
राधा: असाध्यै सुन्दरी, कृष्णजीभन्दा जेठी
मेनुका शर्मा
‘कस्ती थिईन् होला कृष्णकी राधा ?’
भन्छन्, ‘असाध्यै सुन्दरी, कृष्णजी भन्दा उमेरमा जेठी हुनुहुथ्यो रे ।’
आज पनि कहिलेकाँही मनमा कुरा खेल्छ । हुन त जबदेखि बोध भयो, कृष्ण प्रणामी धर्म मानेको छौं, गलामा तुलसीको माला छ, घरमा राधाकृष्णको दिनहुँ सेवा पूजा गरिन्छ । अचम्म लाग्थ्यो, बिहे चै देवी रुक्मीणीसँग अनि प्रेम राधासँग ? सानोमा लाग्थ्यो, धोकेबाज ! रैछन् कृष्ण त । फेरि लाग्थ्यो धोकेबाज भए मन्दिरमा कृष्णसँग राधा किन ?
त्यसपछि बिस्तारै अलि बुझ्ने हुँदै जाँदा टेलिभिजनमा महाभारत, श्री कृष्ण हेर्न थालियो । त्यहाँबाट केही कुरा थाह भयो । हाम्रा विभिन्न धर्मग्रन्थहरुमा कृष्णको जीवनी सुरुदेखि अन्तिमसम्म लेखिएको छ भने राधालाई जब कृष्णले गोकुल छोडेर मथुरा आउनुभयो त्यसश्चात् कहाँ गईन्, उनको कुनै पनि घटनाक्रम थाहा छैन । सवै आ-आफ्नो हिसावले भन्छन्, कोही बिहे गरेर गईन् राधा भन्छन्,कोही लेख्छन् आजीवन अविवाहित रहेर कृष्णको प्रतिक्षामा जीवन बिताइन्, कतै अनेकौँ रोचक प्रसंग जोडिएका पाईन्छ । झन् आजकल टेलिभिजनमा देखिन्छ राधाको नयाँ नयाँ कुरा तर ती हाम्रो धर्मग्रन्थमा कहीं उल्लेखित छैन ।
मलाई राधा र प्रेम उस्तै-उस्तै लाग्छ । ‘प्रेम’ अढाई अक्षरको यो शब्दमा लाग्छ, सारा ब्रह्माण्ड नै समाहित छ । भनिन्छ प्रेमको यस्तो सागर हो, जति डुबुल्की मार्दै जानुहुन्छ, त्यति नै आनन्द आउँछ । न कहिले सुख्छ, न दुख्छ, न बग्छ सदा स्थिर रहन्छ । संसारमा जति दिए पनि नसकिने, कहिल्यै पुरानो नहुने, न पाईन भनेर गुनासो छ, न त गुमाउँछु भन्ने पीडा, सायद अपरम्पार छ र त ब्यापार छैन । राधालाई उल्टोबाट पढ्नुस् त धारा हुन्छ मतलब प्रेमको धारा । नाम सुन्दा पनि मनैमन ईज्जत सम्मान एकैसाथ पोखिएर आउँछ । अब कृष्ण गोकुल कहिल्यै फर्केर आउँदैनन् भन्ने जान्दाजान्दै, कृष्ण यो भौतिक संसारमा अर्काको पति हुन् भन्ने थाहाहुँदाहुँदै कृष्णकै खुशीमा आफ्ना खुशी देख्नु, जीवनभर प्रतिक्षा गर्नु नै प्रेममा त्याग र प्रेमको उदाहरण अनि प्रमाण यहाँ भन्दा के हुनसक्छ र ?
कृष्णजी पनि राधाजीलाई उत्तिकै प्रेम र सम्मान गर्नुहुन्थ्यो, बस् फरक यति थियो । भगवान् श्री कृष्णलाई पूर्णब्रम्ह परमात्मा भनिन्छ । उहाँ पूर्ण पुरुष हुनुहुन्थ्यो । यस धर्तीमा जबजब अन्याय र अत्याचारले सीमा नाघ्यो यस धर्तीमा प्रकट हुनुभयो । यस धरामा जन्म हुँदा परिस्थिति र समयको माग अनुसार द्वापर युगमा श्री कृष्णजीका जीवनमा धेरैमित्रहरू, सखी, गोपिनीहरु, सोह्र हजार एकसय आठ पटरानी थिए।कहिले मखन चोर त कहिले महाभारतमा सारथी बन्नुभयो । लोक कल्याणका लागी कयौं लिला गर्नु भएको कथा श्रीमद् भागवत महापुराणमा पाईन्छ ।
तथापि पनि भनिन्छ, हजारौंको भीडमा बस्नुहुन्थ्यो तर मनैमन् ‘राधा-राधा’ । अझै पनि के बिश्वास छ भने नी कृष्णभन्दा राधा नाम पहिला जप्दा कृष्णजी अत्यन्तै खुशी हुने कुरा उल्लेख गरिएको पाइन्छ । प्रेममा कति विश्वास अनि भरोसा थियो, उहाँहरुमा सुन्दा पनि कस्तो अचम्म, अद्भूत लाग्छ । उहाँहरुको सम्बन्ध, जगतलाई प्रेम सम्झाउँन आफूहरु अथाह प्रेमका बावजूद जीवनभरी एक अर्काबाट दूर नै रहनुभयो । सायद यो संसारलाई प्रेमको पाठ सिकाउन अनि प्रेममा विश्वास र भरोसा जगाउन थियो होला । र त, आज पनि घर घरमा पूजा हुन्छ ।
प्रेम नै पूजा अनि भक्ती हो, जहाँ निस्वार्थ समर्पणभाव हुन्छ । प्रेम र राधाकृष्णका वर्णन गरेर कहिल्यै सकिदैंन, यति बुझ्नुस्, बस् राधा नाम नै आफैमा सुन्दर छ, त्यसमा कृष्णसँगै हुनुहुन्छ ।
राधेकृष्ण राधेकृष्ण । जय श्री राधाकृष्ण ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
निकै राम्रो प्रस्तुति !