जहाँ गुराँसका बोटमा हिउँ फुल्छन्, जहाँ गुराँसका बोटबाट हिउँ झर्छन्

अशोक सिलवाल

काठमाडौं छाडेको दोस्रो दिन नै फिकुरीको डाँडा (३८०० मि.) पुग्न सकिन्छ ।

राजधानीबाट सबैभन्दा नजिकको नयाँ ट्रेकिङ गन्तव्य फिकुरीबाट देखिने हिमश्रृंखला अलौकिक रहेको यहाँ पुग्ने आँखाहरुले अनुभुत गर्छन् । हिउँ पर्ने याममा फिकुरीमा लालीगुराँस फुल्ने बोटमा हिउँ फुलेको देख्न सकिन्छ । हिउँ झरेको देखिन्छ । हिउँको खास मजा लिन यो एक अद्भुत यात्रा हुनसक्छ ।

राजधानीबाट लगभग सय किलोमिटर उत्तरपश्चिममा रहेको फिकुरी डाँडाबाट लाङटाङ, गोसाइकुन्ड, तामाङ हेरिटेज, रुबी भ्याली र गणेश हिमालको पदयात्रामा समेत जोडिन सकिन्छ । यहाँबाट लाङटाङ, गोसाइकुन्ड, मनास्लु, गणेश हिमाल, अन्नपूर्णमात्र होइन, तिब्बती हिमश्रृंखलासमेत देख्न सकिन्छ । राती डाँडाबाट काठमाडौंको झिलिमली समेत देखिने स्थानीय बताउँछन् ।

यो ट्रेलमा स्थानीय समुदायकोे जीवनसंस्कृतिमात्र होइन, परम्परागत कृषि प्रणाली, विछट्टै लाग्ने पहाडी दृश्य, अनेक प्रजातिका रुखविरुवा तथा चराचुरुङ्गी पनि अवलोकन गर्न सकिन्छ । ज्याउदाको ताल, नौघडेरी, किस्पाङ ताल, किस्पाङ गुम्बा, दुङमाङको भेडाफार्म, पैसा फाल्ने सुरुङ आदि यो ट्रेलका विशेष आकर्षण हुन् । पहिले यही डाँडाको नामबाट फिकुरी गाउँ विकास समिती थियो । अहिले यो किस्पाङ गाउँपालिकामा पर्छ । नुवाकोट र रसुवाका ऐतिहासिक तथा साँस्कृतिक स्थलहरुको अवलोकन गर्दै ट्रेकिङ दिनहरुलाई लम्ब्याउन पनि सकिन्छ ।

अहिले नै फिकुरी ट्रेक गर्ने हो भने एक वा दुई रात ‘क्याम्पिङ’ गर्नुपर्छ । त्यसैले त्यो ट्रेकलाई सहज र पहुँचयोग्य बनाउन फिकुरी डाँडा वा तल जंगलमा टि हाउस वा कम्युनिटी लज आवश्यक देखिन्छ । त्यसैगरी पदमार्गलाई व्यवस्थित गर्न जरुरी छ भने मोनगाउँ, कर्कले, काहुले आदि गाउँहरुमा होमस्ट संचालन आवश्यक देखिन्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button