ताराको आँखामा नेपालनाम्चा

तारा श्रेष्ठ
विराटनगर-६

नेपालनाम्चा अत्यधिक रुचाइएको अनलाइन पत्रिका हो । यो‌ पत्रिका लेखकहरुमाझ मात्र नभइ पाठकहरुमा पनि प्रिय बन्दै गएको छ । जनमानसको‌ ढुकढुकी बन्न सफल यो पत्रिकाले उदीयमान लेखक, कवि, कथाकार, निबन्धकारहरुका लागि प्लेटफर्मको कार्य गर्दै आइरहेको छ । सामान्य लेखदेखि मानव मनका कुराहरु, दमित इच्छाहरू, चाहनाहरु, कथा, कविता, मुक्तक आदिका माध्यमबाट पाठकको मनसम्म सजिलै पुर्‍याउने सेतुको कार्य गर्दै आएको छ नेपालनाम्चाले ।

विभिन्न विधाहरु पस्कने तौरतरिका, प्रस्तुति छुट्टै, रमाइलो र आकर्षक किसिमको छ । देशका, विभिन्न रमाइला, सुन्दर र विकट ठाउँहरु पुगेर त्यहाँका मानिसहरूले भोगेका विषयवस्तुको अन्तर्वार्ता लिई त्यसलाई प्रस्तुत गर्ने नेपालनाम्चाको शैली उत्कृष्ट र मनाकर्षक छ ।

पाठक तथा दर्शकलाई घरै बसिबसी ठाउँ बिशेषका स्वाद चखाउन निकै माहिर छ नेपालनाम्चाको यो पहिलो विशेषता पनि हो । आफ्नो लेख रचनालाई कसरी पाठकमाझ पुर्‍याउने भनेर अन्योलमा रहेका लेखकहरूलाई सजिलै उनीहरुको सृजनालाई छपाइ प्रकाशित गरिदिनु अर्को विशेषता हो । विभिन्न ठाउँबाट रेकर्ड गरेर पठाएका गीतहरु श्रोतामाझ पुर्‍याउनु, फरमाइसका गीत, मन परेका फिल्म, उपयोगी अन्तरवार्ताहरु जनमानसमा सजिलै पुर्‍याउनु र मानव मनका अन्योलहरु हटाइ प्रोत्साहन प्रदान गर्नु नेपालनाम्चाको अर्को महत्वपूर्ण खुबी हो ।

नेपालनाम्चाले विभिन्न ठाउँको बारेमा भिडियो तथा फोटो सार्वजनिक गर्दा पाठक ती ठाउँहरूमा पुग्न र दृश्यावलोकन गर्न लालायित हुन्छन् । यसो गर्नाले एक ठाउँको मानिस देशभित्रकै अर्को ठाउँमा पुग्दा आन्तरिक पर्यटन प्रवर्धन हुनका साथै आयआर्जनमा महत्वपूर्ण भूमिका पनि खेल्दछ । मानिस जिज्ञासु प्राणी भएकाले सूचना प्रवाह हुनासाथ ती रमणीय स्थलहरुमा पुग्न, दृश्यावलोकन गर्न र त्यहाँ फलेफूलेका खानाहरुको स्वाद लिन आतुर देखिन्छन् ।

पहिलो पटक मेरो ‘छोरी हुनुको यथार्थ’ नामक कविता फेसबुकवालमा पढेकै भरमा नेपालनाम्चाले प्रकाशित गरिदिँदा म अति रोमान्चित भएकी थिएँ । यही कविता प्रकाशनपछि नै मेरो नाता नेपालनाम्चासँग जोडिएको हो । त्यसपछि मेरा कविता, लघुकथा र अन्य लेखहरु प्रकाशित हुन थालेपछि ममा एककिसिमको आँट र उर्जा बढ्दै गयो । लेखन सीपलाई थोरै भए पनि मलजल प्राप्त भएको मैले महसुस गरेकी छु ।

सम्पादकीय टीमको सहयोगी भावनाले नेपालनाम्चा सबैको प्रिय साथी बन्दै गएको छ । यसको लचकता, सरलता र सहयोगी भावनाले भविष्य उज्वल देखिन्छ । नेपालनाम्चाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button