म छाेरी थिएँ र पाे तिम्री आमा बनेँ

कविता: छाेरी हुनुकाे यथार्थ

तारा श्रेष्ठ

छाेरी ! तिमी जब मभित्र लुकामारी खेल्थ्यौ,
लात्ती हान्यौ, कुत्कुत्यायौ
म आनन्दकाे अनुभूति पाउँथे ।

जब तिमी याे फराकिलो धरातलमा आयौ
चन्द्रमा मुस्कुराए
पवनहरु मस्किए
आँगनमा वसन्त पाउलिन थाले
फूलहरु मगमगाए
पालुवाहरु सरमले झुक्न थाले ।

जब तिमीलाई स्पर्श गर्थे,
म्वाईं खान्थें
दिनभरका थकान त्यसै त्यसै मेटिन्थे
मनभित्रबाट स्नेहका खहरे उर्लन्थे
जब तिमीलाई पिडा हुन्थ्यो
बेस्कन मलाई दुख्थ्यो
मुटुका धड्कन बढ्थे
छाती भतभती पाेल्थ्याे
रात त्यसै बित्थे
जब तिमी मुस्कुराउँथ्यौ
मेरा नशानशामा खुशी सिन्चित हुन्थे
म त्यसैत्यसै पुलकित हुन्थे ।

जब तिमी ताते ताते गर्न लाग्यौ
धरती डाेलाएमान हुन थाल्थिन्
जब बालसुलभ ताेते बाेल्यौ
मैना र सुगा झुम्मिन थाल्थे
मेरा गाेडामा घुघुती खेल्ने
ढाडमा घाेड्चढी
मलाई लाग्थ्यो तिमी सधैं यस्तै सानी छुनुमुनु बन
तर! तर! समय त्यस्ताे रहेन ।

Advertise
Hike & Write

तिमी बढ्यौ,पढ्यौ, ठुली भयौ
जब तिमी मेरा सहाराका लायक बन्यौ
आँगन सजिए, सहनाई बजे
तिमी सजियौ, डाेली सजिए
तिम्रो सपनाकाे राजकुमार आएर
तिमीलाई टपक्क टिपेर टाढा लगे
तिमी पराइ घरकाे शृंगार बन्यौ
रम्यौ, रमायौ
मेरा त गुँड खाली भए
बचेरा उडेपछि हुने शुन्यतामा जस्तै
म एक्लै भएँ ।

जब तिमी हाँस्दै हाँस्दै आयौ
तिम्रो ओठकाे मुस्कानमा
आफ्नो खुशी खाेज्न थालेँ
तिम्रो खुशीमा नै मेरा खुशी
रसाउन थाले
बिस्तारै छाेरी हुनुकाे यथार्थ बुझ्न थालेँ ।

मैले पनि डाेली चढेकै हाे नि
माइती छाडेकै हाे नि
अब पाे बुझे छाेरीकाे मर्म
किनकी, म छाेरी थिएँ र पाे तिम्री आमा भएँ
म छाेरी थिएँ र पाे तिम्री आमा बनेँ ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button