जिरिखिम्तीको उकालो अनि स्कुलेहरु

एलिशा थाम्देन लिम्बू
म्याङ्लुङ ९, तेह्रथुम

पसिना पोख्नेलाई घाम दिन्छ
बाटो हिँड्नेलाई शितल
कर्म खोज्नेलाई बाटो दिन्छ
विरह गाउनेलाई सुसेली
मन बिसाउनेलाई चौतारी दिन्छ
अनि भविष्य खोज्नेलाई स्कुलसम्म डोर्याइदिन्छ
जिरिखिम्तिको उकालो ।

पिठ्युँमा भारी उकालो चढ्दा पसिना चुरुरु
कर्मले खाली के लेखिदियो मन रुन्छ धुरुरु ?

कुनै जमानाको एक प्रख्यात लोकगीत, जिरिखिम्तिको उकालो चढ्दा प्रायः धेरैलाई याद आउँछ । हलिमेलादेखी उभो मुन्टो परेको जिरिखिम्ती बजारसम्मको नाक ठोकिने उकालो बाटोलाई धेरैले जिरिखिम्तीको उकालो भनेर सम्बोधन गर्ने गर्छन् । अब इतिहास नै पल्टाएर हेर्ने हो भने त्यो उकालो बाटोले हजारौं चोला फेरिसकेको छ । धेरैको भन्नू छ कि तेह्रथुम र ताप्लेजुङमा मानव सभ्यताको सुरुवात भए सङ्सङ्गैको यो मुल बाटो हो र पहिले यो बाटोमा ताप्लेजुङ्गे बटुवाहरु प्रचुर रुपमा भेटिन्थे रे । लामो इतिहास बोकेको यो बाटोको सुरुवात जिरिखिम्ती डाडाबाट सुरु भएर कहाँ गएर टुङ्गिन्छ कसैलाई थाहा छैन तर यस्ले धेरै ओटा पहाड छिचोल्दै जान्छ भन्नुमा कुनै सङ्कोच नहोला । सायद एक हजारौं वर्ष बुढो मुल बाटो र एक सय वर्ष बुढो बाजे लगभग उस्तै उस्तै होलान् । फरक बस् यति हो कि बुढो बाजे जीवन भोगेर थला पर्नु हुन्छ भने बुढो बाटो धेरैको सुखदुःख भोग्नलाई जुगौदेखि थला परेको छ ।

यो उकालो बाटोमा जतिको विचित्र कहानीहरु त सायदै कुनै उपन्यासमा भेटिएला । खोरुङ्वा खोला हुदै वैकुण्ठ पुर्याउने हरियो बासको कथादेखि लिएर बिहे गरेर नयाँ दुनियासम्म पुर्याउने डोलिको सुन्दर कथाहरू, यो उकालो बाटोमा लाम्बद्ध रुपले कोरिएका छन् । घर परिवार छाडेर पैसा कमाउन जाने परदेशीहरुको आँसुले र परदेशीहरुको भारी बोक्ने डोको र तोक्माको पसिनाले यो उकालो बाटोको माटो धेरै ओसिएको छ ।

समयको वेग अनुसार भावीको कलमले यो उकालो बाटोको पानामा अहिले भने निक्कै कम नै मसि पोखिदिन्छ । गाउँ गाउमा पुगेका रोड र गाडीको सुविधाले सबैलाई नजिक ल्यायो तर त्यो बाटोलाई एक्लो पार्यो । यद्यपि यो बाटोका धेरै कहानीहरु लेखिनु छाडे पनि एउटा कहानी भने अझै नि कोरिनु छाडेको छैन । स्कुलेहरुको होहल्ला र खित्काको ध्वनिले बताउने गाथा अझै नि त्यो उकालोमा गुन्जी रहेको छ अनि त्यो कथाका पात्रहरुको भुमिका भने गैरी गाउँका केटाकेटीहरुले निभाउदै आएका छन् ।

सानोमा पाँच वर्ष र ठुलोमा १७ वर्षका केटाकेटीहरुको एक हुल बिहान बेल्का जिरिखिम्तीको उकालोलाई साथी दिन लाग्छन् । त्यो उकालो र स्कुलेहरुबिच जतिको घनिष्ठ दोस्ती त सायदै फिरफिरेको पवन र वसन्तबीच होला । कहिले हुस्सुसँग लुकामारी खेल्दै, कहिले पानीसँग लडाइ गर्दै त कहिले घामसँग रिसारिस गर्दै स्कुलेहरु एक घन्टाको उकालो हिडेर बल्ल विद्यालय पुग्छन् । घाँस पात गरेर खाना खाएर बिहान आठ बजे स्कुल हिडेका नानिहरु बेल्का पाँच बजे घर पुग्छन् । भर्खर स्कुल जान थालेका बच्चालाई भने त्यो उकालो सगरमाथाभन्दा कम लाग्दैन तर पनि दाजु दिदिको औला समाएर आँसु र पसिना चुहाउदै स्कुल भने पुग्छन् । बाटोमा फलेका ऐसेलु, मेहेल, आल्चा, नस्पाती, मल्ढेरु, कटुस, काल्गेडी, आरु जस्ता फलहरुले निर्देयी उकालोले खोस्नै लागेको सासमा एक सास थपिदिन्छ ।

त्यो बुढो उकालोले जस्तै, एउटा डेर सय वर्ष बढो वरको रुखले स्कुलेहरुको दिनहु बाटो हेरिरहेको हुन्छ । स्कुलेको होहल्ला सुन्नसाथ त्यो वरले जताततै फैलिएको पवनलाई सुसेल्दै त्यहाँ बोलाउँछ अनि राता राता गालालाई हम्की दिन्छ । कोहि वरको दाना टिप्दै उकालो लाग्छन् त कोहि वरको पातले हम्कदै । सुकेको घाटि र तातिएको अनुहारलाई तह लगाउन स्कुलेहरु दगुर्दै केशव दाजुको घरमा पुग्छन् र बढ्दै गरेको सासलाई वेवस्ता गरी घुटुघुटु पानी पिउँछन् । बाटोमा फुलेको फूल देख्न साथ फुलकुमारी हत्तपत्त टिपेर कपालमा सिउरिन्छे भने चकचकेले चै किक् हान्दै भचाई दिन्छ । भुराभुरी जङ्गल नै उचाल्दै आएको थाहा पाएपछि राम्री माइजु, आये है, गैरी गाउँले टोली मुस्कुराउँदै अरुलाई सुनाउँछिन् ।

समय अनुसार धेरै कुराले पालुवा फेर्छ तर त्यो जिरिखिम्तीको उकालोले कहिले फेर्न जानेन । बुबाहरुले जति पसिना बगाएर विद्यालय गए, त्यति नै पसिना बगाउँदै ढाडमा सात आठ केजिको धोक्रो झुन्डाएर छोराछोरी नि जाँदै छन् । कहिलेकाही ढिलो भए सकिनसकी मुटुको धढ्कन सङ्सङ्गै पाइला चाल्छन् ताकी प्राथना सभामा सबैको अगाडि कान समाउन नपरोस् । कक्षामा साथीहरुलाई आफ्नु पसिना गनाउँछ कि भन्ने डर अनि बर्खामा चिसो लुगा लगाएर आउँदा चिसो लाग्छ भन्ने चिन्ता, दुवै जायज छन् । एक मनले भन्छ यति धेरै मिहिनेत गरेर स्कुल जाने सबै डाक्टर, इन्जिनियर, वकिल, नर्स, व्यापारी आदि हुनुपर्ने तर किन यही स्कुलेहरुको भिडमध्ये धेरै खाडी पस्छन् ? पढ्न नै भनी एक घन्टाको उकालो स्याँस्याँ फ्याँफ्याँ गर्दै काट्छन्, अनि भन्नुहोस् त सरस्वती माताले यस्ता नानीहरुलाई विद्या नदिई धर पाउनु होला त ? तर गाउँमा सानैदेखि दुख गरेर पढ्नेहरू नि किन सहर पढ्न गएपछि परदेश जाने निर्णय गर्छन् होला ? आखिर आफ्नु देशको त्यो कुन रुप देख्छन् र सहरमा, जुन गाउँघरमा देखिन्न ? के सरकारले यो प्रश्नको जवाफ दिन सक्छ होला ?

गाउँका धेरै नयाँ बुहारीहरु नानी पाएर नानीलाई स्कुल पढाउने निहुले घरबाट निस्कन्छन् अनि धेरै त फर्केर कहिले आउँदैनन् । त्यो गाउँका चेलीबेटीको नि एउटै कामना छ कि उनीहरुको सन्तानले पढ्नको लागि उनीहरुले जसरी पसिना बगाउन नपरोस् । गाउँमा रोड नपुगेको त होइन । स्कुल जाँदा बाटोमा छस्सछुस्स रोडसँग भेट भई नै रहन्छ तर स्कुलेहरुले दस पन्द्र पाइलामा त्यो कच्ची रोड नाङ्दै गएको देख्दा अचानक मनमा लाग्छ, नेपाली युवाहरूले नेपालको विसुबिधालाई लत्याएर सबै पलायन हुँदै छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button