मार्मिकः खुट्टा छैनन् तर रहर पाउजुको

प्रीति अर्याल

हजुर साेध्दै हुनुहुन्छ नि लेख्न कसरी मन लाग्याे भनेर । हो, अरुको पिडा आफैले अनुभुती गर्नुपर्छ, आफ्नो जसरी, बेस्सरी मुटु दुख्नु पर्छ, चाेट पुग्नुपर्छ हृदयमा अनि लेख्न आउँछ । ल अब हजुर अनुभुती गर्दै सुन्नु है त ।

मन चसक्क दुख्यो कता दुख्यो दुख्यो, तर नराम्रोसँग दुख्यो । मुटुमा बिझाईरहयाे, थिचे झै भयो ठुलो ढुङ्गाले, गाह्रो भयो धेरै बेर (लामो सास तान्दै) सास फेर्न पनि अप्ठ्यारो भयो उनलाई देखेपछि पहिलोपटक । उनलाई देखेपछि मनमा अथाह माया लाग्यो, मायाभन्दा पनि सम्मान, इज्जत, सद्भाव जाग्यो । उनलेे कसैलाई भन्न नसकेर गुम्सेकाे एउटा रहर वा त्यो कलिलो मनको रहर मलाई भनिन्, म नि:शब्द भएँ, धेरै समयसम्म बिचलित भएँ र पिडा भयो ।

उफ् ! कस्तो गर्मी, धेरै दिनपछि घाम लागेर हाेला, पाेल्दाे छ यो घाम । म बाटोमा हिँड्दैछु । काठमाडौं पनि तराई झै तातेकाे छ । यताउता हेर्छु, मान्छेहरु हतारोमा फटाफट हिँड्दैछन् त के भन्नू, हतारहतार दाैडिरहेका छन् । सायदै बस स्टपबाट बस छुट्न लागेको हुनपर्छ । म पनि बस स्टपतर्फ भिड छिचोल्दै सकेसम्म छिटोभन्दा छिटो हिँड्दै छु । बस छुट्ने बेला भएको रहेछ । खलासी भाइ चिच्याउँदै थिए । बस छुट्याे भने समयमा अफिस नपुग्दा हाकिमकाे अँध्यारो अनुहार, अँध्यारो अनुहार पछाडिको डरलाग्दो ब्यङ्गय, हजुर कल्पना गर्न सक्नुहुन्छ । त्यसैले हाेला काेहि ठेलमठेल गर्दै बस चढ्दै थिए त काेहि ओर्लिदै ।

उनको रहरले म फेरि झसङ्ग हुन्छु, रनभुल्लमा पर्छु र पटकपटक हे ईश्वर भन्दै लामो सास तान्छु । म जहिल्यै झुटाे आश्वासन दिन्थेँ । तिम्रो रहर अवश्य पूरा हुन्छ । अर्को तीजमा लगाऊ ल भन्थेँ र म बेस्सरी रुन्थेँ, उनले नदेख्ने गरी । उफ् ! आज पनि म उनको रहरसँग ठाेक्किनु पर्ने हुन्छ । त्यस अवस्थामा म के गराै कसाै गराै बेचैनी र तनावग्रस्त हुन्छु ।

‘ओ भाइ, पख्नु न म पनि जाने हो’ भन्दै म बसमा चढेँ । महिला सिटमा गएर बसेँ । झ्याल खुल्ला रहेछ, फाेहाेर ठ्वास्स गन्हायाे, नाकबाट माक्स ओठमा खसेछ, माथि सारेँ । कपाल निधारदेखि मुखसम्म असरल्ल छरिदियाे झ्यालबाट छिरेको बतासले, मैले कपाल मिलाउँदै रबरले बान्दै अलिकति निधार तर्फ झारेँ ।

(लामाे सुस्केरा तान्दै) म झ्यालबाट बाहिर नियाँलिरहेँ । बस आफ्नै रफ्तारमा दाैडिरहेछ । उनले तीजको दर खाने, छमछमी नाच्ने निम्तो पठाएकी थिईन् । म त्यहीँ निम्तोमा जाँदैछु । एक मनले खुसी छु । उनीसँग धेरै समयपछि भेट हुनेछ । भेट्दा मन हर्षित हुन्छ र उर्जा मिल्छ । तर फेरि उनकाे रहर, उफ् ! म मरेतुल्य हुन्छु ।

बस राेकिन्छ चपल कारखाना नजिकै, यात्रु पर्खिरहेको हुन्छ । एकैछिनमा ‘Excuse me please मलाई समातेर भित्र तान्दिनु न म यो चढ्न सक्दिनँ । please तान्दिनु न’, यसाे भन्दै एक किशोरी बसकाे ढाेकामा उभिएकी थिईन् । मेरो ध्यान झ्यालबाट हटेर किशोरीतर्फ माेडियाे । शारीरिक अशक्त रहिछन् । किशोरीकाे अनुहार निकै निरीह देखिएको थियो । यसरी याचना गर्दै जिन्दगी चलाउन असाध्यै कठिनाइ हुँदाे हाे, अरुको असहयोगले राेकिने जिन्दगीको कस्तो यात्रा बिचरी ! हजुर पनि अलिकति अनुभुती गर्नु त ।

ढाेकाकाेे सिधै दुई पुरुष बसिरहेका थिए, उनीहरू नि उनै किशोरीलाई हेरिरहेका थिए । तर सहयोगी पाखुरा उठाउन सकिरहेका थिएनन् ।

पहिलो पुरुष: सेताे सर्ट, राताे टाई, कालाे सुटमा लगाएको थियो । हातमा कालाे झाेला, हेर्दा निकै आकर्षक भद्र देखिन्थे ।

दाेस्राे पुरुष: कपाल (डेड्लक) लट्टैलट्टा लामाे, थरीथरीका रङ्ग पाेतिएकाे, आँखीभुइँमा छेडेर मुन्द्रा लगाएको, माथिल्लो ओठमा नि छेडेर मुन्द्रा लगाएको शरीरमा गन्जी मात्रै आधा जस्तो शरीर त नाङ्गो देखिएको र टाटै टाटु खाेपेकाे, माला त झन कति हो कति घाँटीमा, नाडीमा, कम्मरमा झुन्डिएको, कस्तो मनै झसङ्ग हुने ! डरलाग्दाे !

‘Excuse me, तान्दिनु न please, म सक्ने भएको भए किन यसरी यत्रो बेरदेखि उभिरहन्थे र, यो मेरो रहर होइन बाध्यता हो ।’

मेरो ध्यान उक्त पुरुषबाट हटेर फेरि किशोरीतर्फ तानियाे । धन्न ! मान्छेमा मानवता त मरिसकेको रहेनछ । किशोरीलाई तान्न दाेस्राे पुरुष पात्र गए, म छक्क परेँ । किशोरीलाई पाखुरामा समातेर बिस्तारै तान्दै थिए । पाखुरामा समातेर बसभित्र किशोरीलाई तान्दा उक्त पुरुषको हात किशोरीकाे संवेदनशील अंगमा पुग्छ । मैले हेरिरहएँ, किशोरीकाे अनुहार नराम्रोसँग बिग्रेको थियोे । उनले थाहा पाएर पनि प्रतिकार गर्न नसक्नु उनको बाध्यता थियोे । उक्त पुरुषले नि गलत नियतले र नराम्रो भावले गरेको झै लाग्दैन । उनले आफू बसेकाे सिटमा किशोरीलाई बसाए । म यहाँनीर कसको गल्ती छुट्याउन असमर्थ भएँ । बस फेरि घुईकियाे ।

चावहिल चाेक आएछ, खलासी भाइ कराउँदै थिए, ‘ओर्लिनुस है पारीपट्टि राेक्दैन ।’

म ओर्लिएँ । भाडा बसभित्र दिएकोले म फटाफट बाटो क्रस गरेर गणेश मन्दिरतिर लागेँ । पाँच मिनेटपछि म उनको घरमा पुगे । ढाेका अगाडि चप्पलै चप्पल मान्छे धेरै रहेछन् । मैले ढाेका खाेले झ्याप्पै अगाडि परिन्, ‘नमस्कार दिदी’ भन्दै ।

मैले नमस्कारकाे जवाफ दिन नपाउँदै, एकै सासमा भनिन्, ‘पाउजु ल्याउनु भयो ? यसपटक पनि झुक्याउनु भयो भने म त हजुरसँग कहिल्यै बाेल्दिनँ, झन् हजुरसँग पाउजु लगाएर छमछम तीजमा नाच्ने भनेको त कहिल्यै नल्याई दिने !’

यति भनी सकेर उनी रिसाउदै गइन् । उफ् ! मलाई फेरि आघात पुग्याे, मुटु दुख्यो । ठुलो चुनाैती अगाडि आयो । हे भगवान् ! कसरी बुझाउँ म !

‘हिपदेखि तलबाटै दुईवटा खुट्टा छैनन् । घरमा त पुठाे घिसार्दै हिँड्छिन् । घरदेखि बाहिर कतै जानू पर्दा ह्विलयरमा जान्छिन् । नाच्न त नाच्छिन् पुठठाे घिसार्दै, जिउ मर्काई मर्काई, मुखमा पनि अनेकौं भावभङ्गीमा ल्याउँदै तर पाउजु … !’

पाउजु !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button