आमा ! मेरो पनि पासपोर्ट बन्यो

सुशील लामा
पाँचखाल, काभ्रे, हालः लिमासोल, साइप्रस

कौरव र पाण्डवको कुरु क्षेत्रमा भएको
महाभारत युद्ध जस्तो
युद्ध खेपेर
अस्ति भर्खरै भृकुटीमण्डपको
रमाइलो बजारमा
किनेको नयाँ चप्पल छिनाएर
तीन बजेदेखि लाइनमाथि
लाईन खप्टेर
बनाई छाडेँ आमा हरियो पासपोर्ट ।

पुर्व मेचीदेखि पश्चिम कालीसम्म पुग्दा
कहिँ कतै नचाहिने पासपोर्टले
अब तिम्रो छोरा सिमाना पारीको
टाढाको देशमा
जतासुकै जान अनुमति दिलाउँछ ।

आमा ! मन थिएन पटक्कै तिमीलाई छाडी जाने टाढा
बाध्यताको बिरंगी बतासले
लछारपछार पारेर
कर्तव्यको बगानमा फुल्दै गरेको
जिम्मेवारीको पहाड ढाल्न
आज्ञाकारी बनेर
जानू पर्ने भएको छ टाढाटाढा
विपत्तिको च्यादर ओडेर आएको विपनाले
बादल पारीको देशमा
आँशु मनको आकाशबाट बर्षी रहँदा
म सपनाको फुलबारीमा
तिम्रो छेउमा फुल बनेर फुलिदिन्छु ।

आमा
मैले प्राप्त गरेको पासपोर्टको
रंग हरियो
गैरी खेतको गरागरामा झुलेको
धानको बोटको रंग हरियो
बारीको पाटापाटामा उभिएको
मकैको बिरुवाको रंग हरियो
हरियो र हरियाली छोडेर
हरियो पासपोर्ट बोकेर
उजाड मरुभूमिको पार्कहरु
उराठ मरुभूमिको बगैंचाहरु
हरियाली बनाउन
हरियाली देशको हरियो पासपोर्ट बोकेको
म जस्तै मान्छेहरु
मालीको भुमिका निभाउन जाँदैछु ।

आमा ! मेरो पनि हरियो पासपोर्ट बन्यो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button