
झापाली भएकोमा गर्व गर्नुपर्ने किन छ ?

देशको समग्र चित्र काेर्ने नेपालनाम्चाको राष्ट्रिय अभियान ‘७७’ मा जोडिएर आफ्नो माटोलाई माया गर्नुभएकोमा तीर्थ सिग्देललाई विशेष धन्यवाद ।
१) तपाईंको जिल्लाको कुरा गर्दा, सबैभन्दा पहिला तपाईंको मनमा के आउँछ ?
झापा जिल्लाको नाम सम्झिने बित्तिकै यसको इतिहासको झलक आउँछ, जुन जिल्ला यहाँका आदिवासी राजवंशी जातिको भाषाबाट बनेको हो । त्यसपछि देश विदेशमा झापालीहरुले पारेका प्रभाव र त्यसको आडमा भए गरेका गतिविधि सम्झन्छु । खासमा राजनीतिक क्षेत्रमा यस जिल्लाको पहिचान र नेतृत्वको जगले यो जिल्लालाई विशेष बनाएको विगतका ती दिनहरुले मनमा घर गर्छ ।
२. यहाँ जन्मिएकोमा तपाईं कस्तो अनुभुति गर्नु हुन्छ ?
खासमा हरेक ठाउँमा पुग्दा सवाल उठ्छ कि कोही कहाँ किन जन्मियो ? र, उसले त्यस क्षेत्रमा रहेर के कस्ता कर्म गर्यो ? समाज विकासका निम्ति कस्ता योगदान गर्यो ? यो आम प्रश्न हो तर कसैले झापाली भएकोमा गर्व गर्नुपर्ने किन छ ? यो सवाल भने गम्भिर हो । यद्यपि म आफू झापाली भएकोमा छुट्टै विशेष अनुभुति नभए पनि यो जिल्लाको गौरव, पुर्खाहरुको गाथा र आजको राजनीतिक क्षेत्रमा नेतृत्वले गरेको अगुवाईप्रति थप गौरव अनुभुति गर्छु ।
३. बाहिरबाट आउने मान्छेलाई यो चाहिँ हाम्रो ठाउँ हो भनेर देखाउन मन लाग्ने ठाउँ कुन हो ?
झापाको नेपालको पूर्वी सीमान्त जिल्ला र पूर्वी पहाडी जिल्लाको द्धार भएका कारण पनि यसको पछिल्लो महत्व छ । र, यो जिल्लामा नेपालको सबैभन्दा होचो स्थान कचनकवल रहेको छ । यो ठाउँ देखाउन चाहन्छु म किनभने अग्लो ठाउँ सगरमाथा भएजस्तै होचो ठाउँ हुनुको पनि महत्व हुन्छ भनेर चिनाउन मन लागिरहन्छ ।
४. तपाईंलाई आफ्नो जिल्लाको कुन कुरामा सबैभन्दा गर्व लाग्छ ?
मुख्यरुपमा झापाको गौरव र गाथा अलग्गै प्रकृतिको छ । पूर्वकी रानी इलाम जिल्लाको काखमा रहेर अनि भारतको बंगाल र बिहार जिल्लासँग जोडिएको यो जिल्ला ७७ जिल्लाका मानिसहरुको बसोवास गरेको संगमस्थल जस्तो छ । अझ यहाँको पहिचान आदिवासीहरुको बसोवास हो, जहाँ उनीहरुले आफ्नो रगत पसिना बगाए र यो ठाउँलाई बसोवास गर्न लायक बनाए । यो हाम्रा लागि गर्वको विषय हो कि झापा जिल्ला एकप्रकारको खुल्ला संग्रहालय जस्तो हो ।

५. धेरैले थाहा नपाएको तर तपाईंले महसुस गरेको यो जिल्लाको खास विशेषता के हो ?
झापा जिल्ला नेपालको ३६ औं जिल्ला हो । बि.संं. १९७२ सालसम्म यो जिल्ला मोरंग जिल्लामै पर्दथ्यो । त्यसपछि यसलाई झापा बनाइयो । झापा जिल्ला झाप् शब्दबाट विकसित भएको हो । झाप् भनेको राजवंशी भाषामा छोपिएको ठाउँ हो । यहाँ चारैतिरबाट जंगलै जंगलले घेरिएको छोपिएको ठाउँ थियो त्यतिबेला । त्यो अहिलेको झापा गाउँ पालिकामा पर्दछ । मैले झापाको पुरानो इतिहासको त्यो झापा नामक किताब लेखेको छ । यसमा ती तथ्यहरु छन् ।
६. यदि तपाईंको जिल्लालाई एउटा मानिसजस्तै सोच्नुप-यो भने, कस्तो स्वभावको हुन्छ ?
यो अति अफ्ठ्यारो प्रश्न हो । असलमा भन्नुपर्दा मानिस सोच्न सक्ने गुणकै कारण मान्छे भएको हो तर हरेक मानिस भिन्न सोच लिएर हुर्केको हुन्छ । तैपनि उसले आफूलाई कमजोर र असक्षम ठान्दैन । यो उसको कमजोरी र मुर्खता पनि हुनसक्छ । अरुलाई म जस्तै भनेर सोच्ने हो भने त मानिस महान नै हुन्छ । आखिर म पनि त एउटा मानिस त हुँ । मेरो सकारात्मक सोचले अरु मानिसलाई पनि आकर्षित गरोस् र गलत काम गर्न प्रेरित नगरोस् भन्ने लाग्छ । त्यो प्रयास अलिक मजस्तै अन्तर्मुखी पनि हुन सक्छ ।
७. भविष्यमा तपाईंको जिल्ला कस्तो भएको देख्दा तपाईं खुशी हुनुहुन्छ ?
यो जिल्ला एउटा भूगोल मात्र होइन । एउटा इतिहास पनि हो । यद्यपि विगतका कहालीलाग्दा दिनहरु र आजको सामाजिक परिवेश बिच भयानक अन्तर छ । तीब्र विकासको विश्व रफ्तारमा यो जिल्ला एक्लै कुदेर कहाँ पुग्छ र । तैपनि अनेक विशेषता बोकेको झापालाई उज्यालो बनाउन विदेशिएका आफन्तहरु घर फर्किउन् र आफ्नो भूमी मै फसल उब्जाउन् भन्नै लाग्छ । अनि विकासका उन्नत चरण पार गरेर मानिसहरु सक्षम, सवल र चेतनशील बनुन् भन्ने लागेको छ । यसो भएमा मात्र आजसम्मको यसको इतिहास कायम रहने र विरासत थामिनेछ । हुनतः झापा देशैभरि समुन्नत जिल्लाको रुपमा चिनिन्छ । तैपनि यसले अरु क्षेत्रसँग मात्र नभई विश्वभरमै आफ्नो पहिचान अझै बढाओस् भन्ने लाग्नु नै खुशी हुने आधार हो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



