लेखकलाई परिचयपत्र

नेपाल प्रज्ञा–प्रतिष्ठानले लेखक-साहित्यकारलाई परिचय–पत्र दिने भएको छ । वाङ्मयका साधक लेखक-साहित्यकारलाई परिचय–पत्र दिनका लागि कार्यविधिसमेत तयार भइसकेको छ ।

प्राज्ञपरिषद् सदस्य प्रा.डा. योगेन्द्रप्रसाद यादवको संयोजकत्वमा गठित प्राज्ञपरिषद् सदस्यहरू प्रा.डा. उषा ठाकुर, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपाल रहेको पाँच सदस्यीय कार्यदलले हप्ता दिन पनि नबित्दै लेखक-साहित्यकार परिचय–पत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि–२०७७ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन कुलपतिसमक्ष बुझाएको छ । संशोधनसहित कार्यविधि तयार पार्नका लागि कार्यदललाई १५ दिनको समयसीमा दिएको थियो । कार्यदलले लेखक-साहित्यकार एवम् विज्ञहरूसँग विभिन्न चरणमा छलफल र परामर्श गरी कार्यविधिको संशोधित मस्यौदा तयार पारी बुझाएको हो ।

‘मुलुकका वाङ्मय साधकहरूलाई परिचय–पत्र दिने पहिलेदेखिकै योजनालाई अब हामी साकार रूप दिँदैछौँ । यही महिनाभित्र राष्ट्रपतिज्यूको बाहुलीबाट परिचय–पत्र वितरण आरम्भ गरिने छ, कार्यविधिको मस्यौदा बुझ्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले भने, छोटो समयमै कार्यविधिको संशोधित मस्यौदा तयारी पारी बुझाएकामा कार्यदललाई धन्यवाद ।’

‘लेखक-साहित्यकार परिचय–पत्र’ नामाकरण गरिएको परिचय–पत्रमा लेखक-साहित्यकारको नाम-उपनाम, नागरिकता नम्बर, जिल्ला, जन्ममिति, विषय क्षेत्र र विधा खुलाइने छ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले भने, ‘कुनै पनि स्रष्टालाई श्रेणीकरण गरिने छैन । परिचय–पत्र पाउनका निम्ति सम्बन्धित लेखक-साहित्यकारले आफ्नो कृतिसहित आवेदन दिनुपर्ने छ ।’

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button