हरपल मुस्कुराउने सुन्दर संखुवासभा !

देशको समग्र चित्र कोर्ने नेपालनाम्चाको राष्ट्रिय अभियान ‘७७’ मा जोडिएर आफ्नो माटोलाई माया गर्नुभएकोमा कविता केशरीलाई विशेष धन्यवाद ।

१. तपाईंको जिल्लाको कुरा गर्दा, सबैभन्दा पहिला तपाईंको मनमा के आउँछ ?
मेरो जिल्ला संखुवासभा हो। जिल्ला भन्नासाथ मकालु हिमाल, मनकामना मन्दिर, अल्लो र भेडाका ऊनको घरेलु कपडा उद्योग, अटे धानको खेती, अलैंची खेती, पशुपालनका लागि रमाईलो फाँट माङ्सिमा खर्क, जेठो विद्यालय हिमालय मावि जस्ता कुराहरू याद आउँछ।

२. यहाँ जन्मिएकोमा तपाईं कस्तो अनुभुति गर्नु हुन्छ ?
अरुन तेस्रो जलस्रोत र काँडे भ्याकुर, चरासँगको मितेरीमा प्रकृतिसँग रमाएर हुर्कीएका त्यहाँका मानिसहरू सबैभन्दा बढी प्रकृतिसँग नजिक छन् भन्ने सम्झिन्छु। मेरा गाउँमा मिलेर बसेका पाँच ठुला गाउँ: ब्रामण, राई, मगर, गुरुङ, तामाङ गाउँ र आपसमा घुलमिल भएर यहाँको सँस्कृतिसँग रमाएको समाज सम्झिन्छु।

३. बाहिरबाट आउने मान्छेलाई यो चाहिँ हाम्रो ठाउँ हो भनेर देखाउन मन लाग्ने ठाउँ कुन हो ?
बाहिरबाट मेरो जिल्ला भ्रमण गर्न आउने मानिसले हेर्ने धेरै कुरा छन् तैपनि मकालु वेसक्याम, शिबधारा तथा अरुन तेस्रो जलविद्युत् आयोजना, बरुन नदीको उद्गम स्थल, पहिलो पटक हेर्नुस् भन्नेछु। चैनपुर बजार, सिद्धकाली मन्दिर, अन्य पछि पर्यटकीय दृष्टिकोणबाट बनेका पार्क तथा झरना बगैँचाहरू पनि हेर्न छुटाउनु हुँदैन।

४. तपाईंलाई आफ्नो जिल्लाको कुन कुरामा सबैभन्दा गर्व लाग्छ ?
मलाई मेरो जिल्लामा गौरव लाग्ने विषय धेरै छन् तै पनि मकालु हिमाल, चीनको सिमाना किमाथांका र त्यहाँको भोटेबस्ती, चौँरी पालनको रमणियताले बढी रमाइलोपन दिन्छ।

५. धेरैले थाहा नपाएको तर तपाईंले महसुस गरेको यो जिल्लाको खास विशेषता के हो ?
उर्वर भूमि, शिक्षित जनता, जडीबुटीको भण्डार क्षेत्र, छिमेकी मुलुकसँगको निकटता जोड्ने कोशी मार्ग, तिब्र पर्यटकीय सम्भावना बोकेको जिल्ला हुनु मेरा जिल्लाका विशेषता हुन्।

६. यदि तपाईंको जिल्लालाई एउटा मानिसजस्तै सोच्नुपर्‍यो भने, कस्तो स्वभावको हुन्छ ?
यो जिल्ला बाहिरबाट हेर्दा सुन्दर, क्षमतावान, मृदुभाषी एउटा कर्मशील मानव जो हरपल परसेवाका लागि मुस्कुराउन सक्छ, सेवा दिन र आतिथ्य पस्किन सक्छ त्यस्तो छ भन्ने लाग्छ।

७. भविष्यमा तपाईंको जिल्ला कस्तो भएको देख्दा तपाईं खुशी हुनुहुन्छ ?
भविष्यमा संखुवासभा जिल्ला पर्यटन र कृषि (पशुपालन) व्यवसायबाट आत्मनिरभर हुन सक्छ। व्यापार व्यवसाय र कृषि तथा पर्यटन, जलविद्युत योजना, युवालाई देश फर्क अभियानले समाज विकास गरी उन्नतिका शिखरहरू चमचम उज्यालो भएको देख्न मन छ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button