लकडाउन वार्ताः कराउने कोही छैन, किताब कराउँदैन

महामारीमा नेपालनाम्चाले सुरु गरेको लकडाउन वार्तामा अक्षर उद्यमी कमल ढकाल

लकडाउन छ तर तपाईको आत्मविश्वास त डाउन भएको छैन नि ?
कन्फिडेन्स लुज हुने भनेको आफनै कारणले त हो । मैले मेरो फेसबुकमा लेखेको छु, ‘हामी खुशी किन्न सक्दैनौ । हामी किताब किन्न सक्छौ, जसले हामीलाई खुशी बनाउँछ । पढौ लेखौ, आफै आफैसंग रमाऔं र खुशी बनौं । लकडाउनले आफैलाई भित्रबाट हेर्न दिएको यो समय पारिवारिक र उर्जामुलक भएको छ । झन् बढी उर्जा बढेको अनुभुति गरेको छु । पढेर, लेखेर आफैसँग रमाउँन खोज्दैछु । यद्यपि संक्रमित र मृतकको गणना मतगणनाभन्दा चर्काे देखेर दिक्क लागेको छ ।

दिनहरु कसरी बित्दैछन् समयको सदुपयोग कसरी भैरहेको छ ?
एक बर्ष अगाडिको ठीक यहि बेला सम्झिरहेको छु । पढने लेख्ने मान्छेलाई यो बेलाले झन् बढी प्रायोगिक बनाउँदो रहेछ । त्यतिबेला मैले ‘म त स्वर्गमा छु’ भनेर लेखेको थिएँ, जसलाई केही पत्रिकाले साभार पनि गरेका थिए । लकडाउनमा मैले त्यतिबेला आफ्नो शरीरमाथि आफैले प्रयोग गरेको थिएँ । कहिले रातीे ३ बजेसम्म, कहिले बिहान ३ बजेदेखि पढ्ने लेख्ने, कहिले दिउँसभर पढ्ने त कहिले रातभर पढ्ने । कहिले दिउँसो सुत्ने त कहिले राती नसुत्ने । कहिले फिल्म मात्र हेर्ने । कहिले फोन मात्र गर्ने । कहिले केही नबोल्ने । दाह्री पालेर मस्त बसेको थिएँ । यी सबै गर्दा थाहा पाएँ शरीरको आफ्नै वैज्ञानिक नियम रहेछ । यो पाला मैले फोन के रहेछ त भनेर प्रयोग गरिहेरेँ । पाँच दिन जति फोनलाई दिउँसभर अफ गर्ने र रातको एक बजे त्यो फोन हेर्ने । त्यसमा फेसबुक, युट्युब, ट्वीट, म्यासेन्जर, ह्वाटसएपका म्यासेज । मैले थाहा पाएँ, ‘सबै फोनहरु मेरो लागि आउँछन् सोचेथे । सबका सब फोनहरु त मैले अरुको लागि पो बोकेको रहेछु ।’ त्यसपछि फोन अफ जस्तै गरिदिए कत्ति दिन । अनौठौ र आश्चर्यजनक ढंगले आफुभित्र आएको परिवर्तन हेरेर म चकित छु । आफूलाई, प्रकृतिलाई र जीवनी-किताबलाई एकैसाथ हेरिरहेको छु । लेखिरहेको छु ।

अघिल्लो बर्षको लकडाउन र यो बर्षको लकडान तपाइलाई उस्तै लाग्दैछ कि फरक ?
सामाजिक रुपमा हेर्दा यो बर्ष बढी गाडी गुडिरहेको देखेको छु । पोहोर त चरा पनि बाहिर ननिस्केला जस्तो थियो । यो पाला त्यस्तो छैन । संक्रमितको संख्या ह्वात्तै खहरे बढे झै बढेकोले पनि गाडीहरु बढी देखिएको होला । व्यक्तिगत रुपमा भने पोहोर पनि लेखपढ्मै र यो पाला पनि लेखपढ्मै बितेको छ । कराउने कोही छैन । किताब कराउँदैन । क्या ! मज्जा भैरहेछ । पारिवारिक रुपमा भने पहिले हाम्रो घरको सबै परिवारलाई कोभिड भएको थियो । केही भएन, कसैलाई अस्पताल लैजान परेन । यसपाला मेरो माइलो भाइ विमल ढकाल र भान्जी साया दुलाललाई कोभिड भयो । भाइलाई एकदम गाह्रो भएर ओम अस्पतालमा भर्ना नै गर्न पर्यो । बेड पाउनको लागि गरिएको संघर्षको छुटै कथा बन्दछ । पहिलेको र अहिलेको के भन्ने ? फरक र उस्तै । उस्तै र फरक दुवै लाग्दैछ ।

छिमेक र वरपरको वातावरण कस्तो छ ?
शहरमा घर बढी र फूल कम हुदै गएको यो समयमा फूल देखिँदैछ । सबैले आफ्नो घरलाई समय दिएका छन् । कागले गुँड लगाएर बच्चा कोरल्दैछ । प्रकृतिलाई कोरोना लागेको छैन । मान्छेलाई मात्र लागेको त हो । सबै आ–आफ्नो घरको छतबाट कम्तिमा एक घन्टा कुराकानी गर्दा छिमेकमा आत्मियता बढाएको छ ।

लकडाउन नभएको भए आज तपाई कहाँ के गर्दै हुनुहुन्थ्यो ?
मान्छे खाने बित्तिकै हिड्ने प्राणी हो । एकै ठाउँमा बस्न सक्दैन । ऊ छटपट छटपट गरिरहन्छ । हामी बुढाबुढी मालदिभ्स् जाने सुरमा थियौं । लेखनकुन्जमा पुस्तकहरु लोकापर्ण हुन्थे । नाटकहरु चल्थे । भरत नाट्यम एक महिना कुन्ज थिएटरमा चल्दै थियो । तर, सबैलाई दिउँसै तारा देखाउने यो समयमा म पनि बेला बेलामा रातीतिर आकाशमा तारा हेर्दछु र रोमान्चित हुन्छु ।

लकडाउनको समयलाई भविष्यमा कसरी सम्झनु हुन्छ ?
यो पाला त हामी साउथ एशिएन बढी लकडाउनमा पर्यौं । त्यो भन्दा पनि भारत र नेपाल अझ बढी आक्रान्त भयो । अघिल्लो पल्ट हेर्ने हो भने मान्छेदेखि मान्छे डराउने, सारा पृथ्वीले एकै पल्ट मास्क लगाएजस्तो, स्यानिटाइजर लगाएजस्तो, रोएजस्तो, पृथ्वी नै बिमारी भएजस्तो, सबैले एकै पल्ट संसारमा एकै कुरा सम्झने कहिल्यै थिएन । सबैले एकैपल्ट संसारमा एक दिन हैन, धेरै दिन कोरोना सम्झिएको । एक कोरोना एक लकडाउनले लाखौ कुराहरु दिमागमा ल्याएको यो समय सम्झनाको लागि त धेरै ठुलो उपलब्धि हो । मान्छेको लागि अत्यासलाग्दो यो समय प्रकृति र चराहरु बढे । खोलानाला सफा भए । हिमालहरु हाँसे । दुःख पनि पछि सम्झँदा सुख हुन्छ भने कोरोना हामीले पाएको बेस्ट उपलब्धि हो ।

के तपाईलाई लाग्छ, लकडाउन नै समस्याको समाधान हो ?
हरेक समस्याको समाधान एक मात्र हुँदैन । धेरै कुरा त्यसमा जोडिएर आउँछन् । भर्खरै चन्द्रागिरी नगरपालिकाले पुरै ठप्प बनायो । जनता खुशी भए । केही समयको कोरोनाको चेन ब्रेक गर्न र अस्पतालमा भीड बढ्न नदिन यो एक उपाय हो । अझ ठुलो उपाय भनेको भ्याक्सिन नै हो । सबैलाई घरघरमा वा वडा वडामा अल्फाबेटिकल्ली नाम अनुसार लगाइदियो भने बिस्तारै यो जान्छ, जसरी अमेरिकामा फुक्का भएर मास्क पनि लगाउन नपर्ने भएको छ । हामी पनि लकडाउनलाई डाउन गर्न चाहन्छौ । आफु डाउन हुन चाहदैनौ । किनकि यो धर्तीको मान्छे हौं हामी ।

कारोनाको कारण तपाईंको जीवनदृष्टिमा के परिवर्तन आयो ?
स्वास्थ्य ठुलो हो भन्ने सबैलाई थाहा थियो । तर भित्री रुपमा अनुभुत गरायो । त्यसैले मान्छेहरुले स्वास्थ्यमा बिशेष ध्यान दिए । मैले माथि भनेझै मेरो शरिर, मेरो समय र मेरो भन्ने धेरै कुरालाई भित्री रुपमा बुझन पाएँ । परिवारलाई समय नदिएर दौडादौडको जीवनमा नदौडी घरमै परिवारसंग रेस्ट गर्न पाइयो । सकारात्मक रुपमा हेर्दा पढ्ने, लेख्ने, फिल्म हेर्ने, मन लागेको गीत सुन्ने । सुत्न मन लागेको बेला सुत्यो, उठ्न मन लागेको बेला उठ्यो । खान मन लाग्दा खायो । प्र्रकृतिलाई अझ बढी प्रेम गर्न सिकायो । मान्छेलाई प्रेम गर्न सिकायो । प्रेम भन्ने कुरा कत्ति मज्जाको रहेछ भन्ने कुरा भित्री रुपमै बुझायो । प्रेम नगर्दा प्रकृतिलाई होस् वा जीवनलाई के हुँदोरहेछ भन्ने सिकायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button