
चुनाव हारेका काकालाई भतिजीको खुलापत्र
आदरणीय काका
सादर नमन ।
‘हिम्मत गरेर मैदानमा उत्रनु नै जीवनको ठुलो जित हो’, हजुरले दिनुभएको ज्ञान मनन गर्दै छु आज । तर पनि जीतको खुसियाली मनाउन नपाउनुको पिडाले गर्दा, प्रत्यक्ष हजुरसामु यी भावनाहरू पोख्दै गर्दा शब्दभन्दा पहिले हृदय पोखिन्छ आँसु बनेर, त्यसैले पत्रमार्फत पोख्दैछु ।
पद, पावर र पैसाभन्दा ठुलो मानवीय मूल्य र मान्यता हुन्छ भनी हजुरलेनै सिकाउनु भएको हो । हजुरले आफ्नो जीवनमा कहिल्यै छल, कपट र धोखाको राजनिती गर्नुभएन । सधैं सेवाको भावले राजनीति गर्नुभयो । हजुरको उम्मेदवारी पनि यहि भावले प्रेरित थियो ।
चुनावको नतिजा आउँदै गर्दा आशा धेरै थियो । हजुरप्रतिको नकारात्मक नतिजाले केही पललाई पक्कै पनि हतोत्साही बनायो ।
आज देशभरका नतिजा विश्लेषण गर्दैगर्दा २२ वर्षका युवादेखिको विजयको खबर सुन्दै गर्दा, लाग्दैछ हाम्रो वडामा दाइ पुस्ताको जीत अस्वभाविक हैन ।
जहाँ जनता शिक्षित र जागरुक छन्, त्यहाँ उत्कृष्ट मध्येबाट सर्वोत्कृष्ट छनोट गर्ने प्रयास भएकै हो । दलभन्दा व्यक्ति हेरिएकै हो । राजनैतिक दलहरूका पछिल्ला कदमबाट जनता सँच्चै निराश भएका छन् । व्यक्तिगत स्वार्थका निम्ति, पद जित्नकै लागि दलको नीति नियम विपरितका तालमेलले जनता वाक्क दिक्क भएकै हुन् । दलका शिर्ष नेताहरूमा निहित दम्भका कारण आफ्ना भन्नेहरू नै टुक्रा टुक्रामा विभाजित छन् । व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न नसकेका नेताहरूप्रतिको आक्रोश मतमा पोखेकै हुन् जनताले । सायद यसैको चपेटामा पर्नु भयो हजुर पनि ।
तैपनि धेरैले हजुरलाई विश्वास गरेकै हुन् भन्ने कुरा झिनो मतान्तरले बताएकै छ । जसरी हिजोको दिनमा हजुरले पदमा नरहिकनै आफ्नो वडा र नगरवासीको हितको कार्यमा निस्वार्थ खटिनुभयो, त्यसैगरी भोलिका दिनमा पनि खटिनु हुनेछ । मनमा कुनै पुर्वाग्रह नराखी नगरको विकास, सुशासन र सुव्यवस्थाको निमित्त निरन्तर साथ, सहयोग र आवश्यक पर्दा खबरदारी गरिरहनु हुनेछ । जसरी हामीलाई कहिले ताली र कहिले गालीले मार्गदर्शन गरिरहनु भयो, त्यसैगरी युवापुस्तालाई मार्गदर्शन गर्नुहुनेछ ।
दाइ पुस्ताले पनि हजुरका उचित सल्लाह र सुझावलाई शिरोधार्य गर्नेछन् । युवाको जोस, जाँगर, नवीन विधि र प्रविधिमा जोडिएर हजुरका अनुभवले हाम्रो नगरको मुहार फेर्नेछ । नभए त फेरि समयले कोल्टे फेर्ने नै छ ।
जीवन गुजारा गर्नको लागि त बा, आमाको आशिर्वाद, हजुरको मेहनतको कमाई र सक्षम सन्तति छँदैछन् । अबको समय हजुरले चुनावमा पाएको मत र विश्वासको उच्च कदर गर्दै नगरको मात्र नभएर देशकै हितको निमित्त अर्पण गर्नुहुनेछ र सदा झैं हाम्रो परिवारको आस्था अनि आदर्श बनिरहनुहुनेछ भन्नेमा म पुर्ण विस्वस्त छु ।
हुनत यो पत्र गोप्य रूपमा पठाउनु पर्ने हो तर यसले एउटा साधारण नागरिकको अपेक्षा, उसको नजरले देखेको समग्र राष्ट्रिय राजनिती र निर्वाचन परिणामलाई प्रतिनिधित्व गर्छ भन्ने लागेर अनलाइन पत्रिका नेपालनाम्चामार्फत पठाउँदै छु । हजुर काका मात्र नभएर मेरो औपचारिक शिक्षाको प्रथम गुरु पनि हुनुहुन्छ । गल्ती भएको भए हजुरले सिकाएझैं दुवै हात क्रस गरेर कान समाई उठबस गर्दै माफी मागे है ।
हजुरकी स्नेहि भतिजी
विद्या खड्का
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)