफू भने भिडमा उभिए । किशोरी धन्यवाद भन्दै यताउता हेर्दै लामो सास तान्दै भुईँमा लत्रिएकाे सल तानेर काखमा राख्दै थिईन् ।

पहिलो पुरुष: (किशोरीलाई हेर्दै) म केटी मान्छेलाई छुँदिन । त्यसैले तपाईंलाई तान्न सकिन ।

म त्यो वाक्यांश सुनेर छक्क परेँ । अनाैठाे लाग्यो । अचम्मित भएँ र कताकता रिस पनि उठ्यो । मैले मनमनै भनेँ ‘त्यसको बुढी पनि केटी हाेला नि, केटासँगै सुतेर पाँउदाे हो बच्चा पनि, त्यस्तो नाटक । तपाईं आफै साेच्नुस् न केटी मान्छेलाई नछुने रे, (मुसुमुसु हाँस्दै) उफ् ! त्यस्का नाटक ।’

मैले किशोरीलाई हेरिरहेँ, विचलित थिइन् । आँखाभरि आँसु थियोे । साेचेँ, ‘पिडाले मन दुख्यो पनि हाेला (लामाे सुस्केरा हाल्दै) ।’

किशोरीले पुरुषलाई एकपटक हेरिन् र तुरुन्तै अर्कोतर्फ फर्किईन ।

पहिलो पुरुष: (किशोरीलाई नै हेर्दै) यस्ता मान्छे त मरे नि भैहाल्याे नि, बाँचेर के अर्थ ! के काम !

सुनेर म भावुक भएँ । मन कटक्क काट्याे । पिडाले मुटु एकदमैसँग दुख्यो । मलाई त यस्तो भयो । हजुर कल्पना गर्नु त उनलाई कस्तो भयो हाेला ? न बाँच्दा पाल्नुपर्ने न मर्दा फाल्नुपर्ने किन त्यो पुरुषले ती किशोरीलाई त्यसरी वचन लगाउन पराे ? भित्रभित्रै कुहिएको मानसिकता बाेकेर हिड्नेसँग केही लाग्दैन रहेछ । उफ् ! कस्तो निर्दयी । मेरो गाला तातो भयो रिसले ।

बसमा भएका सबै यात्रु किशोरीलाई नै हेर्दै थिए र मैले पनि । किन किशोरी चुपचाप बसेकी ?, किन नबाेलेकी हाेला उफ् ! उनी बाेलुन भन्ने मेरो इच्छा थियोे । किशोरी आफ्नो हातको घडीमा समय हेर्दै थिईन् ।

मोवाइल खेलाउँदै किशोरी अचानक बाेलिन् । किशोरीको अनुहार मलिन थियोे भने स्वर काँपिरहेकाे थियो ।

किशोरी: म मरे पनि तपाईंले फाल्नु पर्दैन, बाँचे पनि तपाईंले पाल्नु पर्दैन भने यस्तो रुखाे वचन तपाईंले बाेल्न पाउनु हुन्न । यसरी अरुलाई दुखाइ तपाईं बाँचेको पाे के अर्थ भयो र ? अलिकति विचार गर्नुहाेला । यहीँ बसबाट ओर्लिदा लडेर आजीवन अशक्त हुन तपाईं पनि सक्नु हुन्छ । यो अहम् नदेखाउनु हाेला प्लिज !

पुरुष: तपाई साथी लिएर हिड्नु पथ्र्यो, यस्तो नसक्ने मान्छे । कहाँ हिड्नु भएको ?

किशोरी: (निधार खुम्च्याउँदै ) हैन, सधैं काे साथी पाईन्छ र ? कसैको लागि काेही साथी भएर आएको देखेकी छैन । मेरो साथी त म जहाँ पुग्छु, त्यहीँ भेट्छु । आज मात्रै हजुर गलत साथी भेटेँ । म अफिस जाँदैछु अहिले । अनि तपाईं नि ?

पुरुष: म पनि अफिस । कति पढ्नु भएको छ र ?

किशोरी: (सुस्केरा हाल्दै) हैन, जागिरै दिन थाल्नु भयो कि क्या हो ? ईन्टरभ्यु लिदै हुनुहुन्छ त (मुसुमुसु हाँस्दै) । मानविकीतर्फ दाेस्राे बर्ष । बिहान कलेज जान्छु, दिउँसो अफिस । हजुर कुन लेभलमा हो र ?

पुरुष: म पनि मानविकीतर्फबाट दाेस्राे बर्षमा । बिहान कलेज र दिउँसो अफिस ।

किशोरी: उम … ! भनेपछि तपाईं र ममा के फरक भयो र ? म मर्नुपर्ने, तपाईं बाँच्नु पर्ने … ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button