बाबाको पसिनाले होइन, आमाको आँसुले हुर्केको

भाग्यमानीमध्येको भाग्यमानी

एलिसा लिम्बू
कक्षा १२, कोशी सेन्ट जेम्स कलेज, इटहरी

यदि बाबा र आमामध्ये कुनै एकको नाम पुकार्नु पर्यो भने धेरैले सायद आमाकै नाम लिन्छन् । फेसबुक, टिकटकलगायत अन्य सामाजिक संजालमा नि आमाको जति गीत सायदै बाबाको सुनिँदो हो ।

धेरैले भनौला, आमा र बाबाको माया बराबर हुन्छ आफ्नु सन्तानको लागि । कसैले भनौला, आमाले बाबाले भन्दा बेसि माया गर्नुहुन्छ । कसैले भनौला, बाबाले धेरै माया गर्नुहुन्छ । कसैले भनौला, मलाई मेरा आमाबाबा दुबैले माया गर्नुहुन्न । सबैको मन न हो, जो जोले जे जे स्पर्श गर्न पाएका छन्, उनीहरुले त्यही भन्ने हो । जीवन त सबैको एउटै हो । बस्, त्यो जीवनको कथा मात्र बेग्ला बेग्लै हुने हो । कोहि आमा र बाबा दुबैको काखमा हुर्केका भाग्यमानी हुन्छन् त कोहि बाबाको काखमा मात्र हुर्केका भाग्यमानी त कोहि भगवानको काखमा हुर्केका भाग्यमानी त कोहि आमाको काखमा मात्र हुर्केका भाग्यमानीमध्ये को भाग्यमानी ?

बुझ्नेलाई आमाबाबाको माया महान्, भोग्नेलाइ आमाको । बाबाको पसिनाले होइन, आमाको आँसुले म हुर्केको । चार सन्तानलाई हुर्काउन मेरो विधुवा आमासँग सायद पसिनाभन्दा धेरै त आँसु नै थिए होला । हामी तीन बहिनी, एक भाइ । The 3 pillars of my life which carry every weight of mine to make me stand high; my sisters । म मेरा दिदीहरुको सपना अनि बाबाआमाको बुढेसकालको सहारा । सायद तीन बहिनीमुनिको एक भाइलाइ सबैले यहि भन्दा हो । भाग्यमानी हुनु त्यति मुस्किल छैन होला जति कि भाग्यमानीमध्येको नि भाग्यमानी हुनुमा छ । आफ्नु कहानीको हरेक खण्डमा म मेरो आमाको आँसु घोलिएको देख्छु । तर आज त्यही आमाको आँसुले म ओतप्रोत भएको छु ।

खै मेरो दुख त क भन्नू, आमा हुँदाहुँदै दुखको छायाले सायदै छुयो होला हामीलाई । तर आमाको पिडादायी कथा भने बाबाको मृत्यु भएको दिनमा खसेका आँसुले कोरिन थालेछ । भन्छन् नि, यदि श्रीमानको साथ श्रीमतीलाई मिल्यो भने उनले संसारको जुनसुकै युद्ध पनि जित्न सक्छिन् । तर आमाले त संसारको युद्ध त के पिडा पर्दा ऐया भन्ने साहस समेत गुमाइसक्नु भएको थियो । जोसँग गरी खाउँ र जिन्दगी बिताउँ भन्ने सपना देख्नु भएको थियो, उहाँले अदविदा नि नभनी सदाको लागि टाढा जानुभयो । त्यस दिन हामीले पनि आफ्नी आमालाई गहभरी आँसु र काँधमा बाबाको लास बोक्नुबाहेक केही गर्न सघाएनौँ । खुला कपाल छाडेर आफ्नु विरह पोख्दै गरेकी आमाको आखाबाट आँसु पुछ्दिनु त सकेँ तर नरुनु न आमा भन्ने साहस भने जुटाउनु सकिनँ । समय बित्दै गयो । बिस्तारी बिस्तारी पिडाको घाउ पनि भरिँदै गयो । दुखमा हात थामिदिने श्रीमान नभएता पनि दुखको आँसु खस्दा पुछिदिने चार सन्तान भने आमाको साथमा थियौँ । यहि सन्तानलाई हुर्काउने, पढाउने र ठुलो मान्छे बनाउने दृढताले होला बाबा नभए नि हाम्रो घरको छानो कहिल्यै चुहिएन, कहिल्यै भोको पेट सुत्नु परेन र नाङ्गो पाउ कहिल्यै हिँड्नु परेन । यति सुखमा आमाले हामीलाइ पाल्नु हुँदा नि खै किन हो मानिसको मुखबाट हाम्रो लागि विचरा, कठ्ठै जस्ता शब्दहरु निस्केको होला । हाम्रो खाँचो र आवश्यकता सबै आमाले यसरी पूरा गर्नु हुन्थ्यो कि हामीसँग उहाँप्रति कुनै पनि गुनासो हुन्न थियो । तैपनि किन होला दुनियाँले हाम्रो बिजोग देखेको ? मलाई अचम्म लाग्छ । माया त हामी आफुलाइ भन्दा धेरै आफ्नु आमालाई गर्छौ तैपनि लाठी टेकेर हिँड्नु र जीवनसाथीको हात समाएर हिँड्नुमा धेरै अन्तर हुन्छ । त्यही कारणले गर्दा पो हो कि फूपू बोजुले आमालाई ‘एउटा विदुर लाहुरे मिलाइदिन्छु, बिहे गर, तेरो छोराछोरीको नि भविस्य बन्छ अनि तँ नि सुख पाउछस्’ भनी प्रस्ताव राख्नु भएछ । तर आमाले सोझै त्यो प्रस्तावलाई नकार्नु भएछ ।

‘विवाह दुई चीजको लागि गरिने हो ।श्रीमानको माया र सन्तान पाउन जब कि ती दुबै अमुल्य चिज मैसँग छ । भलै मेरो श्रीमान मरेर गए पनि उनको प्रेम सदाबहार मेरो मुटुभित्र धुपको वास्ना झै मग्मगाइरहने छ । र, जिउने सहारा त मसँग ४ जना छोराछोरी छन्, जसलाई हुर्काउन मलाई कसैको सहारा चाहिँदैन र उनीहरुको मुहार हेरेरै भए नि म मेरो जीवन एक्लै काट्नसक्छु ।’

सायद आमाको यस्तै उत्तर सुनेर होला, मैले सुनेको फुपू बोजु अझै पनि आमासँग निराश हुनुहुन्छ रे । आमाको यो कथा सुनेपछि खै मुटु गरुँगो भयो भनुम कि हल्का भयो भनुम । सुखमय जीवन जिउने त्यस्तो सुनौलो मौका गुमाएर हामीलाई एक्लै हुर्काउने आमाको अविश्वसनीय साहस र एक आमाले आफ्नु सन्तानलाई गर्ने त्यस्तो कठोर प्रेमलाइ स्पर्श गर्दा मुटु अत्यन्तै गरुँगो भएर आयो । अर्कातिर, आफूसँग साँच्चिकै संसारको सबैभन्दा ठुलो योद्धा मेरो आमा भएकोमा मुटुभित्र एक प्रकारको शीतल हावा चलेर आयो । कता कता मेरो मनमा मेरी आमाको ठाउँमा यदि बाबा हुनुभएको भए सायद हामी धेरै पहिले नै टुहुरा भैसक्थ्यौं होला भन्ने कुरा आयो । म आज २४ वर्षको लाठे भएँ र पछाडि फर्केर हेर्छु, आखिर कसरी मेरी आमाले हाम्रो त्यत्रो खर्च उठाउन सक्नु भयो होला । खै कुन अदृश्य शक्ति होला हजुरसँग जस्ले मेरो विमार मैलेभन्दा अगाडि उहाँलाई थाहा हुँदो हो । हजुरलाई बयान गर्ने यो छोरासँग कुनै शब्द छैन तर किन हो, हजुरलाई स्पर्श गर्दा हजुरलाई अङ्गालोमा बेरेर रुन मन लाग्छ । एकान्तमा हजुरलाई सम्झन्छु र आफुले आफैलाई गर्वाङ्गित महसुस गर्छु कि म हजुरको छोरा हुँ । साँच्ची नै एक्ली आमाले हुर्काको म भाग्यमानीमध्येकै भाग्यमानी हुँ ।

यो कहानी मेरो होइन किनकी सायद म त जीवन बुझ्ने भाग्यमानीमा मात्र पर्छु यो कथाको पात्र जस्तो जीवन भोग्ने भाग्यमानीमध्येको भाग्यमानी म होइन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button