कुमार नगरकोटी एन्ड ‘खर्पनमा बोकी हिंड्छु अचेल’ (भिडियो)
कुमार नगरकोटीको पुस्तक ‘कल्प-ग्रन्थ’को प्रीमियम संस्करण २०७८ वैशाख १५ गतेबाट होम-डेलिभरी हुने भएको छ | गत मंसिर १ गतेदेखि २०२१ रुपैयाँ प्री-भुक्तान लिई मुद्रण गरिएको पुस्तक चैत्र १४, २०७७ मा सार्वजनिक गर्ने भनिए पनि पुस्तक छपाइको प्राविधिक कारणले ढिला भएको राजधानीमा आयोजित एक कार्यक्रममा प्रकाशकले बताएका हुन् |
पुस्तकको प्रोमोसनल गीत ‘खर्पनमा बोकी हिंड्छु अचेल’ सार्वजनिक कार्यक्रममा बोल्दै बुक-हिलका अध्यक्ष भूपेन्द्र खड्काले कल्प-ग्रन्थको ३७१३ प्रति प्री-बुकिङ भई मुद्रण भएको तथा पुस्तक सार्वजनिक अगावै पाठकहरूको ठेगानामा डेलिभर गरिने र वैशाख २५ गते औपचारिक लोकर्पण गरिने बताए | ‘किताब अनुमान गरेभन्दा निकै ठूलो र बहु-मुद्रण भएकाले ढिला भएकोमा सम्मानित पाठकसमक्ष समयमा सार्वजनिक गर्न नसकेकोमा माफी माग्दछौँ तर किताब हात परेपछि पाठकले मुद्रणमा भएको ढिलाइलाई आफैँ बुझ्नुहुनेछ’, उनले भने |
कार्यक्रममा कल्प-ग्रन्थको आफ्नो सपना पूरा भएकोमा कुमार नगरकोटीले सबैप्रति आभार व्यक्त गरे | त्यस्तै गायक सुगम पोख्रेलले कुमार नगरकोटीको यो गीत आफ्ना लागि प्रसाद भएको बताए |
सार्वजनिक ‘खर्पन’ गीतको भिडियोमा कुमार नगरकोटीको शब्द तथा अभिनय, हरि लम्सालको संगीत र सुगम पोख्रेलको स्वर रहेको छ | बुक-हिलको ब्यानरमा निर्माण भएको म्युजिक भिडियोमा नितिन चन्दको छायांकन र सम्पादन तथा भूपेन्द्र खड्काको निर्देशन छ |