
गाउँहरु शुन्य भएकै थिए, शहरबजार पनि सुनसान बन्न लागे
कविता पन्थी
प्रतिदिन सामाजिक संजालमा विदेश जादै गरेका व्यक्तिलाई खादा र माला लगाएर शुभकामना दिदै गरेका दृश्यहरु आइरहन्छन् । शुभकामना भन्दै कमेन्टमार्फत लेखे पनि मनमा उथलपुथल छाउँछ । काम, माम, दाम, पढाइ र सुरक्षित भविष्यको खोजीमा प्रतिदिन देशबाट बाहिरिनेको संख्या उल्लेखनीय छ । जुनसुकै देश पनि हाम्रो गन्तव्य बनिसकेका छन् । अरेबियन देशको चर्को गर्मी होस् कि हिउँ जम्ने देशहरु हुन् अहिलेको समयमा विदेश मोह चरम अवस्थामा पुगेको छ ।
अहिलेको विश्वव्यापीकरणको समयमा देशको कुरा गर्नु संकिर्ण चिन्तन लाग्न सक्छ तर राष्ट्रियताको भावना आफैमा महत्वपूर्ण पनि हो । देश छोडेर जानेहरुलाई देशको माया नलागेको पनि त कहाँ हो र ? मुलुकमा रोजगारीको सीमित अवसर हुनु, सोचे अनुरूप आर्थिक उन्नति हुन नसक्नु, थप अध्ययनका लागि गएका पनि फर्किएर नआइ उतै पलायन हुनु आदि जस्ता कारणले अहिले थुप्रै नेपालीहरु बिदेशमा छन् । वर्तमान समयमा विभिन्न वहानामा देश छाडेर जाने दरको तथ्याङ्क डरलाग्दो छ । अहिले विद्यार्थी, शिक्षक, कर्मचारी, डाक्टर, इन्जिनियर, दक्ष कामदार, पाइलट,सिए सबै विदेश जान चाहन्छन् । कक्षा १२ को पढाइ सकेका अधिकांश विद्यार्थीहरुको चाहना बुझ्दा धेरैको चाहना देश बाहिर जाने छ । सकेसम्म त देशमै पढोस्, देशमै काम गरोस् भन्ने हो तर आफ्नो छोराछोरीको चाहना, त्यसमा रोक्न पनि हुन्थ्यो देशमा पढाइ, त्यसपछिको रोजगारीको सुनिश्चितता भएदेखि । तर देशको अवस्था यस्तो छ, पछि पछुताउनु भन्दा जाऊ न त भने भन्ने अभिभावक पनि धेरै हुनुहुन्छ ।
वैदेशिक रोजगारले विकासको अवधारणासँगै गति लिएको हो । शुरुमा भारत, बर्मा, भुटान, तिब्बत जाने चलन थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति मुनामदनमा पनि मदन पैसा कमाउन भोट गएको प्रसङ्ग भएबाट तत्कालीन समयमा भोट/तिब्बत नेपाली गन्तव्य रहेको देखिन्छ । आफ्नो देशमा रोजगारी नपाएर कमाउन विदेश जानुपर्ने नियति आज करीब एक शताब्दी बितिसक्दा पनि ज्यूँ का त्युँ छ । २०४२ सालमा वैदेशिक रोजगार ऐन बन्यो, आठौं योजनामा वैदेशिक रोजगारका लागि गन्तव्य मुलुकहरुको खोजी गर्ने प्रक्रियालाई महत्व दिन थालिएको हो । संस्थागत रुपमा विदेशमा रोजगारीका लागि जाने क्रमको थालनी आजभन्दा २८ वर्ष अघिदेखि भएको हो । नेपालीहरुको पहिलो रोजगार गन्तव्य मुलुक त भारत नै हो । सुगौली सन्धिपछि भारतीय आर्मी, ब्रिटिश आर्मीमा धेरै नेपालीहरु कार्यरत भएको, उनीहरुले गौरवपूर्ण काम गरेको इतिहास छ । मलेसिया, कतार, साउदीअरब, युएइ, कुबेत, बहराइन, ओमन, दक्षिण, कोरिया, लेबनान, इजरायल, जापान आदि देशहरूमा नेपालीहरु गएका छन् । अमेरिका, क्यानाडा, अष्ट्रेलिया, युरोपका देशहरुमा नेपाली पुगेका छन्, व्यवस्थित भएर बसेका पनि छन् । शिक्षा, स्वास्थ्य,संचार, प्रविधि, विभिन्न व्यवसायमा लागेर सफलता पनि प्राप्त गरेका छन् ।
पश्चिमी देशहरू हाम्रो देशभन्दा समुन्नत छन्, शिक्षा, स्वास्थ्य, प्रविधिको राम्रो व्यवस्था छ । भौतिक सम्पन्नता छ, कानुनी शासन छ । अवसर छन्, राज्य नागरिकप्रति उत्तरदायी छ । त्यो भन्दैमा हामी सबै राम्रो र अवसरको खोजीमा जान खोज्ने हो भने देशमा बस्ने को हुन्छ । उच्चपदस्थ व्यक्तिदेखि सामान्य जनता सबैको आकर्षण बाहिरी देशहरु बनिरहदा दिर्घकालिन रुपमा समीक्षा गरिनुपर्छ कि जस्तो लाग्छ । दक्ष जनशक्तिको खडेरी पर्न लागिसक्यो । गाउँमा युवा जनशक्ति नहुँदा खेतबारी बाझो हुनु सामान्य बनिसक्यो । व्यवसायिक कृषिका कुरा गरिरहँदा पहिलेको निर्वाहमुखी कृषि पनि हुन छाडिसक्यो । गाउँ युवाविहीन छन् । बाँदरले जित्न लागिसक्यो । मानिस कम भएपछि स्कुल कलेज बन्द हुने अवस्थामा पुगेको समाचार सुनिन्छ । गाउँमा मात्र होइन, शहरबजारका पनि विभिन्न क्याम्पस, विश्वविद्यालयमा विद्यार्थीहरूको संख्या एकदमै न्युन हुन थालेको छ । ड्रप आउट उत्तिकै समस्याको रुपमा रहेको छ । गाउँ गाउँबाट शहरतर्फको बसाई सराईको कारण गाउँहरु शुन्य त भएकै थिए, अब त शहरबजार पनि सुनसान बन्न लागेका छन् । सटरहरु बन्द गरेर वैदेशिक रोजगारका सम्भावना खोजिन लागेको छ ।
यस्तो परिदृश्यप्रति गम्भीरतापूर्वक दृष्टि राखिनुपर्ने हो । कसले हेर्ने हो यो कुरालाई । देशमा रोजगारीको व्यवस्था राम्रो नहुँदा वैदेशिक रोजगारीको आकर्षण यति बढेको छ कि विदेशी भाषा प्रशिक्षण केन्द्रमा गएर बुझ्न सकिन्छ । कलेज, विश्वविद्यालयका विद्यार्थीहरू त्यही छन् । परिश्रमी हातहरुले देशमै कर्म गर्छु, पसिना यही बहाउँछु भन्दा पनि अहिले युवालाई काम दिन सकेको अवस्था छैन । स्वरोजगारीका कुरा गरे पनि निराशा सिवाय केही छैन । यसतर्फ सम्बन्धित निकायले समयमै ध्यान पुर्याउनु पर्छ । जनशक्ति राज्यको महत्वपूर्ण सम्पत्ति हो ।यसको कदर गरिनुपर्छ । यस्तै अवस्था रहिरहे पछुताउनु सिवाय विकल्प रहँदैन ।
यो बारेमा युवाशक्तिले पनि सोच्नुपर्छ । समस्या छन् देशमा, समस्याको समाधान पनि त अवश्य हुन्छ । आफ्नो देशको भविष्यको बारेमा चासो राख्नु हाम्रो दायित्व पनि हो । हो, बाहिरी मुलुक सुविधासम्पन्न छन् साधन सम्पन्न छन् । त्यसको आकर्षणमा एकोहोरो विदेश मोह राम्रो होइन । विश्वव्यापीकरणको युग छ, ग्लोबल भिलेज बनिसक्यो । हामी विभिन्न देशमा गएर अध्ययन अनुसन्धान गर्नुपर्छ, शिक्षा दिक्षा लिनुपर्छ तर त्यो आफ्नो लागि मात्र नभई देशको लागि पनि हुनुपर्छ । यहाँ समस्या मात्र देख्ने होइन, यहाँका अनगिन्ती सम्भावना पनि देख्नुपर्छ । समस्या नभएको ठाउँ त कहिँ पनि छैन । फेरि समस्यासँग भागेर होइन, जुधेर अगाडि बढ्नु बुद्धिमानी हुन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
Beautifully written ???? ❤️ ???? ???? dd
नेपालका अदुरदृस्ठि भर्स्थ नेताको परिणाम।