काठमाडौं फर्केपछि नेपाल साइकल उत्सव टोलीलाई भीआइपी लाउन्जले स्वागत कार्यक्रम गर्ने
कोभिड–१९ ले पर्यटन कोमामै पुगेको बेला मेची–महाकाली साइकल यात्रामार्फत पर्यटन उत्थानमा लागिपरेको कारण यो स्वागत कार्यक्रम राखिएको हो ।
काठमाडौं फर्केपछि नेपाल साइकल उत्सव टोलीलाई ठमेलस्थित भीआइपी लङले स्वागत कार्यक्रम गर्ने उत्सव टोली सदस्य मुक्ति पान्डेले बताए । कोभिड–१९ ले पर्यटन कोमामै पुगेको बेला मेची–महाकाली साइकल यात्रामार्फत पर्यटन उत्थानमा लागिपरेको कारण यो स्वागत कार्यक्रम राखिएको ठमेल पर्यटन विकास परिषद्का महासचिव समेत रहेका लाउन्जका संचालक ध्रुव अधिकारीले बताए ।
विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा पर्यटनकर्मीहरुको समुह ‘नेपाल साइकल यात्रा’मा छ । नेपाल साइकल उत्सव नाम दिइएको यो साइकल यात्रा कञ्चनपुरको दोधाराचाँदनीदेखि इलामको श्रीअन्तुसम्मको हो । साइकल टोली पश्चिम नेपालको दोधाराचाँदनीबाट धनगढी, ठाकुरद्वार, नेपालगन्ज, वीरेन्द्रनर, घोराही, स्वर्गद्धारी, तौलिहवा, भैरहवा, बुटवल, हुँदै वालिङ आइपुगेको छ । यसपछि टोली पोखरा, नारायणघाट, हेटौडा, वीरगन्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर टोली श्रीअन्तु पुग्नेछ । टोलीले यो यात्राममार्फत पर्यटनलाई जीवन प्रदान गर्न र आन्तरिक पर्यटन प्रवर्धनको सन्देश प्रवाह गर्ने नेपाल पर्यटन वोर्डले जनाएको छ ।
वोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर्स् एन्ड ट्राभल एजेन्ट्स् एशोसिएसन (नाटा) र नेपाल पर्वतारोहण संघ (एनएमए)को सहयोगमा जारी तीन साताको साइकल यात्रापश्चात समूह काठमाडौं फर्किने छ ।
साइकल समुहमा विश्व साइकलयात्री शाहसहित राजेन्द्र सापकोटा, मुक्ति पान्डे, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, नीरा बराल, अशोक सिलवाललगायत छन् ।
पश्चिमको महाकालीदेखि पूर्वको मेचीसम्म साइकल यात्राको दुरी १ हजार ६ सय २४ किलोमिटर रहेको छ ।
