बहसः दहीचिउरा कि बेबीसावर ?

प्रज्ञा अर्याल

गर्भावस्था आफैमा एउटा अद्भुत आनन्दको अवस्था हो । आफैले यो अवस्था पार नगरेसम्म यसको आनन्द महसुस गर्न सकिँदैन । हाम्रो प्रत्येक अवस्था विविध मूल्य मान्यता, धर्म संस्कृतिहरूसँग जोडिएका हुन्छन् । गर्भधारण गरेको नवौं महिनामा गर्भवतीलाई खुवाइने दहीचिउराले पनि आफ्नै महत्व बोकेको छ । हाम्रा अग्रजहरुले भलै आफूले मनाउने संस्कारहरूलाई वैज्ञानिक आधारमा जोड्न सक्नुभएन होला तर तिनलाई केलाउने हो भने हाम्रा संस्कारहरू वैज्ञानिक आधारभन्दा पहिला आउँछन् ।

यही समाजले गर्भावस्थामा पोषिलो आहारको आवश्यकता पर्छ भन्ने जानेन, यही समाजले छोरी जन्माउने आमालाई एक मुठी तातो पानी दिन मानेन । घाँस दाउरा, मेलापातबाट फर्कँदा कयौ आमाहरु घाँसको भारीमाथि आफ्नो नवजात शिशु लिएर रगतको धारा बगाउँदै फर्कन्छन् । यस्तो अवस्थामा एक दिन भए पनि गर्भवती महिलाले पेटभरि खान पाउन र सुत्केरी हुन सजिलो होस् भनी माइती पक्षले दहीचिउरालगायत गर्भवतीलाई मनपर्ने खानेकुराहरु खुवाउने प्रचलन रहिआएको छ। गर्भमा बच्चा बसेको बेला मनलागेको कुरा खाना पाएन, खाएन भने बच्चा जन्मिसकेपछि र्‍याले हुन्छ भनेर पनि गर्भवतीलाई मनपर्ने पोषिलो खानेकुरा खुवाउने चलन रहेको छ । जसले जे मान्यताले खुवाए पनि यो प्रचलनले गर्भवती र पेटको बच्चालाई फाइदा पुग्छ । वैज्ञानिक तवरले हेर्ने हो भने पनि दहीले खाना पचाउन, मनलाई तनाव मुक्त राख्न, रोगसँग लड्ने क्षमता बढाउनको साथै उच्च रक्तचापलाई नियन्त्रणमा राख्नलाई मद्दत पुग्छ । दहीमा प्रोटीन र क्याल्शियम भरपूर मात्रामा पाइन्छ जसको सेवन आमा र बच्चाको लागि अमृत समान मानिन्छ ।

हामी सहरबजारका मानिसहरू यो कुरा मान्न तयार छैनौं कि कयौ छाक अन्नका दाना पेटमा नपरी, घाँस दाउरा, मेलापातमा बच्चा जन्मन्छन् । हामी आधुनिक भएका छौं । रीतिरिवाज आधुनिक तवरले मनाउन थालेका छौं, दहीचिउरा छोडेर बेबी सावर मनाउने भएका छौं । समय अनुरूप रीतिरिवाजमा भएका विकृति हटाउनु कदापि नराम्रो होइन तर रीतिरिवाजको नाउँ मा विकृति भित्राउनु भने अपराध नै हो भन्दा फरक नपर्ला ।

मैले ‘फलानोको बच्चा हुने बेला भएछ, दहीचिउरा खुवान जानुपर्छ है’ भन्दा धेरैको मुखबाट ‘दहीचिउरा हाम्रो चलन होइन, व्यवहार जाती बढायो उति बढ्दै जान्छ’ भन्नेहरु हिजोआज तिनैले भन्छन्, ‘बेबी सावर त गर्नै पर्यो नि, उता विदेशतिर कस्तो मजाले मनाउँछन्, पछिसम्म लाई सम्झना रहन्छ रे । अनि के दहीचिउराको परम्परामा सम्झना रहँदैन ? बनाउँदा हुन्छ त दहीचिउरा लेखेको व्यानर । आफ्नो क्षमता अनुसार परम्परालाई जोगाउँदै खाँदा हुन्छ त दहीचिउरा नै । तपाईंहरूले देख्नुभएको छ त कुनै विदेशी परिवारले दहीचिउरा व्यानर बनाई नेपाली परम्परा जोगिने गरी मनाएको, मैले त देखेको छैन है । दहीचिउराचाहिँ देशभित्रै एक भेगकाले अर्को भेगतिरको चलन भनेर मनाउन हिचकिचाउने, अनि बेबी सावरचाहिँ सात समुद्र पारीबाट भित्राइदिने ? मैले यहाँ विदेशी परम्परालाई कदापि नराम्रो हो भन्न खोजेको होइन । परम्पराहरू कुनै पनि ठाउँको परिवेश, त्यहाँको वस्तुस्थिति, मूल्यमान्यता, मौसम, पहुँचको आधारमा समेत चलिआएका हुन्छन् । विदेशी परम्परा विदेशमै कत्ति सुहाउँछ । यस्ले विदेशकै पहिचान जोगाउँछ । आधुनिक बन्ने होडमा हामी किन अरुको परम्परा भित्र्याइरहेका छौं ?

अझ बेबी सावर मनाउने रे अनि गर्भमा छोरा छ भने श्रीमान्–श्रीमती, इष्टमित्र, साथीभाइ सबैले निलो रंगको कपडा लगाउनु पर्ने रे अनि छोरी छ भने रानी रंगको लगाउने रे, हामीले जानी नजानी रंग विभेद गरिरहेका छैनौं र भन्या ? उसमा प्रकृतिको सबै रंगहरुसँग रम्ने अधिकार छैन र ? सक्नुहुन्छ दहीचिउरालाई विश्वमा यसरी चिनाईदिनुहोस्, परम्पराको अनुशरण अरूले पनि गर्न सकुन् । सकारात्मक कुराहरूको अनुशरण गरौं र आफ्ना सन्ततिलाई आफ्नै परम्पराको पहिचान गराउँ । धर्म, संस्कृति र परम्पराबिना आफ्नो पहिचान रहँदैन । पहिचान बिना अस्तित्त्व रहँदैन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button