रगतले खेलिएको त्यो होली

सन्दर्भ: होली पूर्णिमा

श्रीरामसिंह बस्नेत

सानो होस् वा ठूलो, शक्तिशाली होस् वा निरीह, सम्पन्न होस् वा विपन्न हरेक देशको आ–आफ्नै इतिहास त हुन्छ नै । इतिहास सधैं गौरवपूर्ण मात्र हुँदैन क्रुरतापूर्ण पनि हुन्छ । इतिहासका ठेली मसीले लेखिएको भएपनि त्यस मसीमा अदृष्य रुपमा आँशु र रगत मिसिएको हुन्छ । नेपालको इतिहास पनि यो कटु सत्यबाट टाढा छैन ।

घटना वि.सं. १९३८ को हो, जतिखेर नेपालमा राणा शासनकालको दबदबा बढ्दो अवस्थामा थियो भने राणा शासकहरु पनि चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका थिए । हिंसाको माध्यमबाट राज्यशक्ति हत्याएको अवस्थामा त्यहाँ सधैं प्रतिहिंसाको खतरा हुनु अस्वभाविक हुँदैन । घटनाको पृष्ठभूमि श्री ३ प्रधानमन्त्री जङ्गबहादुर राणाको मृत्युबाट शुरु हुन्छ । निरन्तर ३० वर्षसम्म अकण्टक रुपमा नेपालको राज्यशक्तिको बागडोर सभालेका, देश र विदेशमा समेत आफ्नो प्रभाव जमाउन सफल भएका, राजाहरुलाई आफ्नो बसमा राख्न सक्षम यस्ता जङ्गबहादुरको राजधानी बाहिर (पत्थरघट्टाको जङ्गलमा ) वि.सं.१९३३मा निधन भएपछि नेपालको राजनीतिमा नयाँ हलचल् र अवसर छोप्ने प्रयास सल्बलाउन थाल्यो । वँशानुगत उत्तराधिकारीको आधारमा त्यतिखेर सुरेन्द्रवीर विक्रम शाह नेपालका श्री ५ महाराजाधिराज थिए । उनी सन्की मिजासका थिए र यौन परपीडक पनि । तर उनका छोरा युवराज त्रैलोक्य वीरविक्रम शाह भने बाबुभन्दा धेरै फरक गम्भीर स्वभावका थिए र राणाहरुको चँगुलबाट वैधानिक राज्यसत्ता राजामा कसरी फर्काउने भन्ने चिन्तनमा चिन्तित थिए । त्यस उद्देश्यका लागि उनले गोप्यरुपमा समूह बनाई कार्ययोजना पनि तयार गरेका थिए । यस कुराको सुईंको जङ्गबहादुरका शक्तिशाली तथा अति महत्वाकाँक्षी भाई धीरशम्शेरले पाई सकेका थिए ।

यसैबीच शिकार खेल्न गएका जङ्गबहादुर पत्थरघट्टाको जङ्गलमा सिकिस्त बिरामी परे । जङ्गबहादुर जीवनको अन्तिम चरणमा भएकाले उनको निधन हुँदासाथ अर्को श्री ३ प्रधानमन्त्री घोषणा हुनु अगावै दरबारभित्र एउटा विद्रोह गरी आफू शक्तिमा आउने योजना युवराज त्रैलोक्यको थियो । तर चलाक धीरशम्शेरले तराईको जङ्गलमा जङ्गबहादुरको निधन भईसकेपनि त्यो खबरलाई गोप्य राखी उनी सिकिस्त भएको भनी युवराज त्रैलोक्य र उनका सहायकहरुलाई पत्थरघट्टातर्फ पठाईदिए । उनिहरु उपत्यकाबाट बाहिरिएपछि धीर शम्शेरले राजा सुरेन्द्रलाई श्री ३ जङ्गको निधन भएको औपचारिक जानकारी दिए र जङ्गबहादुरपछि प्रधानमन्त्रीको रोलक्रममा रहेका रणोद्दीपलाई राजाबाट पञ्जापत्र लिई श्री ३ प्रधानमन्त्रीको श्रीपेच पहिराईदिए भने आफूले प्रधानसेनापति पदको सलामी ग्रहण गरे । युवराज त्रैलोक्य तराईबाट राजधानी फर्किदा नेपालमा नयाँ प्रधानमन्त्री र नयाँ प्रधानसेनापतिको विधिवत् नियुक्ति र पदवहाली भईसकेको देखेपछि जिल्ल पर्नुबाहेक उनीसँग अरु उपाय थिएन त्यतिखेर । तर उनले हिम्मत हारेनन् । आफ्नो समूहमा गोप्य परामर्श जारी नै राखे । आफ्ना गुप्तचरहरुको बाक्लो सञ्जालमार्फत धीर शम्शेरले यसबारे जानकारी पाईरहेका थिए र, त्रैलोक्य रहेसम्म राणासत्तालाई सधैं खतरा हुने ठहर गरी उनलाई सधैंका लागि पन्छाउने उपाय खोज्न लागे । त्रैलोक्यलाई कान दुख्ने समस्या थियो । कानको उपचारका लागि उनी अनेकौं औषधिमूलो गर्न बाध्य थिए । यहीक्रममा धीरशम्शेरले त्रैलोक्यको औषधि उपचारमा सँलग्नलाई आफ्नो प्रभावमा लिई मन्दविषको प्रयोगव्दारा त्रैलोक्यलाई अल्पायुमै जीवन बिसाउन बाध्य पारे । त्यसपछि युवराज त्रैलोक्यको सङ्कल्पलाई अघि बढाउने अभिभारा उनका भाई अघिराजकुमार नरेन्द्र बिक्रमले उठाए । यसैबीच राजा सुरेन्द्रको पनि निधन भयो । उनिभन्दा पहिले नै युवराज त्रैलोक्यको निधन भईसकेकोले पाँच वर्षका नावालक पृथ्वीवीर विक्रम ( त्रैलोक्यका छोरा) लाई राजगद्दीमा राखियो ।

अधिराजकुमार नरेन्द्रले राणाहरुबाट सत्ता खोसेर राजामा वैधानिक शासन फिर्ता ल्याउने आफ्ना दाजु युवराज त्रैलोक्यको अधुरो लक्ष्यलाई पूरा गर्न जङ्गबहादुरका छोरा जगतजङ्ग, कर्णेल वीरमानसिंह बस्न्यातलगायतको सहयोग लिई प्रधानमन्त्री रणोद्दीपको हत्या गर्ने योजना बनाए । पहिलो पटकको योजना प्रधानमन्त्री रणोद्दीप तीर्थ गर्न गएको बेलामा उनलाई सिध्याउने थियो तर त्यो कार्यान्वयन हुन पाएन । दोस्रो पटकको योजना रणोद्दीप शिकार खेल्न तराईतिर गएका बेला उतै सिध्याउने भन्ने थियो तर त्यो योजनाको गोप्यता भङ्ग भएकाले त्यो पनि सफल हुन सकेन । त्यसका योजनाकारहरु सबै समातिए र कडा सजायँको भागिदार बनाइए । अधिराजकुमार नरेन्द्र र जङ्गपुत्र जगतजङ्गलाई भारतको इलाहबाद पठाई कडा निगरानीसहितको नजरवन्दमा राखियो भने कर्णेल वीरमानसिंह बस्न्यातसहित ३२ जनालाई मृत्युदण्ड दिइयो र योजनामा सामेल ब्राह्मण जातका १० जनालाई कपाल चारपाटे मुडेर फेरि फर्केर आउन नपाउने गरी चारभञ्ज्याङ्ग (उपत्यका) कटाइयो । यो सबै कारबाहीको मुख्य नाइके प्रधान सेनापति धीरशम्शेर थिए । भनिन्छ, अति नै धार्मिक प्रवृत्तिका प्रधानमन्त्री रणोद्दीप उनीहरुलाई मृत्युदण्ड नदिई आजीवन कारावासकोमात्र सजायँ दिने पक्षमा थिए रे । तर मृत्युदण्ड नै दिएर राणा शासन विरोधी सबैलाई निर्मूल पार्नुपर्छ भन्ने कठोर जिद्दीमा धीरशम्शेर र उनका भाई,छोराहरु थिए ।

मृत्युदण्डको प्रतीक्षामा रहेका विद्रोहीहरुलाई त्रिपुरेश्वर कारागारमा कडा सुरक्षामा राखियो । ती मध्ये कर्णेल वीरमानसिंह बस्न्यात, मेजर सँग्रामशुर बिष्ट, कप्तान अमृतसिंह अधिकारी र सुवेदार लोकबहादुर थापाको मृत्युदण्ड तत्कालै कार्यान्वयन गर्ने निर्णय धीरशम्शेरले गरे । फागुनको महिना थियो, फागु फुकिई सकेको थियो, काठमाडौंवासी होलीको रमाइलो मनाउने मनस्थितिमा थिए तर परिस्थिति भने भयावह थियो । चारजना मध्ये बिष्टलाई शोभाभगवती भचाखुशीमा र बाँकी तीनजनालाई बागमती शंखमूलमा गर्धन छिनालेर मृत्युदण्ड दिने कार्यक्रम बन्यो ।

मृत्युदण्ड दिन ती तीनजनालाई कारागारबाट शंखमुलतर्फ लैजादा अत्यन्तै कडा सुरक्षा अपनाइएको थियो । बाटोमा कसैलाईलाई पनि हिंडन, हेर्न दिइएको थिएन । बाटोमा पर्ने घरहरुका झ्याल, ढोका बन्द गर्न लगाइएको थियो । तीन जनालाई नेल, हत्कडी र गलफन्दीसहित बेग्ला बेग्लै काठको ठूलो पिंजडाले छोपेर त्रिपुरेश्वर, पचली हुँदै शँखमूल पु¥याइयो । उनीहरुका अघिअघि शोकधुन (सीं बाजा) बजाइएको थियो । त्यसैबीच कर्णेल वीरमानसिंह बस्न्यात भने जोशिदै जोशिदै ठूलो स्वरमा ‘‘ आज खेलेंगें शम्शेरशे खूनकी होली…’’ गीत गाउँदै अघि बढिरहेका थिए । मृत्युवरण गर्न जाँदै गर्दा पनि उनको अनुहार र जोशमा अलिकति पनि डर,चिन्ता थिएन । उनी जोशिलो गीत गाउँदै शम्शेर ( धीर शम्शेर) लाई लल्कार्दै थिए । त्यसबेलाको नेपालमा हिन्दी गीतकै बढि प्रचलन भएकोले उनले हिन्दीमा गीत गाएको हुनुपर्छ । झ्याल खोलेर हेर्न नपाइने भएकाले बाटोमा पर्ने घरका महिलाहरु झ्यालको कापबाट यो दृष्य चियाउँदै, रुँदै थिए । बाटोमा तैनाथ सुरक्षाकर्मीहरु आँखाभरी अाँशु लिएर ती तीनजनालाई अन्तिम सलाम गर्दै थिए ।

शँखमूलघाट पुगेपछि कर्णेल बस्न्यातले छोरा दिल्लीमानसिंहलाई आफूलाई काटेको दृष्य नदेखिने ठाउँमा गएर बस्न र रुने कराउने काम नगर्न अह्राए । उनले आफूले लगाईरहेको सुनको औंठी फुकाले र त्यसलाई चार टुक्रा बनाउन लगाए । एक टुक्रा शँखमूल पाटीको छेउमा टुक्रुक्क बसेर रोइरहेको आफ्नो सुचिकार (लुगा सिउने)लाई दिए, एक टुक्रा त्यहाँ बोलाइएका पुरोहितलाई दिए र अर्को टुक्रा सुन आफूलाई मार हान्न खटिएको जल्लादलाई ‘एकै चोटमा मेरो गर्धन छिनाल्नु’ भनेर दिए र अन्तिम टुक्रा सुन आफ्नो मुखमा हाले । ( सुनलाई पवित्र धातु मानिने भएकोले मर्ने बेलामा वा मरेपछि मुखमा सुन राख्ने हिन्दुहरुको प्रचलन छ । ) कारागार देखि शँखमूलसम्मको ‘बलिदान यात्रा’ को नेतृत्व गर्ने कारागारका कर्मचारीको इशारा पाएपछि पुरोहितले सँस्कृतका केही श्लोकहरु वाचन गरे । त्यसपछि खुँडा लिएर बसेको जल्लादले बली दिन लाग्दा बोकालाई जसरी राखिन्छ त्यसरी नै हात, खुट्टा टेकाएर राखिएका वीरमानसिंहको गर्धनमा खुँडा प्रहार ग¥यो, तर आत्तिएर होला उसले एकै प्रहारमा गर्धन छिनाल्न सकेन, अर्को एक पटक पनि प्रहार गरेपछिमात्र शीर र शरीर छुट्टियो । यही प्रक्रियाबाट बिष्ट, अधिकारी र थापाको पनि जीवन हरण गरियो । तीन जनालाई शँखमूलमा तर एकजना (मेजर बिष्ट)लाई मात्र किन शोभाभगवतीमा लगेर मारियो भन्ने स्पष्ट छैन । साथै मृत्युदण्ड पाउने ३२ जनामध्ये अरु २८ जना को को थिए र उनीहरुलाई कहिले कहाँ कहाँ लगेर मारियो भन्ने तथ्य पनि इतिहासमा उल्लेख छैन । तर आश्चर्य ! देशलाई निरँकुश जहानिया शासनबाट मुक्त गरी राजाको वैधानिक शाशनसत्ता फर्काउन हाँसी हाँसी जीवन बलिदान गर्ने यी सपुतहरुबारे कसैलाई थाहा छैन, न त कसैलाई चासो नै छ । नेपालको इतिहासमा ‘३८ साल पर्व’ भन्ने गरिएको यो दर्दनाक घटनाको करिव ६० वर्षपछि वि.सं.१९९७ मा राणा प्रधानमन्त्री जुद्धशम्शेरको शासनकालमा अरु चारजना होनहार सपुतहरु शुक्रराज, दशरथ चन्द, धर्मभक्त र गंगालालको पनि निर्ममतापूर्वक प्राण हरण गरियो । उहाँहरुलाई सबैभन्दा सम्मानित शहीदका रुपमा सबैले चिन्दछन् । तर बुझ्न नसकिएको कुरा उही उद्देश्यका लागि हाँसी हाँसी प्राण दिने बस्न्यात, बिष्ट, अधिकारी र थापालगायतलाई भने किन कसैले चिन्दैन ? किन उनीहरुलाई गुमनाम बनाइयो ? उनीहरुको शहादतमा के कमी थियो र उनीहरु शहीदमा गनिएनन् अहिलेसम्म ?

कर्णेल बस्न्यातलाई मृत्युदण्ड दिएर पनि राणा सरकारको अत्याचार रोकिएन । उनका छोरा दिल्लीमानसिंहलाई उपत्यकाभित्र बस्न नदिई परिवारसहित बाहिर धपाइयो । उनी आफ्नो सम्पत्ती राणा सरकारलाई बुझाएर काभ्रेको पलाञ्चोक भगवतीसँगैको गाउँमा आश्रय लिन पुगे । उनका दुई छोरा भीमभक्तमान सिंह र केशरमानसिंह थिए । भीमभक्तमानसिंह युवा भएपछि भारत गई बनारस हिन्दु विश्वविद्यालयमा अध्ययन गरे र त्यहीं राणाबिरोधी नेपाली नेताहरुको सम्पर्कमा आई नेपाली काँग्रेस पार्टीमा सक्रिय भए । अघोषित शहीद कर्णेल वीरमानसिंह बस्न्यातका सन्ततीहरुको पलाञ्चोकमा बाक्लो बस्ती अहिले पनि छ ।

हिंसाको फल मीठो कहिल्यै हुँदैन । ३८ साल पर्वका मुख्य खलनायक धीरशम्शेरको वि.सं.१९४१ मा अनायास अनौठो कारणले मृत्यु भयो । कालिजको मासु खाँदा घाँटीमा कालिजको तीखो हड्डी अड्किएर अत्यन्त कष्टपूर्ण रुपमा उनको मृत्यु भएको थियो । पटक पटकको षडयन्त्रबाट जोगिएका प्रधानमन्त्री रणोद्दीप पनि आखिर वि.सं.१९४२ मा आफ्नै भाईहरु वीरशम्शेर लगायतको हातबाट नाटकीय रुपमा गोलीको सिकार हुन वाध्य भए ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button