नाङ्गा बाबाको कारण म किन पशुपतिनाथमा रोएँ ?

दुर्गा कार्की

म यस वर्ष शिवरात्रीको दिन कहिल्यै नगएको सन्ध्याकालीन आरती अनि रातको दर्शन गर्ने अभिप्रायले छिमेकी प्रिय बहिनी रुबीको साथमा घरबाट निस्किएँ । । बहिनीको गाडी थियो अनि आफै हाँकेर गएका हुनाले हामी ढुक्कले शिवरात्रीको रातमा पशुपतिनाथ दर्शन गर्ने उद्देश्यले गौशालातिर हुइकियौँ । धापासीबाट हिँडेका हामी चाबहिल पुग्दा मानिसको भिड सुरु भयो ।

पशुपति कटेर एयरपोर्ट पुग्दासम्म कतै पार्किङ पाइएन । त्यहाँ केही खुल्ला बाटो भेटेपछि र भाडाका ट्याक्सी लस्करै देखेपछि सबैलाई नियम कानुन त एउटै होला नि भन्दै त्यहीँ मोटर राखेर शिवरात्रीको दिनको भिड छिचोल्दै पशुपति मन्दिरको पछाडिपट्टि वागमती किनारमा आरती हेर्न पुग्यौँ । खुट्टा टेक्ने ठाउँ थिएन । त्यही हुलमा आराध्यदेवप्रति आस्था जगाई बस्यौँ । म बडो हर्षित थिएँ किनकि ४४ वर्ष काठमाडौंमा बिताएकी मैले रात्रीकालीन शिवरात्री देखेकी थिइनँ, न दर्शन नै गरेकी थिएँ । हुन त मलाई त्यस दिनको महत्व अधिक भए पनि खासै गैहालौँ लाग्दैनथ्यो । पहिला एक दुई पटक पुग्दा नाङ्गा बाबाको अश्लीलता मन परेको थिएन ।

केही क्षणको रमाइलो हेरी हामी दशनार्थ लाम लाग्यौँ । लाम बस्दा लगभग ८ बजेको थियो । लाम यति लामो र पट्यारलाग्दो थियो कि ६ घण्टापछि २ बज्न लाग्दा मन्दिर परिसर टेक्यौँ । त्यही बीच लाममा नाङ्गा बाबा आशीर्वाद दिँदै पैसा असुल्दै गर्दै थिए । एक बाबाले हाम्रो टाउकामा हात राखेर आशिर्वाद दिने ढोङ गर्दैगर्दा मलाई मन परेन । मैले शिरमा हात नराख्न आग्रह गर्दै भनेँ, आजको आशीर्वाद भगवान पशुपतिनाथसँग लिन्छौॅ ।

बाबा एक्कासी राताराता आँखा पारेर पड्कियो र भन्यो, ‘तेरा भगवान पत्थरका हे, क्या आशीर्वाद देगा !’

मेरो मन खल्लो भयो । मेरो आराध्यदेव पशुपतिनाथलाई ‘ढुङ्गो भन्यो, त्यो केही होइन’ भन्यो । ममा ती नाङ्गा बाबाप्रतिको आस्था शुन्यमा पुग्यो । मेरो चित्त दुख्यो । लाग्यो मेरो देशमा आएर मेरै देउतालाई गाली गर्ने अनि जवर्जस्ती पैसा लुट्ने ? बाटबाटै पैसा जवर्जस्ति मागिरहेका थिए । जे भए पनि ईश्वरको दर्शन कहिले पाइएला भन्ने आतुर थिएँ । हुन पनि मलाई पशुपतिनाथको प्राङ्गणमा टेक्ने बित्तिकै अलौकिक आनन्द आउँछ । म एकैछिन त संसार अनि आफैलाई बिर्सिन पुग्छु । मेरा धेरै ईच्छा भगवानले पुर्याइ पनि दिनुभएको छ ।

बल्लतल्ल करिब ६ घण्टाको लामको उभ्याइपछि रातको २ बज्न लाग्दा भगवान पशुपतिनाथको दर्शन भयो । मैले लडाई जिते सरह भएको थियो । त्यति लामो समय त तिजको व्रत बसेर दर्शन गर्दा पनि उभिएकी थिइनँ । तर म पटक्कै थाकेकी थिइनँ । किनकि म स्वस्थ थिएँ । शरीरमा रोग र औषधि नभएपछि त जत्ति पनि हिँड्न र लाममा उभिन सक्ने भएकी छु ।

दर्शनपछि मन्दिर परिक्रमा गरी मूल ढोकाको दाहिनेपट्टि सिँडीमा एकैछिन ध्यान बस्ने सल्लाह गरी बस्यौँ हामी दुईसँगै लाममा बस्ने अरु दिदीबहिनी पनि बस्नुभयो । दर्शनपछि अघिल्तिर बसी भगवानलाई सम्झनुपर्छ भन्ने मान्यता पनि रहेको छ । म भगवानलाई सम्झिएर ध्यानमा लीन भएँ । आनन्द र एक अलौकिक शान्ति मिलिरहेको थियो । भगवानसँग आफ्ना ईच्छा आकांक्षा व्यक्त गर्दै यो जीवनको लागि मनमनै धन्यवाद प्रकट गर्दै थिएँ । सबै मौन अनि शान्त मुद्रामा थियौँ । एक्कासी पछाडिबाट नाङ्गा बाबाले हप्काउन थाले । हातमा लिएको मयुर प्वाँखको मुठोले पछाडिबाट हिर्काउँदै ‘उठो, उठो, यहाँ से उठो’ भन्न थाले । त्यतिमात्र कहाँ हो र, पानी खन्याइदिने धम्की दिए । मैले पछाडि फर्किएर एकोहोरो रिसाएको अनुहारले हेरेँ । अझ हप्काइरह्यो, ‘उधर जाओ, उधर जाओ ।’

मैले खप्न सकिन र भनेँ, ‘ये मेरे पशुपति हे ,ये मेरे देश हे, मे जो भि करुँ मेरी मर्जी !’

ऊ अझ उग्र भयो । बहिनी रुबीले ‘उठ्औं, अब चुप लागौँ’ भनिन् ।

म मन भित्रैदेखि चुडिएँ । मलाई लाग्यो मेरो देशको आराध्यदेव पशुपतिनाथ उहाँकै विशेष दिनमा अर्को देशको कब्जामा ? म स्तब्ध भएँ । मनमनै रोएँ, मेरो देशको अवस्था देख्दा । भौगोलिक, राजनैतिक, सामाजिक तथा धार्मिक सबै क्षेत्रमा अरूबाटै सञ्चालित छ मेरो देश ? के हामी अङ्ग्रेजले पनि जित्न नसकेको र स्वतन्त्र भनेर गर्व गर्नु पनि बेकार हो त ? हामी कति निरीह छौँ । न कुनै चीजमा आत्मनिर्भर छौँ न अरुको मुख नताकी ढुक्कले बाँच्न सक्छौँ । नेपाली वीरका सन्तान भनेर गर्व गर्ने मैले ज्यादै कमजोर महसुस गरेँ, आफ्नो शक्ति छताछुल्ल भएर बगे झैँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button