
बाजेलाई जमिनभित्र लुकाएपछि म कंगाल भएँ
बाजे ! म कंगाल भएँ
एलिसा लिम्बू
कक्षा ११, कोशी सेन्ट जेम्स कलेज इटहरी-९, सुनसरी
‘म जति धनी को छ र ?’ म मा सम्पत्तिको घमण्डको त ताज महल नै थियो होला सायद । म सबैलाई आफ्नो सम्पत्तिको धाक देखाउँदै ‘हेर ! म कति धनी छु’ भन्दै सुनाउँथेँ । हातको मैलो सुनको थैलो के गर्नु धनले भनेको ठिक रहेछ । जुन दिन मैले मेरो बहुमुल्य सम्पत्ति गुमाएँ, त्यस दिनदेखि म सायद सास थुनेर चुपचाप बस्न बाध्य छु ।
मैले मेरो अमुल्य सम्पत्ति गुमाएको नि आज एक महिना पो हुन लागेछ । मेरो त्यो अमुल्य सम्पत्ति सिमेन्ट र इट्टाले बनेको कुनै महल होइन । न टलक्क टल्कने सुन, चाँदीका गहना, न दिनभरी गन्दा नि नसकिने पैसा । मेरो अमुल्य सम्पत्ति त ती दुई पवित्र आत्मा थिए, जसको छाँयामा बसेर मेरो बाल्यकाल बितेको थियो । म धनी थिएँ किनभने मसँग आफ्ना सन्तानलाई भन्दा ती सन्तानको सन्तानलाई बढी प्रेम गर्ने मेरा ईश्वररुपी बाजे र बोजु (जोडी ढुकुर वा मायालु जोडी) हुनुहुन्थ्यो । उहाँ दुईको जोडी अगाडि त के रोमियो के जुलियट ? मेरो पनि ठुलो सपना थियो कि म पैसा कमाएर बाजे र बोजुको फेरि एकचोटि विवाह गराइदिने छु भनी । सोचेजस्तो हुन्न जीवनमा भनेको सत्य रहेछ ।
७४ वर्ष पुग्नु भएको मेरो बाजे पथरीयाको अप्रेसनमा पर्नु भयो । भगवानको कृपाले अप्रेसन त सफल रह्यो तर मेरो बाजे निको भने हुनु भएन । आफ्ना खुट्टा सार्न समेत कठिन परेको मेरो बाजेले जिउने आँट हारिसक्नु भएको थियो । घाममा लागेर कहिलेकाही उहाँको हात, खुट्टा सफा गर्दै गर्दा बाजेको ती नयनबाट चाउरी परेका गाला हुँदै मेरो हातमा खसेका मोतोको दानाले अझै मेरो मन ओसिलो बनाइदिन्छ । खाईहाङ नौले अन्तरे भनी आफुले आफैलाई नामकरण गर्नुभएको मेरो बाजेले रक्सी र जाँडलाई त्याग्नु भने सक्नु भएन । म मरे नि खाएरै मर्छु, लिसा भन्दै आँखाभरी आँसु बोक्नु भएको मेरो बूढो बाजेलाई मैले नि नखानु बाजे भनेर भन्न सकिनँ । तर म मान्छे बाठी थिएँ । त्यसैले जाउलो र औषधी खानु भयो भने मात्र रक्सी दिन्छु भनी बाजेलाई भनेँ । रक्सी खान हतारिएर भएभरको सबै गोली एकैपटक निल्छु झैं गर्नुभयो ।
सायद मेरो बाजेले आफ्नो मरणको आवास पाइसक्नु भएको रहेछ । उहाँ आफ्नो तेह्रथुमको घर जाने कुरा मात्र गर्नुहुन्थ्यो । पहाडमा बर्खा लाग्न आँटेको थियो । बाजेको स्यारसुसार गर्ने उता मेरा आमाबुबा धौधौ हुन्छ भनेर हामीले तरहरामा मै राख्न सोचेका थियौं तर बाजेको हालत अझ खराब हुँदै गयो । आफ्नो अन्तिम इच्छाको रुपमा उहाँले मलाई मेरो घर छिटो लग भन्नुभयो । काकाकाकीले बाजेलाई पहाड लगेको आठौं रात मेरो बाजेसँग अन्तिमपल्ट कुराकानी भयो । नौ दिनमा मलाई अनुभव भयो कि म नि अब धनी वर्गबाट गरिब वर्गमा झरेछु । जुन सम्पत्तिप्रति मेरो सबैभन्दा ठुला घमण्ड थियो, आज त्यो सम्पत्ति हावामै बिलाएको जस्तै भयो । साँच्चै नै अब त म गरिब भएँ, कंगाल भएँ ।
हुँदैन लास जहाँ हुन्छ सास
हुँदैन सास जहाँ हुन्छ लास
पिलिक्क आँखा खोलिदिने आस
हुँदोरहेछ देख्दा आफन्तको लास ।
साँझको आठ बजे हामी तराई (तरहरा)देखि पहाड (तेह्रथुम) हाम्रो घर पुग्यौं । मुलढोकाभित्र छिर्नासाथ बाजेको निधारमा टाँसेको कम्पनी पैसा र सर्लक्क परेको उहाँको शरीर देख्दा संसार नै शुन्य, शुन्य झैं लाग्यो । जुन हातले माडेको चाउचाउ खाने गरेको थिएँ, त्यही हात कहिल्यै नफुस्कने गरी मुठ्ठी परिसकेको रहेछ । म जुन खुट्टामा बसेर ढिकिच्याउँ खेल्थेँ, ती खुट्टा त बरफ झैं चिसो भइसकेको रहेछ । आफ्नो प्राणप्रिय बाजेको त्यस्तो अवस्था देखेपछि मेरो मनमा एउटै मात्र कुरा खेलिरह्यो । म मेरो बाजेको मुहार अबदेखि हेर्न पाउँदिनँ । यही कुरा मनमा खेलेर म बाजेलाई एकोहोरो हेरी मात्र रहेँ । उहाँबाट आँखा हटाउने फिटिक्कै नि मन थिएन तर थकित थिएँ र बाजेको गोडा छेउमै आफ्नो टाउको राखेर निदाएँ ।
भोलिपल्ट बिहान भएपछि मनमा अनौठो बेचैनी सुरु भयो, अब मेरो बाजे जमिनभित्र लुकाउन मात्र बाँकी छ ।
हरियो बाँसको डोलीमा कात्रो, फूल, पैसाले वरिपरि बेरेर बाजेलाई सिकुवामा निकालियो । अनि मलाई झन् मेरो मन समाल्न कठिन भयो । एउटा सेउलाले झिँगा धपाउँदै म बाजेको मुहारमा हेरिबसेँ । कतै लिसा भनी बोलाउनु पो हुन्छ कि ? त्यो पलमा बाजेलाई जति हेरे नि म अघाइनँ । उहाँलाई बेहुलाजस्तै सजाएको कारणले होइन, किनकि मलाई थाहा थियो, अब म चाहेर पनि बाजेको मुहार हेर्न सक्दिनँ । एक नाले बन्दुक पड्काउँदा मेरो बाजेको डोली घरबाट निकालियो । अब एक्लै जीवन काट्नु पर्ने मेरो बोजु लिम्बू भाषाबाट ‘घर-सर सबै छाडेर गइस्, मेन् ई’ भन्दै दाजुको अंगालोमा रुँदै हुनुहुन्थ्यो । बाजेको लास बोकेर चिहान वरिपरि चार पटक घुमायौँ ।
एक वृद्ध मानिसले अब आफ्नो बुबा, बाजे, काका, बडौँसँग अन्तिम बिदा माग है भनी भन्नुभयो । अन्तिम बिदा भन्ने शब्द सुन्नसाथ मलाई जीवनमा पहिलोपटक असाध्यै नराम्रो अनुभव भयो, आँखाभरि जमिएका आँसु लिएर म पनि बाजेको पाउ छोएर सायद अन्तिम बिदा मागेँ । आफ्नो बाजेलाई खाल्डोमा हाल्दै गरेको देखेर मलाई अन्तिम पल्ट बाजे हौ भनी गुहार्न मन लाग्यो र मैले गुहारेँ । दिदीहरुले मलाई सम्हाल्दै ‘अब बाजेलाई माटो दिनुपर्छ, एलिसा’ भन्नुभयो । आफ्नो प्राणप्रिय बाजेलाई दमन गर्ने माटो म कसरी दिन सक्नु र ?
२०७९ साल वैशाख १७ गते मेरो बाजे आफ्नो जन्म गतेकै दिन परलोक हुनुभयो र सोही वैशाख १८ गते मैले मेरो सबैभन्दा अमुल्य सम्पत्तिलाई माटोमुनि लुकाएँ र अब सम्पत्तिको नाममा बाजेले एक्लै बनाएकी विधुवा बोजु मात्र हुनुभएको आभास गरेँ ।
बाजेको काम सकेको पर्सिपल्ट म तराई (तरहरा) फर्किन भनी बिदा मागेँ । आमाले मलाई ‘पढाइमा ध्यान दिनु, जे हुनु भइसक्यो, पिर नलि’ भन्नुभयो र मैले मनमनै पिर लिने कारण नै त समाप्त भयो ममी !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)