
मेरो परिचय मैले मात्र दिन सक्छु
प्रज्ञा अर्याल
मेरो परिचय त केवल मैले मात्र दिन सक्छु
अरूले त मेरो आवरणलाई म सम्झन्छन्
केवल मैले चिनाएको म लाई मात्र चिन्दछन्
त्यसैले त मलाई मैले मात्र चिनेको हुन्छु
मेरो परिचय मैले मात्र दिन सक्छु ।
मेरो चित्र तिमीले यसरी कोर्दछौं
जसरी म हेर्न चाहन्छु
मेरो वर्णन तिमीले यसरी गर्छौं
जसरी म सुन्न चाहन्छु
त्यसैले त मैले मलाई मात्र चिनेको हुन्छु
मेरो परिचय मैले मात्र दिन सक्छु ।
म तिमीलाई त्यतिबेला साथ दिन सक्छु
जतिबेला तिमी मेरो मार्ग निर्देशनमा हिँड्छौ
तिमी मेरो आत्मीय त्यतिबेला बन्न सक्छौं
जतिबेला तिमी मेरो स्वार्थलाई अपनाउँछौ
त्यसैले त मैले मलाई मात्र चिनेको हुन्छु
मेरो परिचय मैले मात्र दिन सक्छु ।
तिमी मलाई प्रिय सम्झन्छौ होला
तर म तिमीलाई प्रतिस्पर्धी सम्झन्छु
तिमी मबाट विश्वास चाहन्छौ होला
म तिमीलाई योग्य ठान्दिनँ
त्यसैले त मैले मलाई मात्र चिनेको हुन्छु
मेरो परिचय मैले मात्र दिन सक्छु ।
मेरो मायारूपी मुखुण्डो तिमी देख्न सक्दैनौ
मेरो विश्वासरूपी बोली तिमी बुझ्न सक्दैनौ
मैले माखोभर नगनेको तिमीलाई पत्तै हुँदैन
त्यसैले त मैले मलाई मात्र चिनेको हुन्छु
मेरो परिचय मैले मात्र दिन सक्छु ।
मैले मेरो प्रभाव यति कसिलो पारिसकेको छु
मैले मेरो दायरा यति फराकिलो पारिसकेको छु
मेरो प्रभाव र दायरा अब तिमी चाहेर पनि तोड्न सक्दैनौ
मैले मेरो लौरो दरिलो गरिसकेको छु
त्यसैले त मैले मलाई मात्र चिनेको हुन्छु
मेरो परिचय मैले मात्र दिन सक्छु ।
मेरो अस्तित्त्व जोगाउन झुटको खेती गरिरहेछु
मेरो आडम्बर टिकाउन अरूको अडान तोडिरहेछु
म ननाििङ्गउँ, अरूलाई नङ्गाउँदैछु
त्यसैले त मैले मलाई मात्र चिनेको हुन्छु
मेरो परिचय मैले मात्र दिन सक्छु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)