अलविदा ! सरोदवादक मोहनसुन्दर, जो रातको ११ बजेपछि मात्र अभ्यास गर्थे

काठमाडौं, २४ फागुन । बरिष्ठ सरोदवादक मोहनसुन्दर श्रेष्ठको ८० वर्षको उमेरमा सोमबार साँझ ६:४० बजे राजधानीस्थित ग्रिनसिटी हस्पिटलमा निधन भएको छ ।

काठमाडौंको किलागलमा जन्मिएका श्रेष्ठले आफ्नो जीवनको झन्डै पाँच दशक समय सरोदवादनमा बिताए । दुवै आँखा गुमाएका उनले नेपालको सरोदवादनको क्षेत्रमा ठूलो योगदान पु-याएका छन् । सुरुमा स्वरमा तालिम लिएका श्रेष्ठले पछि संगीतमा रहेको आफ्नो रुचिलाई अगाडि बढाउन गुरु नारायणप्रसाद श्रेष्ठसँग सरोद सिके । संगीत सिक्दा सँधै शान्त वातावरण मनपराउने कारणले उनी रातको ११ बजेपछि मात्र सरोदको अभ्यास गर्ने गर्थे । तर, आफ्नो अभ्यासले गर्दा छिमेकीलाई वाधा नपुगोस् भनेर उनी कोठाका झ्याल र ढोकाहरू सबै लगाउँथे ।

सन् १९७० देखि सांगितीक यात्रा सुरु गरेका श्रेष्ठले सन् तत्कालिन राज दरवारमा पनि संगीतकर्मीको रूपमा काम गरेर सन् २००७ मा अवकाश लिए । उनले रेडियो नेपाल र राष्ट्रिय नाचघरमा पनि काम गरे । गोरखा दक्षिण बाहु, त्रिशक्ति पट्टलगायतका पुरस्कारले उनी पुरस्कृत भइसकेका छन् । विगत केही वर्ष यता होटेल अन्नपूर्णमा प्रस्तुति दिँदै आएका श्रेष्ठले किरातेश्वर मन्दिर, राम मन्दिर, यल माया केन्द्र आदिमा पनि आफ्नो सरोद बादन प्रस्तुत गरिसकेका छन् ।

आफ्ना गुरुको संगीतप्रतिको लगाव र लगनशीलताले आफूलाई पनि हौशला दिने गरेको नेपालकी पहिलो महिला सरोदवादक रुपा न्यौपानेले बताइन् । यो उमेरसम्म आइपुग्दा पनि सकेसम्म हरेक सांगितीक प्रस्तुति आफै गर्ने र स्वास्थ्यका कारणले नसकेका ठाउँमा आफूहरूलाई पठाएर भए पनि कामप्रतिको आफ्नो जिम्मेवारी पुरा गर्ने सरोदबादक न्यौपानेले बताइन् ।

स्वर्गिय श्रेष्ठका एक छोरा र दुई छोरी छन् ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button