
‘व्रत गर्ने एकादशी, तीर्थ जाने काशी’
ब्राह्मणपुत्रको लकडाउन डायरी–५४
भरत शर्मा
जीवनमा शान्ति, सुख, र आनन्द प्राप्तिका लागि दुईवटा बाटा छन् । एउटा व्रत, अर्को तीर्थ । त्यसैले भनिएको हो, व्रत र तीर्थ गर्दा मनभित्र प्राप्त हुने शक्तिको कुनै गणना हुँदैन ।
हजुरबा÷हजुरआमाले भनेको सुनेको छु, ‘व्रत गर्ने एकादशी, तीर्थ जाने काशी ।’ श्रीमद्भागवत महापुराण वाचन गर्दा पण्डितहरुले यसलाई लोकभजनमा गाउने नै गर्छन् । महापुराणमा एकादशीको अपार महत्वबारे निकै चर्चा छ ।
मैले एकादशीको महत्वबारे सुनेको ३० बर्ष र काशी गएको २० बर्ष पुगेछ । एकादशी व्रत गर्न शुरु गरेको दुई दशक भएछ । आज पनि एकादशीको व्रत गरेँ । फिरन्ते जिन्दगीको यात्रामा बीच–बीचमा व्रत खण्डित हुन पुगेको छ । काशीमा छात्र जीवनमा शुरु भएको एकादशी व्रत स्वदेश होस् वा विदेश यात्रामा रहँदा समेत पालना गर्न प्रयास जारी छ । सनातनशास्त्रले बाध्यता र भूलबस् गरेको गल्तीको क्षमा दिने प्रावधान छ । सनातन धर्म सबैभन्दा सरल धर्म लाग्छ मलाई । कसरी भन्नुहोला ? उदाहरण पेस गर्छु–
हेर्नुस्– शास्त्रले हरेक दिन उठेर नुहाउन पर्छ भनेको छ । यदि नुहाउन सकिएन भने पन्चस्नान (हात, मुख, शरीरमा पानी छर्कने), त्यो पनि सकिएन भने मन्त्र स्नान गर्न सकिन्छ । गंगा र नदीको नाम सम्झेर पनि स्नान हुन्छ । यस्तो सजिलो उपाय अन्य धर्मशास्त्रमा छैन होला । मलाई त थाहा छैन, यदि तपाईहरुलाई थाहा छ भने लेख्नुस्, हामी पनि पढ्छौं ।
सनातनशास्त्रमा हरेक काममा वैकल्पिक उपाय दिइएको छ । यसो नहुँदा त्यसो गर्ने, यसको सट्टा अर्को भन्ने उपाय र गल्ती भएमा क्षमा पनि पाइन्छ । हरेक दिनको नित्य कर्म र कामना गरेर गरिने कर्म गर्दा अन्जानमा गरेको गल्तीको अन्तिममा क्षमायाचना मन्त्र पढेर याचना माग्न सकिन्छ ।
यसैले व्रत बस्दा सबै नियमको पालना गर्न नसक्दा क्षमा पाइन्छ । सनातनशास्त्रले सबैभन्दा उत्तम व्रत एकादशी व्रत भनेको छ । एकादशीको दिन व्रत गर्नेहरुले अन्य दिनको व्रत नगर्दा पनि हुन्छ । एक बर्षमा २४ वटा एकादशी पर्दछन् । पात्रोअनुसार हरेक महिना शुक्लपक्ष र कृष्णपक्षको १५–१५ दिनमा पर्ने ‘एकादशी’को दिन सनातनधर्मका अनुयायीहरुले व्रत गर्नु भनेर निर्देश गरिएको छ ।
आज ज्येष्ठशुक्लपक्षको निर्जला एकादशी हो । आज हरेक सनातनीहरुले आफनो घरको मठमा तुलसीको दल राख्ने दिन हो । यो पटक आजको दिन एकादशी, सोमबार र शिवयोग परेको दिन भएकाले आजको दिन व्रत गर्नाले विगतका दिनहरुमा जान–अन्जानमा गरेका गल्तीहरुको क्षमा हुने शास्त्रीय भनाई छ । समाज भित्र हरेक व्यक्तिले राम्रो गर्न खोज्दाखोज्दै गल्ती गरेको हुन्छ । त्यसको प्रायश्चित भनेको व्रत हो । व्रतका दिन ध्यान, जप र मौन बस्नुलाई निकै राम्रो मानिन्छ ।
निर्जलापछि योगिनी, हरिशयनी, कामिका, पुत्रदा, अजा, हरिपरिवर्तिनी, इन्दिरा, पापाङ्कुशा, रमा, हरिबोधिनी, उत्पत्तिका, मोक्षदा, सफला, पुत्रदा, षड्लिता, भीमा, विजया, आमलिकी, पापमोचनी, कामदा, बरुथिनी, मोहिनी, अपरा नामका एकादशी रहेका छन् ।
हरेक एकादशीको फरक–फरक कथा छ । निर्जला एकादशीको दिन तुलसीको दल राख्ने, हरिशयनी एकादशीका तुलसी रोप्ने, हरिबोधिनी एकादशीको दिन तुलसीको विवाह गर्ने प्रचलन छ । आयुर्वेदले त तुलसीलाई औषधिको रुपमा प्रयोग गर्छ । चिकित्सा विज्ञानले पनि व्रत बस्नुलाई स्वास्थ्यहितकारी भन्न थालेको छ । कमसेकम महिनामा २ दिन एकादशीको दिन व्रत गर्दा शरीरमा स्फूर्ति आउने अनुभव मैले पनि गरेको छु ।
एकादशीको महत्व पंण्डित हजुरबाबाट सुनेँ । काशीमा पढ्दा एकादशीको दिन व्रत गर्ने नियम थियो । काशीबाट काठमाडौं फिरेपछि पनि नियमलाई पालना गर्दै आएँ । अनुभवको आधारमा भन्छु, ‘जसले व्रत गर्छ, उसले मात्र व्रतको फाइदा लिन सक्छ । व्रत नगर्नेले कहाँबाट व्रतको फाइदा लिनु नि ?’
यदि तपाई पनि व्रतको अनुभव चाहनुहुन्छ भने ढिलै होस्, कोही वात छैन, अबदेखि एकादशीको व्रत शुरु गर्नुहोस् । व्रतको फाइदा तपाईले स्वंय अनुभव गर्नुसक्नु हुन्छ । व्रत बसेर अरुलाई फाइदा हुने होइन, जसले व्रत ग¥यो उसैले फाइदा लियो ।
भारत र नेपालमा बस्दा मात्र होइन, चीनमा दुईबर्ष बस्दा पनि एकादशीको दिन व्रत कायम रह्यो । एकादशी व्रत भएको दिन मेरा छात्रले चिनियाँ स्याउ–केरा–मौसम अनुसार फलफूल उपहार दिने गरेका थिए । मदनले एकादशीको दिन सम्झेर पूर्णिमाको दिनसम्म पुग्ने गरी फलफूल ल्याइदिने गरेका थिए ।
एकादशीमा फलाहार गर्न सकिन्छ । अन्नलाई निषेध मानिएको छ । जलाहार र फलाहार गर्दा शरीर हलुङ्गो हुने भएर होला, एकादशीको दिनको प्रतिक्षा गरिन्छ । शास्त्रका आधारमा अध्येताहरुले भन्ने गर्छन्, सनातनशास्त्र प्रेमीहरुलाई २४ एकादशी, अक्षय तृतीय (परशुराम जयन्ती), कृष्ण जयन्ती, महाशिवरात्री, श्रीरामनवमी बर्षमा २८ दिने व्रत गर्दा बर्षभरी व्रत पुरा हुन्छ ।
यीबाहेक अन्य दिनमा आफ्नो मनचाह अनुसार व्रत लिए हुन्छ । व्रत लिने हरेक व्यक्तिको वैयक्तिक अधिकार हो । कसैलाई व्रत लिनु नलिनु भन्नु आवश्यक छैन । हरेकको जीवनमा घटित समय अनुसार व्रत लिनु आवश्यकता हुन आउँछ । मैलेचाहिँ आजसम्म कसैलाई व्रत लिनुस् वा व्रत छोड्नुस् भनेको छैन । तर, व्रतको महत्वबारे बताउन छोडनु भने हुँदैन । मैले मेरा मित्र, आफन्त, सहकर्मी, छात्र–छात्रा सबैलाई व्रतको बारेमा जानेको कुरा भन्दै आएको छु । केही मित्रहरुले व्रतको महत्व सुनेपछि व्रत शुरु गरेका उदाहरण पनि छन् । कतिले व्रतको आवश्यकता छैन भनेर बहस गर्न खोज्छन् । उनीहरुलाई जय हो भन्नुबाहेक त्यस्ता व्यक्तिसँग बहस गर्दा समयको बर्बादी मात्र हो भनेर पन्छिने गरेको छु । मैले भुलवश् गल्ती गरेको भए क्षमा दिनुहोस् ।
बुढेसकालमा मात्र व्रत गर्ने भन्ने मान्यता एकसय प्रतिशत गलत हो । व्रत ६० बर्ष भन्दा पहिले लिनुपर्छ, उमेर ढल्केपछि हाम्रो शरीरभित्र रोगले घर बनाएको बेला के व्रत गर्नु ? उमेर छँदै र आफ्नै पाखुरी खर्चेर, पसिना बगाएर कमाएको धन खर्च गरेर व्रत र तीर्थ गर्दामात्र फल पाईन्छ । छोरा, छोरी, बुहारी, ज्वाईं वा आफन्तले तीर्थ गराइदेलान् भनेर आशा राख्नु हुँदैन । कसैसँग आशा राख्दा मनभित्र दुःख लुकेको हुन्छ । दुःखका साथ गरिएको व्रत र तीर्थ जीवनमा फलदायी हुँदैन । उमेर छदै व्रत गर्ने बानी भयो भने उमेर ढल्कँदा पनि व्रत गर्न सकिन्छ । व्रत गर्ने अभ्यास नभएपछि भविष्यमा कसरी व्रत गर्ने ?
भोक सहन सक्दिनँ, त्यसैले व्रत बस्दिनँ भन्ने मेरा कयौं मित्र र आफन्तजन छन् । ‘शरीरमा रोग छ, औषधि खानुपर्छ, त्यसैले केही नखाईकन औषधि नलिनु भनेको छ डाक्टरले, कसरी व्रत गर्ने ?’, धेरैले यसो पनि भन्छन् ।
शास्त्रले भनेको छ, रोग, भोग, शोकको सरल उपचार भनेको महिनामा दुई दिन एकादशीको व्रत गर्ने हो । फेरि पनि कोही वात छैन । व्रत गर्ने÷नगर्ने तपाईको अधिकार हो । व्रतको महत्वबारे लेख्ने, बोल्ने, सुन्ने र सुनाउने मेरो काम जारी रहन्छ ।
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)