लाइफस्टाइलः बच्चालाई ग्याजेट होइन, नेचर एडिक्ट बनाऔँ
डाेरबहादुर केसी
काेराेनाकाे महामारी सुरुवात भएको पनि दुई वर्ष पुरा भईसक्याे । यस महामारीले मानिसको जीवनशैलीमा व्यापक परिवर्तन ल्याईदिएको छ । मान्छे निश्चित घेरामा खुम्चिएर बस्नुपर्ने बाध्यता सिर्जना भएको छ । मानिसहरु चाहेको समयमा देश प्रदेश घुम्न सकिरहेका छैनन् । पछिल्लो समयमा ओमिक्राेनकाे आक्रामक फैलावटले हामी सबैलाई थप तनाव सिर्जना गरेकाे छ ।
काेराेना महामारीले सबै वर्ग, सबै उमेर समुह र सबै क्षेत्रका मान्छेकाे जीवनशैलीमा उत्तिकै असर गरेकाे छ तापनि स्कुले बच्चाहरुकाे जीवनशैलीमा ठूलो परिवर्तन ल्याईदिएकाे छ । दुई वर्षदेखि घरभित्र गुम्सिएर बस्न बाध्य बालबालिकाहरु बिचमा केही समय स्कुल गएपनि पुनः घरमै बस्नु पर्ने बाध्यता सिर्जना भएको छ । स्कुलहरु बन्द भईसकेका छन् । स्कुलहरुले पुन: अनलाइन कक्षा सञ्चालन गर्ने तयारी गर्दै छन् । बच्चाहरु फेरि माेबाईल तथा कम्प्यूटरकाे स्क्रिनमा लामो समयसम्म बस्न बाध्य भएका छन् । कामकाजी आमाबुबाहरु उनीहरुलाई घरमा छाडेर आफू दैनिक कामकाजमा जान बाध्य छन् । स्क्रिनकाे बढ्दाे प्रयाेगले बच्चाहरुकाे स्वास्थ्यमा नराम्राे असर पर्नुकाे साथै बच्चाहरु कतै यसकाे गलत प्रयाेग गरेर कुलतमा फस्छन कि भन्ने डर समेत अभिभावकहरुमा ब्याप्त छ ।
शहरीकरणले गर्दा अहिले बच्चाहरू प्रकृतिदेखि टाढा हुँदै गईरहेका छन् । ग्याजेटकाे प्रयाेगले उनीहरुमा एकाङ्कीपन बढ्दाे छ । बच्चाहरु अनावश्यक रिसाउने, झाेक्किने खालकाे स्वभाव देखिन थालेकाे छ । उनीहरुकाे अधिकांश समय ग्याजेटकाे प्रयाेगमा बन्द काेठामा बस्न मन पराउन थालेका छन् ।
बच्चालाई फुर्सदकाे समयमा प्रकृतिकाे नजिक पुर्याउन सकियाे भने उनीहरुलाई अलाैकिक आनन्द दिलाउन सकिन्छ । प्रकृति एउटा खुला पाठशाला भएकोले यहाँबाट बच्चाहरूले आफै धेरै कुरा सिक्ने अवसर पाउँन सक्छन् । जस्तैः भाैगाेलिक, सामाजिक तथा सांस्कृतिक अवस्थाको जानकारी पाउने । वन्यजन्तु, बनस्पति तथा बाेटबिरुवाहरु बारे प्रत्यक्ष बुझ्ने अवसर पाउने । भईपरि आउने समस्याको उचित समाधान गर्न सक्ने सिपकाे विकास हुने । सामुहिक भावनाको विकास हुने तथा शारीरिक रुपमा तन्दुरुस्ती प्राप्तहुने आदि ।
काठमाडौं उपत्यकाकाे सन्दर्भमा कुरा गर्दा याे यस्ताे उपयुक्त ठाउँ हाे जहाँ हामी एक-आधा घण्टाकाे यात्रामा प्रकृतिले भरिपुर्ण सुन्दर ठाउँहरुमा सजिलै पुग्न सक्छौं । हिमाली, पहाडी, खाेंच, वेशीं, नदी किनार आदिकाे वातावरण चुम्न सक्छाैं । उपत्यका वरिपरिका अग्ला हरियाली सुन्दर डाँडाहरुमा बसेर काठमाडौंकाे घनावस्तीलाई आकाशमा उड्ने चराले हेरे जस्तै दृष्टिले हेर्न सक्छाैं । बच्चाहरुका नजरहरुलाई सुन्दर हिमाल तथा हरियाली नागवेली पर्वतमालामा डुलाउन सक्छौं । रातदिनकाे स्क्रिनमा परेर खुम्चीएका हाम्रा बच्चाको नजरलाई लामो क्षितिजसम्म फैलाउने अवसर दिलाउन सक्छौ । हरियाली वातावरणमा भुलाउन सक्छौं र उनीहरुलाई स्किनकाे दुष्प्रभावबाट केही समयकाे लागि भएपनि टाढा राख्न सक्छौ । साथै, बच्चासँगसँगै हामी अभिभावक पनि रमाएर तनावमुक्त रहन सक्छौं ।
हामीसँग उपत्यका आसपासमै यस्ता थुप्रै क्षेत्र छन् जहाँ अहिले पनि विदाकाे दिनमा बच्चाहरुसँगसँगै दिनभर पदयात्रा तथा वनभाेज गरेर भुल्न सक्छौं । बाटोमा आउँदा जाने क्रममा आवश्यक स्वास्थ्य सावधानी अपनाएर मात्र पनि खुलाठाउँमा दिनभर मास्कविना स्वास्थ अक्सिजन लिन सक्छौ ।
काठमाडौंमा यस्ता रमणीय स्थानहरु धेरै छन् तापनि केही प्रतिनिधि पदयात्रा स्थलकाे रुपमा ढुंगेनबाट रिसालडाँडा हुँदै लाकुरी भन्याङ्ग । गाेदावरी-फूलचाेकी । हात्तिवन तथा टाैदह हुँदै चम्पादेवी जाने रुट । चन्द्रागिरी । ककनी तथा शिवपुरी क्षेत्र । नगरकाेट-तेलकाेट रुट । पनाैती-नमाेबुद्द तथा बल्थली आदिलाई लिन सकिन्छ ।
यी स्थलहरुमा ठाउँ ठाउँमा खाना रेष्टुरेन्टकाे राम्रो ब्यवस्था छ तापनि वर्तमान समयमा काेराेना महामारी व्यापक रुपमा फैलिने क्रममा रहेकाेले हाेमप्याक खानेकुरा उत्तम विकल्प हुन सक्छ ।
पक्कै पनि अहिले काेराेना महामारीलाई नजरअन्दाज गर्न मिल्दैन त्यसैले धेरै परिवार तथा साथीहरू जम्मा गरि ठूलो संख्या जानु उपयुुक्त नहुन सक्छ । आफ्नै परिवार तथा दैनिक भेटघाट भईरहनु पर्ने परिवार विच यस्ता कार्यक्रमहरु राख्न सकिन्छ ।
प्रकृतिको नजिक जानु जति रमाईलाे र आनन्दमय छ, त्यतिकै यसमा चुनाैतीहरु पनि धेरै रहेकाेले अभिभावहरुले विशेष सतर्कता अपनाउनु जरुरत छ । खासगरी अहिले रहेकाे काेराेना संक्रमणकाे जाेखिमबाट बच्ने बचाउने कुरामा विशेष सजगता अपनाउनु पर्दछ । बच्चाहरुलाई आफ्नै आँखाकाे निगरानीभित्र राखेर लड्ने, हराउने तथा जंगली जनावरबाट बचाउने कुरामा समेत उचित ध्यान दिनु पर्ने हुन्छ । कतिपय ठाउँमा बेलाबखत लुटपाटका घटनाहरु समेत पनि सुनिने गरेकाे छ, त्यस्ता बढि एकान्त भएको ठाउँमा एक्लै नजानुनै उपयुुक्त हुन्छ । अभिभावकले भर्मणकाे क्रममा वातावरणलाई प्रदुषित हुनबाट जाेगाउन जिम्मेवारीपुर्ण नागरिकको भूमिका समेत निभाउनु पर्दछ ।
तसर्थ: आउनुहोस्, तपाई हामी पनि हाम्राे जीवनशैली तथा साेचमा अलिकति परिवर्तन गराैं । फुर्सदको समयकाे उचित सदुपयोग गराैं । आफ्ना बालबच्चाहरुलाई अब अलि फरक वातावरणमा अभ्यस्त पाराैं । उनीहरुलाई पनि प्रकृतिले दिने अलाैकिक आनन्दकाे अनुभुति र उर्जा दिलाउँ । बढ्दाे ग्याजेटकाे दुस्प्रभाबाट आफ्ना बच्चालाई बेलैमा जाेगाउँ । हामी पनि प्रकृतिमा रमाउँ । बच्चालाई पनि रमाउने बाताबरण सिर्जना गराैं । जय प्रकृति ! जय बालबालिका !!
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
Would u have provision of English language too? Or write up only in Nepali language.
Yes, sir.