राष्ट्र एकीकरणका प्रथम सेनापति बस्न्यातको सम्झना

राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको नेतृत्वमा प्रारम्भ भएको एकीकरण अभियानका प्रथम सेनापति बडावीर शिवरामसिंह बस्न्यातको २७५ औं पुण्य तिथि हिजो जौहरसिंह पौवामा एक कार्यक्रम आयोजना गरी मनाइयो ।

श्रीपाली बस्न्यात समाज नेपालद्धारा आयोजित सो कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष पूर्व राजदूत डा.निरञ्जनमानसिंह बस्न्यात, कृषिविज्ञ भोलामानसिंह, नेपाली सेनाका पूर्व सहायक रथि शेखरसिंह बस्न्यातलगायतका वक्ताहरुव्दारा शिवरामसिंह, उनकी धर्मपत्नी वीराङ्गना शुरप्रभा, नाती जौहरसिंह आदिको योगदान तथा जौहरसिंह पौवाको ऐतिहासिक महत्वमाथि प्रकाश पारियो ।

एकीकरणको क्रममा वि.सं.१८०३ फागुन ५ गते राति शिवरामसिंहले भक्तपुरसँगको युद्धमा वीरगति प्राप्त गरेका थिए । उनलाई तत्कालीन युद्धनियम उल्लंघन गर्दै राति पछाडिबाट प्रहार गरी कपटपूर्वक मारिएको थियो । उनले त्यसअघि नुवाकोट विजयमा निर्णायक भूमिका खेलेको इतिहासमा उल्लेख छ ।

एकीकरणकै क्रममा हालको स्याङ्जामा पर्ने सतहुँमा सैनिक विद्रोहमा मारिएका काजी केहरसिंहका छोरा जौहरसिंहले आफ्ना बाजे शिवरामसिंहले वीरगति प्राप्त गरेको पुण्यभूमिमा तत्कालीन राजा रणबहादुर शाहसँग लिखित अनुमति लिई पौवा बनाए । साथै उनले त्यसैभेगमा गुठीजग्गाको व्यवस्था गरी त्यसको आयबाट हरेक जनैपूर्णिमाका दिन सर्वसाधारणलाई निःशुल्क भोजन गराउने चलन चलाए । वि.सं. २०१४ सम्म यो चलन कायमै रहेकोमा पछि पौवा पुरानो भई क्षतिग्रस्त भएकोले सो चलन पनि बन्द भएको स्थानीयहरु अझै सम्झन्छन् । सो ऐतिहासिक पौवाको भौतिक स्वरुप अहिले नभए पनि त्यसकै नामबाट यो ठाउँ अद्यापि चिनिदै आएको छ ।

हाल शंखरापुर नगरपालिकाअन्तर्गत पर्ने उक्त ऐतिहासिक स्थलमा प्रथम सेनापति शिवरामसिंहको प्रतिमा सहित उद्यान बनाउने सन्दर्भमा श्रीपाली बस्न्यात समाज नेपालले नगरपालिकासँग समन्वय गरिरहेको बताइएको छ ।

ऐतिहासिक महत्वको हुनुका साथै विगतमा नेपाल–तिब्बत व्यापारिक मार्गको रुपमा रहेको, हाल नेपाली सेनाले अघि सारेको एकीकरण पदमार्गमा पनि पर्ने, मेलम्ची जान पनि यो बाटो प्रयोग हुने, अग्र्यानिक खेती, चिया खेती, अत्याधुनिक बृद्धाश्रम, वनभोज स्थल, हिमाली श्रृंखलाको दृश्यावलोकन आदि कारणले जौहरसिंह पौवा क्षेत्रको भविष्य उज्ज्वल रहेको देखिन्छ ।

यहाँ रहेको पर्ती जग्गामा नेपालका विभिन्न नेताहरुको सालिक राख्ने योजना बनिरहेको पनि बुझिएको छ । यद्यपि राजनीतिका साथसाथै इतिहासको पनि सम्मान हुने गरी प्रथम सेनापति शिवरामसिंहको स्मारक बनाउन र ऐतिहासिक जौहरसिंह पौवाको पुनर्निर्माण गर्न अति जरुरी छ । यसका लागि शँखरापुर नगरपालिका, बाग्मती प्रदेश सरकार र पर्यटन तथा सँस्कृति मन्त्रालयले सक्रिय पहल गर्नुपर्ने स्थानीयहरुको धारणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button