
नेपालनाम्चा बिनाबित्थामा पुटिनको अवैतनिक प्रचार अधिकारी नबनेको भए राम्रो हुने थियो
हरि अधिकारी
जीवित नेपाली रूस-सेवकहरूमध्ये सम्भवत: वरिष्ठतम अरविन्द रिमालजीको यो लेखले उहाँलाई युद्धोन्मादी तानाशाह भ्लादिमिर पुटिनको गुड बुकमा अवश्य पनि पुर्याएको हुनु पर्छ । रिमालजीको उमेर र आध्यात्मिक विषयहरूप्रति उहाँले देखाउँने गर्नु भएको आशक्तिका आलोकमा हेर्दा भने उहाँलाई पुटिन जस्तो एक्काइसौँ शताब्दीको एडोल्फ हिटलरको गुड बुकमा रहन आवश्यक छ जस्तो लाग्दैन । रिमालजस्तो प्रबुद्ध व्यक्ति छिमेकको सानो र कमजोर मुलुकमाथि आक्रमण गरेर त्यस मुलुकको अस्तित्व नै नामेट पार्नखोज्ने आसुरी प्रवृत्तिका प्रतिनिधिमूलक तानाशाह भ्लादिमिर पुटिनको अन्धभक्त कसरी हुनुभएको हो भन्ने कुरा सहज बोधगम्य छैन ।
हुन त सोभियत कालदेखि नै रूसी सत्ताका नेपाली एजेण्टहरूले मस्कोका लालतानाशाहहरूले अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा चालेका हरेक नाजायज कदमहरूको आँखा चिम्लेर समर्थन गर्दै आएको इतिहास छ । सन् १९७९ को डिसेम्बर महिनामा सोभियत रूसले अफगानिस्तानमाथि गरेको आक्रमण र त्यस क्रममा अफगानिस्तानको छातीलाई रूसी ट्याङ्कले बर्बरतापूर्ण ढङ्गबाट किचिमिची पारेको भयानक दुष्कर्मको समर्थनमा समीक्षा नामक साप्ताहिक पत्रिकाले पहिलो पेजमा ब्यानर हेडलाइन राखेर “अफगानिस्तानमा मुक्तिदाता रूसी सेनालाई खुल्ला हृदयले स्वागत गर्दछौँ” भनेको थियो ।
अरविन्द रिमाल वा समीक्षाका सम्पादक मस्कोका अन्धभक्त भएकोमा मेरो केही भन्नू छैन । मेरो आग्रह यतिमात्र हो: कसैप्रतिको अन्धभक्तिको प्रदर्शन गर्दा पनि सम्वेदनशील मानवीय भावनाहरूप्रति सजगता अपनाऊँ । युद्धपिपाशु शक्तिको प्रतिरक्षा गर्ने प्रयास नगरौँ । त्यस्तो अपकर्मको प्रतिरक्षा गर्ने क्रममा आक्रमणकारी शक्तिले प्रसार गरेको कुसूचनाको भर नपरौँ । अरविन्द रिमालजीले युक्रेनको वर्तमान सत्ताका विरुद्ध लगाएका आरोपहरू उहाँको आफ्ना आविष्कार नभएर रूसी प्रोपागण्डा संयन्त्रले बुनेका फट्याइँहरू हुन् ।
नेपालनाम्चाको सम्पादकले पनि बिनाबित्थामा पुटिनको अवैतनिक प्रचार अधिकारी नबनेको भए राम्रो हुने थियो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


