मैले ‘मीस’ गरेको मेरो मामाघर

मेनुका शर्मा

मलाई धेरैजना भन्नुहुन्छ होला, यो जमानामा पनि छोराछोरीप्रति भेदभाव राख्नी यस्तो कुरा गर्नी भनेर । तर हरेक कुराका दुईटा पाटा हुन्छन्, त्यो त विदित नै छ । बस् मेरो अन्तर्नमनमा उब्जेका केही भावना हुन् ।

उसो त मेरी आमालाई तीजमा लाउन र खान कमी त कहिले नि भएन । मावलामा दुईजना विधुवा हजुरआमाहरु हुनुहुन्थ्यो, असाध्यै माया गर्ने । अचेल सोच्छु मनैमन, मेरी आमा दुई बर्ष र सानिमा गर्भे टुहरी, कति सकस भयो होला त्यो बेला हजुरआमाहरुलाई त्यो समयमा हुर्काउन, पढाउन अनि सबैखाले आफन्त र नकारात्मक सोच भएका मानिसहरूबाट जोगाउन । तैपनि जसोतसो जिन्दगी त बाँचुञ्जेल चल्छ नै ।

अरु सबै साथीहरु मामाघर जानी भन्दा मामा कस्तो हुन्छ होला जस्तो लाग्थ्यो । हामी नि जान पाए हुन्थ्यो जस्तो लाग्ने । तर, जाने कहाँ ? आज पनि ती दिन कल्पना गर्छु । म भ्रममा थिएँ या मामा घर प्यारो हुन्छ भन्ने महसुस नै छैन । मामा हुनेले भन्छन्, केही हुन्न मामाघर भएर पनि । नभए एक शोक भए हजार शोक भन्छन् । उमेर पुगेर हुर्कदै गएसी त केही पनि नहुन सक्छ । तर, जबसम्म बाल्यकाल रहन्छ तबसम्म मामाघर त असाध्यै प्यारो हुन्छ रे । त्यो पनि भन्न पाईएन । खै कस्ता कस्ता हुन्छन् सम्बन्धहरु, हुँदा पनि पीडित नहुँदानी पीडित ।

कुनै छोराले आफ्ना बाआमालाई हेला गरेको देख्दा लाग्छ, हाम्रो हजुरआमालाई ढुक्क थियो भनेर । तर, छोरीको घर बस्न कति गार्हो भो होला, आफूले सकुन्जेलसम्म औंसी र पूर्णि बार्ने छोरीको घरको पानी पनि नखाने जीवनको उत्तरार्धमा छोरीको घर कति पीडा थियो, त्यो मैले नि देख्या छु । कति पटक रुँदै रुँदै खाना खाएको देख्या छु । एक्लै पछ्यौरीले मुख छोपी रोएको देख्या छु । पीडा त कति थियो होला त बुझ्नै सकिएन, किनकि त्यो बेला, त्यो पीडा बुझ्न सक्ने क्षमता मसँग थिँदै थिएन, मैले त हेर्थें । अरु केही होइन । मलाई मामा भएको भए हुन्थ्यो जस्तो भयो सधैंभरी भने हजुरआमालाई छोराको कमी महसूस भयो या भएन भनेर सोध्न जानिनँ ।

तर मेरी आमालाई मामा र दाजुभाई दुबैको कमी कति थियो र हामी चारजना छोराछोरीलाई मामाको अनि मामा घरको महत्व एकदम थाहा छ । के थाहा आज जस्तो समय भएको भए त्यति धेरै पिर पनि लाग्ने थिएन होला । आज त दिदी बैनी पनि छोरा सरह नै हुन्छन् । वैज्ञानिक युगमा आएर पनि छोराछोरीको बीचको भिन्नता देखाउन खोज्या भने कदापि होइन । यो मेरो बाल्यकालसँग सम्बन्धित छ, सानोमा जे देखेँ जे सम्झे मामाप्रति त्यही लेखेँ ।

सबैलाई तीजको शुभकामना ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button