
‘समय ठीक छैन,’ सानेपाबाट दिदीले फोनमा भनिन्
कोरोनाकालका कुराकानी
प्रकाशप्रसाद उपाध्याय
समय बिताउन पुराना पत्रिकाहरू झिकेँ र पढ्न थालेँ । त्यसमा देशका अदालतहरूसामु पारपाचुकेका हजारौँ मामिला विचाराधीन रहेको पढ्दा मन खिन्न भयो । हुन त अचेल मन खिन्न हुने अवस्थामा नै छ ।
कलेज जीवनकालमा अर्थात ५०–६० वर्ष अघिसम्म यस्ता घटना समुद्रपारिका देशहरूमा मात्र हुने गरेका सुन्न र पढ्न पाइन्थ्यो, तर अब त हाम्रो देशमा पनि यसको लहर ! के यसको कारण सहनशीलता र समझदारिताको अभाव हो वा आधुनिकताको प्रभाव ? सोच्न थाल्दछु र पत्रिका एकातिर थन्काउँछु ।
यत्तिकैमा फोनको घण्टी बज्दछ । ‘हेलौ’ भन्दछु ।
उताबाट आवाज सुनिन्छ –‘के छ भाई हालखबर ?’ सानेपा बस्ने एकजना दिदीले फोनमा सोध्नुहुन्छ ।
‘के हुनु दिदी, उदेकलाग्दो खबर मात्रै छ । तर हामी भने सुरक्षित बस्ने कोसिस गर्दैछौँ । घरभित्रै बसिन्छ ।’
‘त्यै त भाई, कस्तो समय आइपुगेको हो । न अखबार पढ्न मन लाग्छ, न टेलिभिजन हेर्न । आफन्तको अस्वस्थता वा मृत्युको खबर सुन्दा पनि न त भेट्न जान सकिन्छ, न सान्त्वना दिन पुग्न सकिन्छ । त्यसमाथि यस्तो मौसम, बाढी र पहिरोले उस्तै हाहाकार मच्चाएको छ ।’
‘हो दिदी, मैले ६–६ महिनामा स्वास्थ्य परीक्षा गराउनुपर्ने । डेढ वर्षजति भइसक्यो । संक्रमणको डरले जाने आँट भइरहेको छैन । कसबाट र कसरी संक्रमण हुने हो, डर लागिरहन्छ । यसो हुँदा औषधि खाँदै र खानपिनमा परहेज गर्दै बसिरहेको छु, स्वास्थ्यमा कुनै समस्या अनुभव नभएकोले ।’
‘त्यै त भाई, समय ठीक छैन । कारोनाको संक्रमण भइदियो भने घरभित्रका मनिसहरूलाई पनि खतरा– ठीक नहुन्जेलसम्म । स्याहार्नेले पनि नगिच जान नहुने । कस्तो समस्या ! पहिले–पहिले पनि सरुवा रोगहरू हुन्थे, तर यत्ति डरलाग्दो र ज्यानै जाने खतरा त हुँदैनथ्यो नि । अहिले त एउटा लहर सकिएको हुँदैन, अर्को आइपुग्दछ, त्यसको पनि वर्णशंकर उत्पन्न भयो अरे । अब तेस्रो लहरको पनि खतरा छ अरे । भन त कहिलेसम्म यस्तो चल्ने हो ?’
‘खै दिदी, तर सतर्क भई बस्ने समय आएको छ । सोसल डिस्टेन्सिङले हामीलाई समाजविमुख बनाउँदैछ । के गर्ने ? समय बलवान हुन्छ भनेको यही रहेछ दिदी । हेर्नोस् त, शक्तिशालीहरूलाई समेत निरीह बनाएको छ यसले ।’
‘हो भाई, सतर्क रहे, सुरक्षित बसे । घुमफिर गरिराख्नुपर्ने मानिस, समय बिताउन त गाह्रै पर्दो होला, तर समयको मागलाई बुझ्दै सकेसम्म बाहिर ननिस्के । अँ, खोप त दुइटै लाग्यो होला नि ?’
‘काँ दिदी, दाताले सबै खाले सम्बन्धलाई बिर्सिँदै आँखा चिम्लेका छन् । भगवान पशुपतिनाथलाई सम्झँदै दिन बिताइरहेछु ।’
‘ल भाई, आफ्नो हातको कुरा नभएपछि यस्तै हुँदो रहेछ । आफ्नो र बुहारीको स्वास्थ्यको ध्यान राखे । हाल–खबर सोध्न फोन गरेकी । तिमीहरूको जय होस् ।’
यति भन्दै दिदीले फोन राख्नुभयो । मैले पनि राखेँ र सोच्न थालेँ– प्रलयकाल भनेको के यही त होइन ? के यो कलियुगको अन्त्यको पूर्वाभास त होइन ?
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



