
‘भाइरस आतङ्क’ सँगै ‘बीपी-भूपि’
मञ्जुश्री साहित्यिक समाजको छैटौं वार्षिकोत्सवका उपलक्ष्यमा शुक्रबार नागार्जुन नगरपालिका रानीवनमा कवि प्रल्हाद पोख्रेललाई बीपी–भूपि स्मृति मञ्जुश्री साहित्यिक पुरस्कार–२०७७ प्रदान गरियो ।
नेपाली आख्यान साहित्यका शिखर व्यक्तित्व बीपी कोइराला तथा कविताका शिखर व्यक्तित्व भूपि शेरचनको स्मृतिमा स्थापित उक्त पुरस्कार पहिलो पटक प्रदान गरिएको हो । पुरस्कारमा नगद रु १५ हजार १ सय १५, कदर–पत्र तथा उपहार प्रदान गरिएको छ ।
यसैगरी साहित्यकारद्वय प्रभा भट्टराई तथा गोविन्द घिमिरे ‘वेदमणि’लाई विशेष सम्मान गरियो । सोही अवसरमा सो संस्थाका सचिव टेकबहादुर लौडारीद्धारा लिखित कविता सङ्ग्रह ‘भाइरस आतङ्क’ विमोचन गरियो ।
संस्थाका अध्यक्ष डा.बमबहादुर थापा जितालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि बौद्ध साहित्यका ज्ञाता केदार शाक्य, बीपी–भूपि पुरस्कारका संस्थापक श्रीरामसिंह बस्नेत साथै पुरस्कृत तथा सम्मानित साहित्यकारहरु लगायतले मञ्जुश्री संस्थाको साहित्यिक योगदानबारे चर्चा गरे ।
त्यस अवसरमा ३० जना कविहरुले आफ्ना रचना प्रस्तुत गरेका थिए ।