
तीज: कसलाई के भन्ने खै ?
शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
कभर मोडलः रविना खड्का
पानी पनि नपिई शरीरलाई हुनसम्मको कष्ट दिएर आमा हजुरामाले तीजको व्रत बस्नुभयो, पतिको लामो आयु हुने आशमा । खासमा मध्यमार्ग अपनाएर बसेको व्रतले स्वयम् व्रतालुको स्वास्थ्यलाई राम्रो प्रभाव पार्ने हो । पतिको आयु लामो हुन्छ भन्नु भ्रम हो भन्ने कुरा आजका शिक्षित, आत्मनिर्भर महिला दिदीबहिनीहरुलाई बताइरहनु नपर्ला । (दुरदराजका महिलाहरू अपवादमा पर्लान् यस मानेमा) यसको मतलब यो होइन कि श्रीमानलाई माया गर्नुपर्दैन, सम्मान गर्नुपर्दैन । जीवनरुपी रथ अघि बढाउन दुवै पांग्राको उत्तिकै महत्वपूर्ण योगदान, जिम्मेवारी हुन्छ । एकले अर्कोलाई माया, सम्मान , साथ सहयोग गरेर नै जीवनरुपी रथ सहज तरिकाले अघि बढ्ने हो । यो कुरा सबैले बुझ्न जरुरी छ न कि निराहार व्रत बसेर, खुट्टाका पानी पिएर श्रीमानको आयु लामो हुन्छ, सम्बन्ध दह्रो हुन्छ भन्ने कुरामा विश्वास गरेर ।
पर्वका नाममा विकृति मौलाउँदो छ । निम्न वर्गीय परिवार खर्चिला, भड्किला चलनको चपेटामा परेका छन्, कसैलाई चासो छैन । धनाढ्य वर्गलाई महङ्गा सारी, गरगहना प्रदर्शनको माध्यम बनेको छ, तीज । बिभिन्न संघ संस्थाहरुले पनि तिनै सम्पन वर्गका महिलाहरुलाई महिनादिनदेखि ‘दर’ खुवाउँछ, पार्टीप्यालेसामा । दुरदराजका महिलाहरुको अवस्थाबारे बेखबर छन्, सङ्घसंस्था । बलेकै आगो न ताप्ने हुन् सबै ।

शिव पार्वतीको कथामा आफ्नो इच्छा विपरित विष्णुसँग विवाह हुन लागेकी पार्वतीले साथीको सहयोगमा भागेर जङ्गलमा गई शिव लिङ्गको पूजा गरेको भनिएको छ । मातापिताको आँखा छलेर हिँडेको मान्छेले सामान्य लुगा त उल्टापाल्टा बोकिन् होला, महङ्गा कपडा, गरगहनाको त के कुरा भयो र ! भलै, कथा हो तथापि …
पर्वको आफ्नै मौलिकता हुन्छ जसलाई जोगाउन व्यक्ति, समाज, राज्य सबै लागिपर्नुपर्ने हुन्छ । कतिपय तीज गीत विकृत हुँदै रत्यौलीलाई मात खुवाउने निस्किएका छन् । सर्जकहरू तीज गीतलाई जानाजान भद्दा र मजाक बनाएर अर्थोपार्जन गर्न व्यस्त छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सम्बन्धित कलाकारलाई कारबाही गर्नुको साटो सामान्य विज्ञप्ती निकालेर औपचारिकता पूरा गरिरहन्छ । कतिपय दर्शक श्रोता त्यस्तै गीत, नृत्यमा रमाउँछन् । शिक्षित भनिएका महिलाहरू त्यस्तै गीतमा डिजे घन्काउँदै धक फुकाएर नाच्छन् । कसलाई के भन्ने खै ?
चाडपर्व ‘चाडपर्व’ मात्रै नभएर हाम्रा चिनारी हुन् । यसको मौलिकता हरायो भने हाम्रो अस्तित्व हराउँछ त्यसैले सभ्य, सौम्य तरिकाले तीज पर्व मनाऔँ, स्वास्थ्यलाई ख्याल राखेर । विश्वमाझ नेपाल र नेपालीलाई चिनाउने संस्कृतिको जगेर्ना गरौँ । देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण महिला दिदीबहिनीहरुमा तीज पर्वको हार्दिक शुभकामना!
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)